वैदेशिक रोजगार विभागको सर्भर सँधै डाउन

वैदेशिक रोजगार विभागको सर्भर सँधै डाउन
सुन्नुहोस्

वैदेशिक रोजगार विभागमा सँधै हुने गरेको सर्भर डाउनका कारण सेवाग्राही सास्ती खेप्न बाध्य छन् । नयाँ श्रम स्वीकृति र नवीकरणका लागि विभाग पुग्ने गरेका सयौं युवा ‘प्राविधिक समस्या’ का कारण अप्ठेरोमा परेका हुन् । विदेश जाने तयारीमा रहेका उनीहरु अन्तिम क्षणमा समेत लगातार विभाग धाउन बाध्य देखिन्छन् ।

सँधैको एउटै जवाफ सुनेपछि उनीहरु निराश हुँदै कोठा तथा होटलमा फर्कनु दैनिकी बनेको छ । झण्डै दुई दशकअघि जडान गरिएको सिस्टम अपडेट नगरिँदा हजारौं युवा समस्या परेका हुन् । एकातिर सेवाग्राहीको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ भने अर्कोतिर सिस्टम आफैँमा ‘डेड’ भएको बताइन्छ । 

‘१७ वर्ष अगाडिको सिस्टम सञ्चालनमा छ । विभागमा रहेका सर्भरहरु त्यतिबेला वार्षिक दुईदेखि तीन लाख सेवाग्राहीलाई लक्षित गरेर जडान गरिएको थियो । तर, अहिले छदेखि सात लाख सेवाग्राहीलाई वार्षिक रुपमा सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ । यसकारण पनि सर्भरले लोड थेग्न नसकेको हो,’ विभागका एक जना प्राविधिक कर्मचारीले भने । 

हुनतः विभागले यस्तो समस्या झेलेको पहिलो पटक होइन । हरेक दिन विभाग परिसरमा सयौंको संख्यामा युवाहरु भौंतारिरहेको देखिन्छ । श्रम स्वीकृति बेलैमा प्राप्त नभएकाले कतिपयले हवाई टिकट खेर गएको बताइरहेका थिए । केही भने आजै राति उड्नुपर्ने भएकाले हतास देखिन्थे । 

यसअघि विभाग  र मन्त्रालयको पहलमा अल्पकालीन समाधानका लागि सूचना तथा सञ्चार प्रसारण मन्त्रालयअन्तर्गत मुद्रण विभागबाट जीआईडीसीसँग सहयोग लिएर काम चलाइएको थियो । तर, त्यसबाट पनि समस्या समाधान हुन सकेको छैन ।

सान स्टोरिज सर्भरको डिस्क लिएर समस्या समाधान गर्न खोजिए पनि विभाग हालसम्म सफल भएको देखिँदैन । विभागका महानिर्देशक मदन दाहालले भने, ‘समस्या समाधानका लागि हामीले पहलकदमी लिएका छौं । अब आज दिएको टोकनको काम भोलिसम्म भइसक्नुपर्ने बाध्यात्मक उपाय निकालेका छौं । यस अगाडि टोकन नै बढीभन्दा बढी दिएर समस्या थुप्रिएको अवस्था पनि थियो । तर, यसलाई अब हामी व्यवस्थित ढंगले समाधान गर्छौं ।’ 

सर्भर डाउनको समस्या समाधानका लागि ‘नियर लाइन डाटा सेन्टर’ कार्यालयको प्राङ्गणमै राख्नुपर्ने विज्ञहरु बताउँछन् । लोकल सर्भर एक्टिभेट गर्ने र सञ्चालनमा ल्याउने हालको निम्ति उत्तम उपाय भन्दै उनीहरुले सुझाएका छन् । सिंहदरबारभित्र रहेको जीआईडीसीजस्तै डाटा सेन्टर बनाएमा समस्या समाधानको अचुक उपाय निस्कने बताइन्छ । 

यता, श्रममन्त्री शरतसिंह भण्डारीले आजैदेखि सबै समस्या समाधान हुने दाबी गर्नुभएको छ । ‘१७ वर्ष अगाडिको सिस्टमलाई अपडेट गर्ने उपायमा हामी लागेका छौं । त्यसको निम्ति वैदेशिक रोजगार बोर्डको सचिवालय कोषबाट १० करोड रुपैयाँ छुट्याएका छौं । यसको निम्ति टेण्डरको चरणमा हामी प्रवेश गर्दैछौं । अरु के–के उपाय हुन सक्छ त्यतातिर हामी केन्द्रित भएका छौं । दुई–तीन महिनाभित्र काम सम्पन्न भएपछि स्वतः नयाँ प्रविधिमा हामी प्रवेश गर्छौं ।’

कतिपयले विभाग वरपरका सटर भाडामा लिएर वैदेशिक रोजगारमा जाने युवाहरुको सहजकर्ताको रुपमा बिचौलियाहरुले मिलाएको सेटिङका कारण पनि सर्भरमा समस्या आएको हुनसक्ने आशंका गर्नेहरु समेत छन् । विभागका कर्मचारीसँग सेटिङ्ग मिलाउने, धेरै टोकन दिने र सर्भर डाउन गराउने मिलेमतोको आशंकालाई पनि बेग्लै कोणबाट विश्लेषण गर्नुपर्ने बताइन्छ ।

टिप्पणीहरू