जस्तै जोखिमले पनि नभत्केको प्रेमिल जिन्दगी

जस्तै जोखिमले पनि नभत्केको प्रेमिल जिन्दगी

लुसी पेग मर्सरको जन्म वासिंगटनको धनी परिवारमा भयो । २६औं राष्ट्रपति थियोडोर रुजबेल्टका एकजना सैन्य अधिकृत क्यारोल र मिन्ह लेघकी पुत्री उनको बाल्यकाल विलासीपूर्ण रह्यो । शिक्षा पनि महँगो स्कूलबाट लिइन् । सन् १८९३ मा एकाएक अमेरिकी अर्थतन्त्र उथलपुथल भयो र यसको असर क्यारोललाई पनि पर्ने नै भयो । उनले मानसिक सन्तुलन गुमाए । पति÷पत्नीबीच कलह शुरु भयो र छुट्टिए । मिन्ह २ छोरी लुसी र भोइलेटालाई च्यापेर माइत गइन् । कलेज जीवन सक्नासाथ लुसीले लुगा पसलमा काम थालिन् ।

सन् १९१४ मा अन्ना इलेनोरले लुसीलाई सामाजिक सहायिका बनाइन् । इलेनोर पेशाले प्राध्यापक थिइन् अनि फ्रान्कलिन डेलानो रुजबेल्टकी पत्नी । ४ छोरा र एउटी छोरीकी आमा । लगातार ४ पटक राष्ट्रपति बन्न सफल रुजबेल्ट त्यतिबेला जलसेना हेर्ने उपमन्त्री थिए । उनले सन् १९०५ मा नाताले बहिनी पर्ने इलेनोरसित प्रेम विवाह गरेका हुन् । मन्त्री बनेपछि उनको परिवार वासिंगटन स¥यो । यसबीच सन् १९१६ मा इलेनोरले पाँचौँ सन्तान जन्माइन् । पछिल्लो प्रसवपछि इलेनोरले आइन्दा लोग्नेको बिछ्यौनामा सुत्न नजाने र ब्रह्मचर्य पालना गर्ने अठोट गरिन् । यो कुरा रुजबेल्टलाई पनि सुनाइन् । पत्नीको एकतर्फी निर्णय सुनेर रुजबेल्ट अचम्ममा परे । उनी भावुक र रोमान्टिक व्यक्ति थिए, महिलासित टाढिएर बस्नै नसक्ने स्वभावका । यो कुरो इलेनोर पनि जान्दथिन् । तैपनि, लोग्नेलाई हैरान पार्ने नियतसहित यो कुरो गरिन् । उता, रुजबेल्टले पत्नीबिना कुण्ठाको जीवन बिताउनुभन्दा अरु महिलाको नजिक जाने सोचे । एकपटक इलेनोरसित सम्बन्धविच्छेद नै गर्ने कि भन्ने पनि लाग्यो । तर, बदनामी कमाइने र राजनीतिक भविष्य चौपट हुने डरले त्यसो गरेनन् । अर्को कारण थियो, स्वयं इलेनोर । उनी ईष्र्यालु महिला थिइन्, उनले पहिल्यै सुनाइसकेकी थिइन् कि ‘मलाई छाड्ने कुरो कहिल्यै नसोच्नू, यदि त्यसो ग¥यो भने तिम्रो जीवन बर्बाद गरिदिन्छु ।’

लगत्तै रुजबेल्ट मन्त्रालय सम्हाल्नमा व्यस्त हुन पुगे । इलेनोर पनि छोराछोरी सम्हाल्ने, पढाउन कलेज जानेलगायत सामाजिक कार्यमा व्यस्त हुन थालिन् । यही बोझ कम गर्न उनले लुसीलाई सहायिका बनाएकी थिइन् । त्यसबापत लुसीले पारिश्रमिक पाउँथिन् । लुसीको अब अधिकांश समय रुजबेल्टकै घरमा बित्न थाल्यो । सधैँ महिलाको सामीप्य खोज्ने रुजबेल्ट बिस्तारै लुसीसित घुलमिल हुन र बेलाबखत जिस्किन थाले । उनीहरूको बीचमा ९ वर्षको अन्तर थियो । शुरुमा मित्र मात्र थिए, यसबीच जर्मनीसित लडिरहेको फ्रान्सिसी सेनाको अवलोकन गर्न सन् १९१८ मा रुजबेल्ट पेरिस पुगे । त्यहाँ १० साता बसे र निमोनिया लागेर फर्के । बिरामी रुजबेल्ट पलङमा पल्टिरहेका थिए, इलेनोरले औषधि खोज्न लोग्नेको ब्याग खोलिन् । भित्र मखमलको रिबनले बाँधेको एउटा पोको देखिन् । त्यो लुसीद्वारा लिखित प्रेमपत्रको पुलिन्दा थियो । इलेनोरले ती पत्रमार्फत लोग्ने र लुसीबीच गाढा प्रेम सम्बन्ध कायम भइसकेको थाहा पाइन् । एकदिन रुजबेल्टलाई अब लुसीको आवश्यकता नभएको र उनलाई बिदा दिन लागेको सुनाइन् । रुजबेल्टले पत्नीको निर्णयमा आपत्ति जनाए र भने, ‘ठीक छ, तिमीलाई जे उचित लाग्छ गर ।’

इलेनोरले लगत्तै लुसीलाई हटाइन् । तर, रुजबेल्टले एकछिन पनि बिलम्ब नगरी आफ्नो कार्यालयतर्फ निजी सचिवमा नियुक्त गरिदिए । लोग्नेको उक्त कार्यबाट इलेनोर क्षुब्ध बनिन् । उनले लोग्नेले त्यसो गर्लान् भनेर सोचेकी पनि थिइनन् । कठिन समयमा पत्नीको स्नेह पाउनबाट वञ्चित रुजबेल्टको निम्ति अग्ली, रुपसी, मायालु स्वभावकी लुसी अमृत सावित भइन् । दुबै अब निर्धक्कसाथ प्रेमको पोखरीमा डुबुल्की मार्न थाले । इलेनोर लुसीलाई लोग्नेको नजिक हुने मौका आफैँले दिएकोमा धिक्कार्न थालिन् । यो कुरोलाई लिएर लोग्नेसित झगडासमेत गर्न पुगिन् र सम्बन्धविच्छेद गर्ने धम्की दिइन् । रुजबेल्ट पनि इलेनोरसितको सम्बन्ध टुटाउन तयार भए तर उनका सल्लाहकारले त्यसो गर्दा राजनीतिक प्रगतिमा ‘ब्रेक’ लाग्न सक्ने सल्लाह दिए । अर्कोतर्फ उनकी आमाले पनि त्यसो गरेमा सम्पत्तिबाट बेदखल गरिदिने चेतावनी दिइन् ।

लुसी विस्तारै रुजबेल्टको जीवनसाथीजस्तै बन्न पुगिन् । यस्तैमा रुजबेल्टलाई जलसैनिक अभ्यासको निरीक्षण गर्न लामो सामुद्रिक सफरमा जानुपर्ने भयो । सचिवको नाताले लुसी पनि साथमा गइन् । दुबै प्रेमी÷प्रेमिकालाई अझ नजिक ल्याउन यो यात्राले अहं भूमिका खेल्यो । सफरकै दौरान लुसीले बिनाशर्त रुजबेल्टसमक्ष आत्मसमर्पण गरिन् । लुसीको प्रेम निश्चल थियो । उनी मात्र रुजबेल्टले राजनीतिमा दिन दुगुणा, रात चौगुणा प्रगति गर्दै जाउन् भन्ने मात्र चाहन्थिन् । सफरकै दौरान रुजबेल्टले आफ्ना मित्र निगेल लालाई लुसी आफ्नो राजनीतिक र निजी जीवनलाई शीतल पार्न आएको सुनाए साथै इलेनोरले पाइलापाइलामा आफूलाई असहयोग र आघात पु¥याउने गरेको भनी दुखेसो पनि पोखे । केही समयपछि रुजबेल्ट पत्नी र छोराछोरीलाई लिएर बिदा मनाउन कैम्पबैलो गए । लुसीलाई लगेनन् । घरमै बसेर रुजबेल्टका एकएक पत्रको जवाफ दिइरहिन् । पत्र लेखिसकेपछि त्यसमा मगमग बासना आउने अत्तर छर्थिन् अनि मात्र खामभित्र राख्थिन् । उता, रुजबेल्ट पनि लुसीको पत्र पढेर रोमाञ्चित अनुभव गर्थे अनि पढिसकेपछि सुरक्षित बक्सामा राख्थे । बिदा सकाएर घर फर्केपछि लुगाफाटा मिलाउने क्रममा रुजबेल्टको बक्सा फेरि इलेनोरले नै खोलिन् । भित्र सुगन्धित पत्र फेला पारिन् । हरेक पत्रमा लुसीले रुजबेल्टप्रति गहिरो प्रेम दर्शाएकी थिइन् । पत्र पढिसकेपछि इलेनोर पहिलाजस्तै रिसाइन् र पत्र बोकेर लोग्नेको कोठाभित्र प्रवेश गरिन् । रिसले चुर हुँदै लुसीको पत्र लोग्नेको नाकैमा छुवाउने गरी हावामा हल्लाउँदै भनिन्, ‘वाह, कस्तो नशालु बासना आउने पत्र ! अब म एकछिन पनि तपाईंसँग बस्दिनँ, सम्बन्धविच्छेद गर्छु र तपाईंको इज्जत धुलोमा मिलाइदिन्छु ।’
लोग्ने÷स्वास्नीको विवाद बढ्दै गयो । दुबै रुजबेल्टकी आमा साराकोमा पुगे । साराले रुजबेल्टलाई झपारिन् र तुरन्त लुसीसित सम्बन्ध तोड्न भनिन् । रुजबेल्टलाई अरु कुरोमा कुनै मतलब थिएन तर आफ्नो राजनीतिक करियरतर्फ भने सजग थिए । उनी इलेनोरको धम्कीबाट डराए र लुसीलाई सचिवबाट हटाउने आश्वासन आमालाई दिए । भन्न त भने तर लुसीसितको सम्बन्ध अन्त्य गर्न निकै गाह्रो भयो । किनभने लुसी उनको जीवन जिउने सहारा बनिसकेकी थिइन् । लुसीले उनको अन्तर्मनमा गहिरो छाप पारिसकेका थिइन् । उनी के गर्ने, के नगर्ने सोच्न सकिरहेका थिएनन्, अन्त्यमा लुसीलाई नै सबै कुरो सुनाए र उनैसित सहयोग मागे । लुसी प्रेमीको आमा र पत्नीसितको सम्बन्ध बिग्रियोस् भन्ने चाहन्नथिन् । प्रेमीको राजनीतिक भविष्य बिगार्न पनि चाहन्नथिन् । उनलाई पनि के गरुँ के नगरुँ भयो । उनले बहिनीसित सल्लाह गरिन् । बहिनी भोइलेटाले रुजबेल्टको भविष्य नबिग्रियोस् भन्ने चाहन्छौ भने आफैँ पछि हट्नु भन्ने सल्लाह दिइन् । बहिनीको सल्लाह उचित लाग्यो र उनी रुजबेल्टको सचिव पदबाट राजीनामा दिएर नयाँ कामको खोजी गर्न थालिन् ।

उनलाई वासिङटनको बसाइ नै मन पर्न छाड्यो । न्युजर्सी गइन् र छिट्टै एउटा धनी परिवारको बच्चा हेर्ने काम पाइन् । बच्चाकी आमा गम्भीर बिरामी थिइन् । उनले काम गर्न थालेको केही समयपश्चात नै उनको निधन भयो । बच्चाका पिता विथ्रोप रुदरफोर्ड सुसंस्कृत, भलादमी, धनी, प्रतिष्ठित व्यक्ति थिए । एकदिन उनले संकोच मान्दै लुसीसमक्ष बिहेको प्रस्ताव राखे । लुसी अप्ठेरोमा परिन् । रुजबेल्टसितको सम्बन्धविच्छेदपछि उनले आफूलाई निकै एक्लोपन महसुस गर्न थालेकी थिइन् । यद्यपि, रुदरफोर्ड उनीभन्दा ३० वर्षले जेठो थिए तर उनको शालिन स्वभावबाट प्रभावित थिइन् । उनी आफ्नो एक्लोपनमा सहारा मिल्ने आशामा बिहे गर्न राजी भइन् तर स्पष्ट शब्दमा भनिन्, ‘म रुजबेल्टलाई प्रेम गर्थें, अझै पनि गर्छु, यस्तो स्थितिमा तपाईंमा पूर्णरूपमा समर्पित हुन मलाई गाहै्र हुन्छ होला ।’

रुदरफोर्ड अत्यन्त परिपक्व व्यक्ति थिए । उनलाई लुसीको इमान्दारीप्रति पूर्ण विश्वास थियो । उनलाई आफूलाई भन्दा पनि छोराछोरीप्रति प्रेम न्यौछावर गर्ने महिला साथीको आवश्यकता थियो । त्यसैले स्पष्ट शब्दमा भने, ‘म तिमी र तिम्रो रुजबेल्टको प्रेमको बीचमा आउँदिन । रुजबेल्ट मेरो पनि असल मित्र हुन् । तिमी जतिखेर चाहन्छौ उतिखेर ऊसित भेट्न सक्छौ । यो कुरोलाई लिएर हामीबीच कुनै द्वन्द्व हुने छैन । ढुक्क हुनु ।’

लुसीले २९ वर्षको उमेरमा ५९ वर्षीय रुदरफोर्डसित बिहे गरिन् । बिहेको निम्तो भने रुजबेल्टलाई नदिई इलेनोरलाई दिइन् । लुसीको निशाना ठीक ठाउँमा प¥यो । इलेनोरले निमन्त्रणा पत्र सबैलाई देखाएर शत्रुमार्गबाट आफँै हटेको प्रतिक्रिया दिँदै हिँडिन् । उता, लुसीले रुदरफोर्डबाट छोरीसरहको माया पाउँदै गइन् । रुदरफोर्डकै उक्साहटमा रुजबेल्टसितको सम्बन्ध पनि प्रगाढ बनाउँदै लगिन् । रुदरफोर्डको बंगला १५ हजार एकड जमिनमा फैलिएको थियो । ३५ वटा ठुल्ठूला कोठा थिए, पौडी पोखरी थियो । रुजबेल्टबिना रोकतोक पाहुना बनेर त्यहाँ जान थाले । उनी पुगेपछि रुदरफोर्ड रुजबेल्टसित क्षमा माग्दै बाहिर निस्कन्थे, ताकि रुजबेल्ट र लुसीको प्रेममा कुनै बाधा नहोस् ।

(बाँकी अर्को अंकमा)....
 

टिप्पणीहरू