‘पागल’हरुको क्रमशः जताततै पुनरागमन

‘पागल’हरुको क्रमशः जताततै पुनरागमन
सुन्नुहोस्

मणि थापा र जीवन शर्माको ‘फोकल्याण्डको टापुबाट’ भन्ने गीत सुनेसँगै अर्जेन्टिना भन्ने देशबारे केही उत्सुकता बढेको थियो । त्यसो त पहिला म्याराडोना र अहिले मेस्सीको कारण यो देशको नाम नसुन्ने संसारमा निकै कम मात्र हुनुपर्छ । बेलायत आइसकेपछि केही अर्जेण्टाइनीहरूसँग भेट भयो । आफूलाई नेपाली भनेर परिचय गराएपछि ए गुर्खाज भनेर अलि अनुहार बिगार्दा रहेछन् । उनीहरूलाई गोर्खालीको कारणले मात्र फोकल्याण्डमाथि पुनः आधिपत्य जनाउन नसकेको लाग्दोरहेछ ।

एक दिन मैले घर बहाल दिने भएपछि दुई दाजु–बहिनी सम्पर्कमा आए । पढे लेखेका र ज्ञानगुणका कुरा गर्ने अनि प्रायः जसो लाइब्रेरी जाने ती दुईलाई घर भाडामा दिइयो । शुरुमा त सबै ठीकै थियो तर बिस्तारै अलि असहजता हुन थाल्यो । दाजु काममा जाने दुःख गर्ने तर बहिनी सधैँ पढ्ने भनेर घर बस्ने । पछि त प्रायः जस्तो ठूलो स्वरमा बोल्ने, रुने, चिच्याउने पनि गर्न थाले । केही समयपछि अन्यत्र कोठा खोजेर गए । बिचित्रको यो सम्बन्ध सम्झेर अहिले पनि त्यति सहज छ जस्तोचाहिँ लाग्दैन । विश्व कप फुटबलको फाइनलमा गत वर्ष पेरिस पुगेका थियाैँ । फ्रान्स र अर्जेन्टिनाको खेल शुरु हुनुअगाडि नै लाखाँैको चहलपहल थियो त्यहाँ । नेपालका प्रायः सबै साथी मेस्सीका समर्थक देखिएकाले आइफिल टावरमा मैले पनि अर्जेन्टिनाको झण्डा हल्लाएर खिचेको फोटो पोस्ट गरेको थिएँ । 

अर्जेन्टिनाले उच्च मुद्रास्फीति दर, वित्तीय घाटा, र मुद्रा अवमूल्यनको चरम चुनौती सामना गरिरहेको छ । विश्व आर्थिक मन्दीको मारले यहाँको पनि रोजगारी दर र समग्र आर्थिक वृद्धिलाई असर पारेको छ । आन्तरिक तथा बाह्य ऋणको भार अत्यधिक बढेको छ । आफ्नो आर्थिक सुधारको लागि वित्तीय सहायता र समर्थन सुरक्षित गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ब्यापक आर्थिक ऋण सहयोग लिइएको छ । देशले स्थिर विनिमय दर कायम गर्न खोजेको तर राजनीतिक अस्थिरताको कारण सम्भव देखिन्न । भटमास, मकै र गाईको मासु निर्यातबाट बिग्रेको अर्थतन्त्रमा केही भरथेग त हुँदो हो तर अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको मूल्यमा गिरावट आउनाले त्यति भरपर्दो आम्दानी हुन सकेको छैन ।

सार्वजनिक अन्तर्वार्तामा प्रचारसमेत गर्न नमिल्ने शब्द पटक पटक प्रयोग गर्छन् । राष्ट्रपतिको पद बहाल गर्नुभन्दा अगाडि नै अमेरिका पुगेर उनले ट्रम्पको प्रशंसा गरेका छन्  ।

अर्जेन्टिना क्षेत्रफलको आधारमा विश्वको आठौं ठूलो देश हो । यहाँको जनसंख्या लगभग साढे चार करोड छ । ब्युनर्स आयर्स अर्जेन्टिनाको राजधानी र सबैभन्दा ठूलो शहर हो । अन्य प्रमुख शहरमा कर्डोबा, रोजारियो, मेन्डोजा र ला प्लाटा हुन् । यो राष्ट्रपति राज्य प्रमुख र सरकार प्रमुख दुवै रहने गणतान्त्रिक राज्य हो । आधिकारिक मुद्रा अर्जेन्टाइन पेसो र भाषा स्पेनिस हो । अर्जेन्टिना ट्यांगो संगीत र नृत्य, परम्परागत लोक संगीत, र साहित्यसहित यसको समृद्ध सांस्कृतिक सम्पदाका लागि विश्वभर परिचित छ । एन्डिज पर्वत, पाम्पास घाँसे मैदान र विस्तृत प्याटागोनियन क्षेत्रसहित विभिन्न परिदृश्यका लागि संसारबाट धेरै पर्यटक आउने यो देशमा इगुआजु राष्ट्रिय निकुञ्ज, लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, जेसुइट ब्लक र कोर्डोबाको एस्टान्सियालगायत धेरै युनेस्को विश्वसम्पदा क्षेत्र छन् । शिक्षा र स्वास्थ्य सेवामा व्यवस्थित र विकसित प्रणाली भएको यो देशका फुटबल खेलाडी विश्वव्यापी रूपमा प्रख्यात छन् । 

अर्जेन्टिनामा गत २२ अक्टोबरको दिन राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय कांग्रेसका सदस्य र अधिकांश प्रान्तका गभर्नर चयन गर्नको लागि आमचुनाव भयो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत हासिल नगरेको हुनाले १९ नोभेम्बरमा दोस्रो पटक मतदान भएको थियो । जसमा जेभियर माइलेले सर्जियो मासालाई हराए । वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेज र पूर्वराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरले भने भाग लिएनन् । सत्तारुढ युनियन फर होमल्याण्डका तर्फबाट उम्मेदवार बनेका हालका अर्थ मन्त्री मासा ३६ प्रतिशत मत प्राप्त गरेर अप्रत्यासित रूपमा पहिलो स्थानमा आए भने लिबर्टी एडभान्सका अर्थशास्त्री तथा विध्वत् माइलेले ३० प्रतिशत प्राप्त गरेका थिए । तेस्रो भएकी पूर्वसुरक्षामन्त्री प्याट्रिसिया बुलरिचको सहयोगमा माइलेले दोस्रो चरणमा ५५.७ प्रतिशत मत हासिल गरे । यो अर्जेन्टिनाको लोकतन्त्रमा संक्रमण आएपछिको निर्वाचनमा अहिलेसम्म प्राप्त अधिक मत हो । नवनिर्वाचित राष्ट्रपतिले डिसेम्बर १० देखि कार्यभार सम्हाल्नेछन् । माइलेको राजनीतिमा प्रवेश, निर्वाचनका नारा तथा प्रचार शैली र विजय भइसकेपछिका भाषणले विश्वमै एक प्रकारको सनसनी फैलिएको छ ।

आफ्नो उपनाम ‘आलोको’ अर्थात् पागल मान्छे राखेका माइलेले अहिलेसम्मको सम्पूर्ण राजनीतिक व्यवस्थापन गलत र नेताहरू असफल भन्ने गरेका छन् । व्यवसायको हिसाबले अर्थशास्त्री र केवल ५३ वर्षका राष्ट्रपति निर्वाचित जाभियरले दुई वर्षअगाडि मात्र आफ्नो छुट्टै पार्टी खोलेर राजनीतिमा लागेका हुन् । निर्वाचन अभियानमा उनले ठूलो ह्याक्सो (करौंती) बोकेर सरकारका अनावश्यक अफिस, मन्त्रालय, सामाजिक सहयोगलगायत अन्य खर्च कटौती गर्ने भन्दै प्रतिकात्मक अभिव्यक्ति दिएका थिए । मानिसले आफ्ना अंगसमेत बेच्न पाउनुपर्ने, अप्राकृतिक यौन सम्बन्ध वा लिंग परिवर्तन गर्न नपाइने उनको धारणा छ ।

देशको मुद्रा पेसोलाई पूर्ण बन्देज गरेर सबैतिर डलर प्रयोग गर्नुपर्ने तथा बेकामको केन्द्रीय बैंक बन्द गरिनुपर्ने उनको मुख्य नारा रहेको छ । उपदान वा पेन्सन दिएर काम गर्न सक्ने जनशक्तिलाई अल्छी बनाउन नहुने तथा अन्य सामाजिक सुविधा कटौती गरेर बढीभन्दा बढी नागरिकलाई उत्पादनमूलक काममा अन्तिम समयसम्म व्यस्त राख्नुपर्ने उनको धारणा छ । जहाँ पनि अति आक्रामक ढंगले प्रस्तुत हुने माइले सार्वजनिक अन्तर्वार्तामा प्रचारसमेत गर्न नमिल्ने शब्द पटक पटक प्रयोग गर्छन् । राष्ट्रपतिको पद बहाल गर्नुभन्दा अगाडि नै अमेरिका पुगेर उनले ट्रम्पको प्रशंसा गरेका छन् भने कपालको स्टाइल हेर्दा बोरिस जोहन्सनजस्ता देखिने माइले मार्गेरेट थ्याचर आफूलाई मन पर्ने नेता भन्छन् । आशा तथा विश्वास गराैँ फोकल्याण्ड टापुमा आफ्नो अधिपत्य जमाउने विषयमा मात्र केन्द्रित रही उनको देश र विश्वले झन् ठूलो विनाशको सामना गर्न पर्ने छैन । 

अमेरिकामा ओबामाको जितपछि एक खाले परिवर्तनको संकेत देखा परे पनि अमेरिकाभित्र मात्र नभई विश्वभरि नै अलि फरक ढंगको राजनीतिक परिवर्तन आएका छन् । फलस्वरूप अमेरिकाले ट्रम्पजस्तो व्यक्तिलाई राष्ट्रपति बनायो भने उनी अझ पनि सत्तामा फर्कने सपना देखिरहेका छन् । यसबीच बेलायतले ब्रेक्जिटमा कल्पना नगरेको परिणाम स्वीकार गर्नुपरेको छ । युक्रेनमा हास्यकलाकारको उग्र राष्ट्रवादी सोचलाई जनताले साथ दिँदाको फल संसारले नै खेपिरहनुपरेको छ । संसारकै अति प्रजातान्त्रिक र वैयक्तिक स्वतन्त्रता भएको देश हल्याण्डमा समेत अति दक्षिणपन्थी पार्टीले विजय हासिल गरेको छ । त्यहाँ पनि नेक्जिटको आवश्यकता छ भन्न थालिएको छ । अहिलेको विश्व राजनीतिक ट्रेन्ड सही वा गलत भन्ने प्रमाणित हुन कम्तीमा पनि एक दशक प्रतीक्षा गर्नुपर्ने देखिन्छ । यथास्थितिबाट नैराश्य भएर परिवर्तनको नाममा दक्षिणपन्थी सोच भएका व्यक्ति विश्वका प्रजातान्त्रिक भनिने देशमा समेत निर्वाचित हुने क्रम देखिँदै जानुले भविष्यमा राजनीतिक शास्त्रको सिद्धान्त पनि नयाँ ढंगले परिभाषित हुने आधार तयार भएका छन् । 
 

टिप्पणीहरू