भूकम्प प्रभावित सात जिल्लामा खोप अभियान सञ्चालन गरिदैं

भूकम्प प्रभावित सात जिल्लामा खोप अभियान सञ्चालन गरिदैं
सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका सात जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । 

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार भोलिदेखि पुस १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ । 

६ महिनादेखि १५ मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप तथा १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टिसिभी खोप दिइने बताइएको छ । जाजरकोट र रुकुम पश्चिममा दुवै खोप दिइनेछ । सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा भने टिसिभी खोप मात्र दिइने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई खोप छुट दिने पनि बताएको छ । त्यसका लागि आफूसँग भएको नियमित खोप कार्ड लिएर आउनुपर्ने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

टिप्पणीहरू