भरतपुर अस्पतालले तीन महिनाको औषधी एकैपटक दिने

भरतपुर अस्पतालले तीन महिनाको औषधी एकैपटक दिने

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीलाई एकैपटक तीन महिनाको औषधी उपलब्ध गराउने भएको छ । 

यसअघि एक महिनाको औषधी दिने गरिएकोमा आजदेखि तीन महिनासम्मको औषधी दिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । आज सूचना जारी गर्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमका सेवाग्राहीले आवश्यकताअनुसार तीन महिनासम्मको औषधी लिन सक्ने जानकारी गराएको छ । 

‘स्वास्थ्य बीमा कार्यक्रममार्फत यस अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुलाई हाल एक महिनाको औषधी दिने गरिएकोमा मिति २०८०–०९–०४ गतेदेखि आवश्यकताअनुसार तीन महिनासम्मको औषधी दिने व्यवस्था मिलाइएको छ’, सूचनामा उल्लेख छ । 

त्यस्तै, एकपटक रेफर भई आएका सेवाग्राहीलाई सोही रोगको ‘फलोअप’ गर्दा पुनः रेफर नचाहिने अस्पतालको भनाई छ । स्वास्थ्य बीमा बोर्डको केही दिनअघि बसेको बैठकले दीर्घरोगी बिरामीलाई तीन महिनाको औषधी एकैचोटि दिने निर्णय गरेको थियो । 

स्वास्थ्य बीमाबाट औषधी लिइरहेका दुर्गम जिल्लाका बिरामीको समस्यालाई मध्यनजर गरेर बोर्डले यो निर्णय गरेको हो ।

टिप्पणीहरू