मानिस नजिक पुग्दा जुन चरो बेस्कन सन्किन्छ

मानिस नजिक पुग्दा जुन चरो बेस्कन सन्किन्छ

अफ्रिकाको पूर्वीक्षेत्रमा अवस्थित लगभग ३ हजार वर्ष पुरानो इतिहास बोकेको इथियोपिया नेपालजस्तै भूपरिवेष्टित छ । यहाँ करिब ६० जनजाति रहेमध्ये ओरोमो ३५ र अम्हारा २७ प्रतिशत छन् । यतिखेर त्यहाँ प्रोस्पेरिटी पार्टीको सरकार छ । उक्त पार्टी नयाँ हो, जुन पहिला जनक्रान्तिकारी प्रजातान्त्रिक पार्टीको नाउँले लामो समय सत्तामा सहभागी बन्यो, सन् १९९१ सम्म यसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र होक्सा विचारधारा (अल्बानियाका कम्युनिष्ट नेता अनवर होक्साको विचार) रह्यो ।

यहाँका जनजातिमा हमार पनि एउटा हो, जो दक्षिणी भेगमा बस्छ । कृषि र पशुपालन यिनीहरूको मुख्य पेशा हो । जनसंख्या ५० हजार हाराहारीमा छ, यो भनेको कूल जनसंख्याको शून्य दशमलव एक प्रतिशत मात्र हुन आउँछ । यिनीहरुमा एउटा अनौठो प्रथा छ । ‘गोरु नघाई’को नाउँले विख्यात यो चलन विशेषतः किशोर केटाहरू वयस्क उमेरमा प्रवेश गरेको सूचक हो, अर्थात् यो समारोहमा सरिक हुने केटा विवाह गर्न र सन्तान जन्माउन योग्य भएको देखाउन गरिने प्रथा हो । यो पर्वमा महिलाहरू परम्परागत पहिरनमा नाच्छन्– खुट्टामा घण्टी बाँधेर जनावरको सिङ बजाउँछन् – घरैमा बनाएको जाँड पिउँछन् । भर्खर किशोरावस्था पार गर्न गइरहेका केटाहरूले नातेदारलाई आफूलाई कोर्रा हान्न लगाउँछन् । यसो गर्नुको मतलब उनीहरूले नातेदारप्रति बफादार र समर्पित छु भनेर देखाउनु र भविष्यमा बन्ने पत्नीलाई बहादुर छु भनेर प्रमाणित गर्नु पनि हो । समारोहमा केटाबीच एकप्रकारले कसले धेरै पीडा सहन सक्छ भन्ने होडबाजी नै चल्छ । हुनेवाला पत्नीलाई आफू धेरैभन्दा धेरै पीडा सहन सक्षम छु, बहादुर छु भनेर देखाइन्छ । उक्त प्रथा अनौठो यो कारणले पनि भनिन्छ कि समारोहमा सरिक हुने केटाहरू सबका सामु प्रायः नांगै हुन्छन् ।

समारोह शुरु हुनुअघि, शुद्धीकरण अनुष्ठानको रूपमा जवान केटाहरूलाई आ–आफ्नो शरीर बालुवाले रगड्न लगाइन्छ र गोबरले धुन लगाइन्छ, टाउको आंशिक रूपमा खौरिएर अनुहार रंगाइन्छ । धार्मिक मन्त्र जपेर शरीर वरिपरि रूखको बोक्रा टाँसिन्छ । त्यसपछि ७ देखि १० वटा गोरु ल्याइन्छ र गोबरले गोरुको शरीर दलिन्छ । अनि बल्ल मुख्य समारोह शुरु हुन्छ । चारैतिर घण्टी र बाजा बज्न थाल्छ । अनि केटाहरू अलि परबाट दगुर्छन्, लाइन लगाइएका गोरुमाथि उफ्रन्छन् र नखस्ने गरी तिनको माथि–माथिबाट कुद्छन् । यसरी यो परीक्षा ४ पटक पार गर्नुपर्छ । गोरुको शरीरमाथिबाट कुद्दा खस्ने केटा परीक्षामा असफल भएको ठहरिन्छ र फेरि अर्को साल यो परीक्षा दिनुपर्ने हुन्छ । यदि केटो अन्धो छ, अपांग छ भने यो परीक्षा दिन नातेदारहरूले सघाउँछन् । केटाहरू परीक्षामा सफल हुनेबित्तिकै ठुल्ठूलो स्वरमा बाजा बज्न थाल्छ, चारैतिर समारोह हेर्न बसेका स्थानीयले विजयोत्सव मनाउँदै हल्ला गर्छन् । गाउँका मुखिया र ज्येष्ठ नागरिकले आशीर्वाद दिन्छन् अनि जनावरको छालाले जिउ ढाकिदिन्छन् ।

अनि उनलाई विशेष कार्यक्रम ‘माजा’मा सरिक हुन लगाइन्छ । त्यसपछि उक्त कार्यक्रमकै बीच शीर पूरा खौरिइन्छ । त्यहाँ नृत्यको ठूलो कार्यक्रम हुन्छ जुन घण्टौँसम्म चल्छ । नाचगान र भोजभतेर त कैयौँँ दिनसम्म जारी रहन्छ । समारोहमा गाउँका विवाहित र अविवाहित महिलालाई पनि सम्मिलित गराइन्छ । अविवाहित युवतीहरू शृंगारपटार गरेर आउँछन् । नृत्यकै दौरान भर्खर वयस्क प्रमाणित भएका ‘पुरुषहरू’ले आफ्ना लागि सम्भावित पत्नी खोज्ने काम गर्छन् । यद्यपि, पहिलो विवाह आमाबाबुद्वारा तय गरिएकी युवतीसित नै हुन्छ । इसाई धर्मावलम्बी भए पनि जातीय परम्पराअनुसार एउटा हमार पुरुषले चार वटी पत्नी राख्न पाउँछन् । विवाहमा दाइजो केटी पक्षले होइन केटा पक्षले दिन्छ । बिहे सकेलगत्तै केटाको परिवारले केटीको परिवारलाई ३० वटा बाख्रा र २० वटा गाईवस्तु दिनुपर्छ । 

०००

अमेजन ब्राजिल, पेरु, कोलम्बियालगायत केही दक्षिण अमेरिकी मुलुक भएर बग्ने संसारकै सबैभन्दा ठूलो र दोस्रो लामो नदी हो । ६ हजार ८ सय किमी लामो यो नदीको मध्यभागको किनारामा ‘सतेरेमावे’ आदिवासीको बसोवास छ । यो बस्ती ब्राजिलमा पर्छ ।

यिनीहरूका पनि अनेकौं अनौठा प्रचलन छन् । तीमध्येको एउटा प्रथा बुलेट कमिलायुक्त पञ्जा लगाउने पनि हो । केटाहरू हुर्कंदै जब वयस्क उमेरमा पुग्छन् साँच्चै वयस्क बनिसकेका हुन् कि होइनन् भनेर जाँच्न यस्तो पञ्जा लगाउन दिइन्छ । अत्यन्त डरलाग्दो बुलेट कमिलालाई पञ्जामा १० मिनेटसम्म राखेर लगाउँदा कमिलाले नराम्रोसित टोक्छ तर दुखाइ सहन सकियो भने बल्ल ऊ वयस्क भइसकेको प्रमाणित हुन्छ । टोकाइ सहन नसकेर रुन थाल्यो भने ऊ वयस्क भइनसकेको ठानिन्छ । वयस्क प्रमाणित केटोले बल्ल शारीरिक सम्बन्ध बनाउन र बिहे गर्न पाउँछ । त्यो क्षेत्रमा पाइने यो कमिलाको टोकाइले हुने पीडा गोली लाग्दाको दुखाईभन्दा पनि चर्को मानिन्छ । यो कमिलाको टोकाइले कतिको त पछिसम्मै हातखुट्टा नै नचल्ने हुन्छ ।

०००

अस्ट्रिच संसारको सबैभन्दा ठूलो र भारी चरा हो । यसलाई सुतुरमुर्ग भनेर पनि चिनिन्छ । वयस्क अस्ट्रिच १५० किलोग्रामसम्मको र ३ मिटर अग्लो हुन्छ । यो घाँसे मैदान, झाडी र मरुभूमिमा बस्ने तर उड्न नसक्ने चराको प्रजाति हो । यसले आफ्नो पखेटालाई रक्षाका लागि प्रयोग गर्छ र उच्च गतिमा दौडन मद्दत लिन्छ । पोथी अस्ट्रिचले भालेले बनाएको गुँडमा २ देखि ११ वटा अण्डा दिन्छे जुन विश्वमा सबैभन्दा ठूलो मानिन्छ, जसको तौल १.५ किलोग्राम, आकार १५ सेमी लामो र १३ सेमी चौडाको हुन्छ । अस्ट्रिचलाई धेरै बुद्धिमानी जनावरको रुपमा लिइन्छ । अहिले त यसको पालनपोषण नेपालमा पनि गर्न थालिएको छ ।

हालै यो चराको बारेको एउटा नयाँ र रोचक तथ्य बाहिर आएको छ । यो भनेको मानिस र यस बीचको सम्बन्धलाई लिएर हो । वैज्ञानिकहरुले मानिस यी चराको नजिक पुग्दा यिनीहरूमा यौन चाहना बढ्ने गरेको बताउन थालेका छन् । सबैभन्दा पहिला अस्ट्रिच पालेका एक जना किसानले उक्त कुरा नोटिस गरेका थिए । मानिस समीप बसुञ्जेलसम्म पखेटा फड्फडाइरहने, उठ्ने बस्ने गरिरहने, गर्धन हल्लाइरहने र विशेषखाले नृत्य गरिरहने । यो कुरो वैज्ञानिकहरूसमक्ष पुग्दा उनीहरू छक्क परे । र, जरासम्म पुग्ने गरी अनुसन्धान थाले । आइएफएल साइन्सको रिपोर्टका अनुसार अनुसन्धानका लागि वैज्ञानिकहरूले सबैभन्दा पहिले इङ्ल्याण्डका दुईवटा फार्म छनोट गरे जहाँ सुतुरमुर्गको संख्या बढी थियो । पहिलो खेतलाई नजिकबाट अनुगमन गरिएको थियो भने दोस्रोलाई टाढाबाट । अनुसन्धान करिब दुई वर्षसम्म चल्यो । यसपछिको नतिजा साँच्चै अचम्मको थियो ।

त्यस्तै पहिला मानिस नजिक बसेर र अर्को पटक अलि टाढा बसेर अनुगमन गरियो । ब्रिटिश पोल्ट्री साइन्स जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनमा सुतुरमुर्ग मानिसको नजिक आएपछि उनीहरूको व्यवहारमा परिवर्तन आएको उल्लेख छ । मानिस वरपर पाएपछि पोथी सुतुरमुर्गहरूले यौनको लागि बढी प्रार्थना गरिरहेको देखियो । एकै समयमा, तिनीहरूले मानिसको अनुपस्थितिमा भने यो काम गरेनन् । अनुसन्धानको क्रममा पोथी सुतुरमुर्गको यस्तो व्यवहार दुई वर्षसम्म जारी रहेको पाइयो । यद्यपि, यस बीच, त्यहाँ केही सुतुरमुर्ग थिए जसमा कुनै महत्वपूर्ण परिवर्तन देखिएन । बेलायतमा ६८ प्रतिशत सुतुरमुर्गले मानिसलाई देख्नेबित्तिकै यौन सम्पर्कका लागि अनुरोध गर्न थालेको अध्ययनले देखायो । अनुसन्धानमा पछि दक्षिण अफ्रिकाको पशुपालनमा संलग्न किसान सचेत बन्न थाले । मानिसको उपस्थितिमा यौन चाहना बढ्ने कारण किसानले यसबाट लाभ लिए । किसान आफैँ नजिक बसेर भाले र पोथीको मिलाप गराउन थाले । अनुसन्धानले यो तथ्य पनि बाहिर ल्यायो कि मानिसको अगाडि बस्दाको समयमा भाले सुतुरमुर्गले यौन चाहना राख्दा पोथीले कमै मात्र इच्छा देखाएको तर पोथीले इच्छा देखाउँदा भने भालेले अस्वीकार नगर्ने गरेको देखायो ।
 

टिप्पणीहरू