सबै श्रेणीहरू

दुःखको कुरा, न्याय हराएको देशमा जन्म लिएछु !

(भुइँमान्छेको कुरा)

दुःखको कुरा, न्याय हराएको देशमा जन्म लिएछु !

-कवि अज्ञात

रामेछाप, दलितको मुख्य अर्थ हो दलन गरिएको÷हेपिएको÷चेपिएको वा समाज र राज्यबाट तिरस्कार गरिएको । अर्थात् ती समुदायका मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका छन् र जो आर्थिक रूपमा सामाजिक रुपमा, शिक्षाको दृष्टिकोणले, राजनीतिक र धार्मिक रूपले प्राचीनकालदेखि उच्च वर्गहरू (जनताति, बाहुन तथा छेत्री आदि हिन्दु जातिहरू मात्रै हैन) द्वारा शोषण र उत्पीडनको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो । र, आज पनि उत्तिकै छ ।

हुनत : नेपालमा भेदभाव अनि छुवाछुत गर्नेहरूलाई कडा कार्यबाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सीमित छ । कानुन बनाउने ठेकेदार र दलाल सरकारले कागजमा नै सीमित बनाएको छ । कानुन दह्रो थियो भने गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव कायम रहने थिएन । दलितले उपल्लोे जातिलाई प्रेम गर्न पाएनन् । यो पनि यौटा विभेद नै हो । क्षेत्रीले ब्राह्मणका सन्तानलाई÷दमाईका छोरा छोराछोरीले व्राह्मण समुदायका छोराछोरीलाई प्रेम गर्न र विवाह गर्न नपाइनु पनि ठूलै विभेद हो ।

यौटा पुरानो घर छ पुरानै बाटो छ पुरानै सम्बन्ध छ घरसँग । यात्रा उही पुरानै छ । जीवनशैली पनि उस्तै छ । आदर गर्ने शैली पनि पुरानै छ । ज्यादै हेपिएको यौटा बस्ती छ । म त्यहि बस्तीमा जन्मि हुर्केको । मैले पढेको त्यहि गाउँ हो जहाँ म अछुत भइरहेँ । मेरो यौटा पुरानो समाज छ । जहाँ धेरै सपनाहरूको फाँट छ । त्यही फाँटमा मुश्किलले रमाएको छु । घरभन्दा अलि पर मैले क, ख पढेको यौटा स्कुल छ । त्यहि स्कुलमा हुर्केका मेरा सपनाहरू जीवितै छन् । ती सपनाहरू फैलिएर पहाड बने तर ती पहाडहरूले सुस्केरा पाएनन् ।

घरभन्दा अलि तल खानीखोला छ । जुन खोलाबाट धेरै रहरहरू बगेका छन् । रहरहरू समुन्द्रमा गएर मिसिए तर आज ती रहरहरू कति छट्पटाइरहेका छन् । जब नदीका छालहरू देख्छु तब आँखाका परेलाहरूबाट तप्किरहन्छन् पीडाका फूलहरू । जब इतिहासका पानाहरू आँखै अगाडि पल्टन्छ तब समाजको ऐना बनेर टक्क अडिन्छ घडीका सानाठूला काँटाहरू ।

जबसम्म सरकारले कडा कानुन बनाउँदैन तबसम्म ब्युँझिरहने छन् चिहानबाट शासक । राजतन्त्र ढल्यो भनेर खुशी केका लागि हुनु र कसका लागि खुशी भैदिनु पर्र्याे ? गणतन्त्र आयो । जनताको सरकार बन्यो भनेर खुशी हुनु पनि बेकार छ । आजसम्म यो श्री ६ सरकारले केही गर्न सकेको छैन । सिंहदरबारको रुप फेरियो तर के गर्नु त्यो दलित बस्ती जसको आँखाले कहिल्यै समान रूपमा हेर्न चाहेन । सधैँ उही छुवाछुत । उही दमन । उही शोषण । उही अत्याचार सहँदा सहँदा ढुङ्गाको कापबाट उकुसमुकुस भएर म त्यहि बस्तीबाट बजारमा आएको यौटा कवि हुँ । र, असंख्य कविता हुँ ।

समाजले मलगायत मेरो समुदाय (दलितहरूको बस्ती) लाई मान्छेको व्यवहार गरेन र गर्नै सकेन र चाहेन पनि । मलाई यहि कुराले धेरै दुःखी बनाउँछ । त्यो समय (मैले बुझेपछि) बढो मुश्किल थियो । मान्छेको जात अनुसारको व्यवहार । मेरा बाभन्दा साना बच्चाहरूलाई समेत जदौ मालिक भन्नैपर्ने नियम लादिएको थियो । यस्तो सुन्दा धेरै रिस पनि उठ्थ्यो । केही बोले पञ्चहरूले कारबाही गर्लान् भन्ने पिर लागिरहन्थ्यो । छुवाछुत शब्दले अझै पनि चिमोटी रहन्छ मलाई । हरेक दिन पत्रपत्रिकामा मन्दिर, धारो छोएको निहुँमा कुटिएको÷ मारिएको समाचार छापिन्छ त्यतिबेला साह्रै दुख्छ मुटु । लाग्छ मैले म मान्छे बन्न के गर्नु पर्छ म त्यहि गर्थेँ । हुन चाहिँ मान्छेको प्रमाणपत्र कस्तो हुने होला ? मलाई यहि प्रश्नले सँधै पिरोल्छ ।

म हुर्कंदै थिएँ । पात्रो फेरिँदै थियो । बजारमा नयाँ पात्रो आयो कि भित्तामा नयाँ पात्रो झुण्ड्याइ हाल्थेँ । प्रत्येक दिन पात्रो हेर्थें गतेबार हेर्थें । कुन गतेमा कुन तिथि पर्छ, कति गते बिदा छ ? सबै नछुटाइ हेर्ने बानी थियो मेरो । घाम अस्ताएपछि गतेमा गोलो लगाउँथेँ । र, अर्काे गते शुरु हुन्थ्यो । वर्षैपछि पात्रो फेरिएजस्तै मेरो उमेर पनि फेरिन्थ्यो । उमेर फुल्दै गएपछि म स्कुल जानसक्ने भएँ ।

एक दिनको कुरा हो स्कुल जाने मेरो पहिलो दिन नयाँ लुगा, नयाँ झोला थिए । झोला बजारबाट किन्नु पर्ने थिएन । स्कुल ड्रेस कतै सिलाउन दिनुपर्ने थिएन । बा आफैँ लुगा सिलाउन जान्ने हुनुहुन्थ्यो । बाले ड्रेस सिलाई दिनुभयो । सुर्काने झोला पनि सिलाई दिनुभयो । मेरो कलिला नयाँ पैतालाले स्कुलको प्राङ्गणमा टेक्यो । पहिलो पटक मजस्तै यौटै रङका मान्छेहरू देखेँ । मन फुरुङ्ग भयो । छाती चौँडा भयो । साथमा स्कुल पढ्दै गरेका मेरो आफ्नै दाइ हुनुहुन्थ्यो । दाइ हुञ्जेल आँखाबाट आँसु आएन । जब दाइ मलाई कक्षा कोठामा छोडेर आफ्नो कक्षा कोठामा जानुभयो तब म रोएँ । बस्नै मन लागेन । गुरुले फकाउनुहुन्थ्यो । बिस्तारै फकिएँ । बिस्तारै बिस्तारै स्कुल आफैँ स्कुल जाने भएँ । यस्तो क्रम चल्दै गयो ।

पास हुँदै गएँ । उमेर बढ्दै गयो । जब बुझ्न थालेँ म दमाई रहेछु । विद्यालयमा खाजा लिएर जाने चलन थियो । खाजा खानेबेला छुट्टै बसेर खानु पथ्र्याे । सानो हुँदा त यस्ता कुराले छुँदैनथ्यो । तर बुझ्ने भएपछि साह्रै मन दुख्थ्यो । रुन मन लाग्थ्यो । लाग्थ्यो म मान्छे हैन कि ! मनमा अनेक कुरा खेल्थ्यो । विद्यालयका गतिविधि सबै घरमा सुनाउँथे ।

बा भन्नुहुन्थ्यो, बाबू ! हामी सानो जातले ठूलो जातले खानेकुरामा फलफुल बाहेक केही छुनुहुन्न । म दङ्ग पर्थेँ । होटल भित्रसम्म पस्न पाइन्नथ्यो । जे किन्न मन लागे पनि बाहिरैबाट किन्नुपथ्र्यो । एक दिन मेरो साथी दिनेश बिक र म मुलपधेँरामा (ढुङ्गेधारो भएको ठाउँ) जाँदै थियौँ । बाटोमा श्राद्ध गरेर आएका बाहुन बाजे भेटिए । बाजेको हातमा सिदाको झोला थियो । बाजेले हामीलाई भित्तामा साइड लाग भने । मेरो साथीले नसुने झैँ झोला छोइदियो । बाजेले हामी दुबैलाई लखेटे । हामी खुब दौडियौँ । बाजेले भेटेनन् ।

बेलुका घरमा गयौँ । काका (घरमा साथीको बुबा) ले दिनेशलाई भक्कु कुटे । नरमाइलो लाग्यो । म सानैदेखि अलि विद्रोही स्वभावको थिएँ । मैले प्रश्न गरेँ । हामी पनि मान्छे हौँ हामीले किन छुन नहुने ? तपाईंले अर्चापेको खुकुरीले उनीहरू मासु काट्छन् । त्यहि खुकुरी बनाउने मान्छे किन चल्दैन ? तपाईंले बनाएको गजुर मन्दिरको शीरमा हुन्छ तपाईं किन मन्दिरमा चल्नुहुन्न ? तपाईंले बनाइदिएको खुँडाले काटमार गर्नहुन्छ भने तपाईं कसरी अछुत हुनुभयो ? मेरो सवालको जवाफ दिनुको सट्टा काकाले उल्टै झपारेर लेखेट्नुभयो । म दुगुरेर आफ्नै घर आएँ ।

बा पहिल्यैदेखि कम्युनिष्ट हुनुहुन्थ्यो । सबै कुरा बालाई सुनाएँ । बाले सम्झाउनु भयो । बाको अनुहार रिसले रातो भएको थियो । छोयो कि रगतनै बाहिरिएला जस्तो । दिनहरू बित्दै गए । मभित्र पनि मान्छे सबै यौटै हो भन्ने कुरा अवगत भयो । यस्तै एक दिनको कुरा आठ वा नौ कक्षमा पढ्थे हुँला । विष्णु खत्री (मेरो बाको जजमान्) दाइको बिबाह थियो । बजाउन जान्नेहरू ज्यालामा पञ्चेबाजा बजाउन गए । म अलि सन्कि थिएँ । छुटै लाइन बसेर कुकुरलाईभन्दा पनि टाढा बसेर कतै खाना चाहन्न थेँ । हामी दुई भाइ (काकाको छोरो– नारायण नेपाली ) जन्त गयौँ । हामी खुब नाच्न सिपालु पनि थियौँ । नाच्दै नाच्दै गयौँ बेहुलीको घरसम्म ।

बारीको चौरमा भतेर थियो । बुबाहरू सबै छुट्टै अलग्गै लाइनमा हार मिलाएर बसे । म र दाइ क्षेत्रीहरूकै हारमा बस्यौँ । खाना बाँड्दै आए बाँड्दै आए । जब दुलाहाको छेउमै ब्राह्मण बाजे आएर टक्क अडिए । हामीलाई देख्नासाथ खाना हाल्नै छोडे । हामीलाई प्रत्यक्ष भन्नै सकेनन् र सरासर फर्केर भान्सातिर गए । उनले अरूलाई जानकारी दिए । हामीलाई भतेरबाट उठाइयो । म छक्क परेँ । सोचेँ हामी मान्छे थियौँ तैपनि कुकुरको व्यवहार गरियो । म सानै भएपनि स्वभाव फरक थियो । कसैको थिचोमिचो सहनै सक्दिनँ थेँ । हामी मान्छे हैन ? यहि प्रश्न गरेर म घर फर्किएँ । रातभरि निद्रा नै लागेन छट्पटाइरहेँ । आँखाबाट आँसु खस्थ्यो । किताबका पानाहरू पल्टाएँ जहाँ जहाँ दलित शब्द छ सबैमा कालो मसीले केरेँ । ताकी यो आँखाले दलित शब्दै देख्न नपरोस् । फुच्चे भएपनि क्रान्तिकारी सोच थियो मभित्र ।

कथित उपल्लो जाति भन्नेहरू आफूलाई के सोच्दा हुन् ? म तीन छक पर्छु । मान्छेले मान्छेकै दर्जामा राखियोस् । दलित भनेको के हो ? बहुत् जान्न चाहेँ । शब्दकोष हेरेँ । दलित त दमाई, कामी, बादी, गन्धर्व, चमार आदिलाई भनिँदो रहेछ । त्यो देख्नसाथ शब्दकोषमा टिपेक्स लगाइदिएँ । त्यसपछि झन् देरै जान्न मन लाग्थ्यो । तर अध्ययन गर्ने कुनै माध्यम पनि थिएन । पढ्न मन लागेजति पढ्ने सामाग्री पनि पाइन्नथ्यो । गाउँमा पढ्न चाहेर पनि पढ्न नपाएको पीडा अझै छ ।

पछिल्लो समयमा दलित शब्दको अर्थ क्षेत्री व्राह्मणमा पनि हुन्छ । दलित भनेको हेपेको चेपिएकोलाई भनिन्छ भनेर परिभाषित गरियो । तिनै शब्दकोष निर्माण गर्ने ती दमन÷शोषणकारीहरूले किन फेरि छुवाछूत गर्छन् ? यदि हामीलाई दलित भनेर परिभाषित गरिएको हैन भने किन फेरि छुवाछूत गर्नुहुन्छ ? यस्ता तमाम प्रश्नहरू हामीसँग छन् । तर जवाफ न श्री ६ सरकारले दियो न बाहुनहरूले दिने चाहे । मात्रै हामीमाथि शोषण गरियो । दमाई– लुगा सिलाउँछ । कामी– औंजार बनाउँछ । सार्की– छालाको जुत्ता सिलाउँछ । ब्राह्मण– वेद, पुराण पढ्छन् र कर्मकाण्ड गराउँछन् । यी सबै कामको विभाजन हुन् ।

मलाई दमाई शब्दमा कुनै घृणा पनि छैन । मलाई गर्व लाग्छ दमाई हुन पाएकोमा जसमा धेरै कलाहरू छन्, संस्कार छन् । आदर गर्ने शैली दलितभित्रै छन् । सानादेखि ठूलासम्मलाई उस्तै व्यवहार गर्ने एक मात्रै समुदाय हो दलित । जसले जात अनुसारको सम्बोधन गर्दैन । जसले अनुहार हेरेर सम्मान गर्दैन । गाउँघरमा बालीप्रथा थियो र छ अझैपनि । म लक्का जवान हुँदै थिएँ । बुबा र म जजमानकोमा कपडा सिलाउन जाने गर्थेँ । प्रारम्भमा रमाइलै लाग्थ्यो । पछि विस्तारै बुझ्ने भएपछि लुगा सिलाउन जजमानको घर जानै छोड्दिएँ । कारण थियो छुवाछूतकै । पानी छुन नहुने । खाना अलग्गै बसेर खानुपर्ने । हामीले खाएको थाल मस्काए पनि उनीहरूले पानीले शुद्ध गर्थे । मलाई त्यस्तो दृश्यले खुब छुने गथ्र्यो  । मेरो ब्रम्हले भन्यो तँ पनि मान्छे हो । मान्छेको जात हुँदैन । वर्ग हुँदैन । मात्रै पुलिङ्ग र स्त्री लिङ्ग गरि दुई प्रकारका हुन्छन् । म खुब विद्रोही स्वभावको छु नै ।

सानो छँदा (१५–१६ वर्ष ) म पानी लिन जान्थे पँधेरामा जब क्षेत्री ब्राह्मणले पानीको गाग्री लिएर आउँथे म पछि हट्नुपथ्र्यो । बाटो हिँड्दा कि छेउमा भित्तामा लाग्नुपथ्र्यो । मन साह्रै दुख्थ्यो । समय अगाडि बढ्दै गयो । म पनि लक्का जवान भएँ । समाजमा मज्जाले तर्क राख्न सक्ने भएँ ।

एसएलसी पछि काठमाडौं आएँ । काठमाडौं पनि उस्तै छुवाछूतको दलदलमा थियो । परिचय खुलाए कोठा पाउनै मुश्किल । फरक थर भनेर कोठा त पाएँ । कतिखेर घरबेटीले निकालिदिने हो पत्तै नहुने । स्कुल पढ्दैदेखि गीत कविता लेख्थेँ । साहित्यमा केही गर्छु भन्ने त्यति बेलैदेखि लाग्थ्यो । मलाई ढाँट्न आउँदैनथ्यो । ढाँटेको कुरा कतिन्जेल टिक्छ र । एक दिन घरबेटी बासँग कुरा गर्दागर्दै म दमाई हुँ भनेँ । दमाई शब्द फुत्त बाहिरियो । ढाँटेको कुरा टिक्दो रहेनछ मैले त्यसपछि थाहा पाएँ । कोठाबाट निकालिएँ । मन झन् दुख्यो । सोच्थेँ म मान्छे हैन रहेछु कि भन्ने भान हुन्थ्यो ।

मान्छेको उत्पत्तिमा कुनै जात पक्कै थिएन । जन्मँदा फरकफरक समुदाय थिएन । फरकफरक थर थिएन । मान्छे उत्पत्ति हुनु पक्कै भाषाको उत्पत्ति भएको हैन । भाषा फरकफरक बनाइदिए । भेषभुषा पनि फरकफरक बनाइ दिए दमनकारीहरूले । अचम्म चाहिँ यो लाग्छ कि ! मान्छे जन्मनुअघि पाठेघरमा ९ महिना बस्छ र समय भएपछि सबै योनीबाट जन्मन्छन् तर मान्छेको जात किन फरकफरक बनाएका हुन् ? अघि  यौटै थियो । ए ! कथित क्षेत्री ब्राह्मण हो ! सोच्नुस् त ! मान्छेको उत्पति हुँदा दुई जना थिए होलान् । त्यहि दुईबाट जन्मेका हौँ । मान्छे थुप्रँदै गएपछि समुदाय बन्यो । गाउँ बन्यो । टोल बन्यो र देश बन्यो । बिस्तारै साम्राज्यवाद घुस्यो । राज्य दलालीको हातमा पर्यो त्यसपछि जात छुट्टाए । जातसँगै छुवाछुत गरियो । यसरी किन बुझेर पनि बुझ पचाइरहेको छ मान्छे ?

कुनै एक समय थियो । समाज परिवर्तको नारा लगाएर धेरै हिँडियो । मृत्युलाई हत्केलामा राखेर बमबारुद बोकेर हिँडेको ज्यान पनि यहि हो । छुवाछुत गर्नेहरूको विद्रोह गरेर हिँडियो । कथित यो समाजले मलाई मान्छे त स्वीकार्यो तर आजसम्म मलाई मन्दिरको पुजारी हुन दिइएन । मैले नै सिलाएको धजापतका मन्दिरमा चढाइयो तर मलाई मन्दिरको न ढोका छुन दिइयो न त थालीमा लगेको नैवेद्य चढाउन दिइयो । म मन्दिरबाट पनि अछुत भएको यौटा समाजको ऐना हुँ नत्र हेर्नू त मेरो यो पृथ्वीजस्तो अनुहार ? जब मलाई हेर्नू हुन्छ नि ! तपाईंले भेटाउनु हुनेछ भुँई मान्छेको कयौँ कथाहरू ।

जीवनमा धेरै विद्रोहमा समावेश भइयो । देश परिवर्तनको नाममा लाखौँले ज्यान बलिदान दिए । थुप्रै अपांग भए । थुप्रै परिवारविहीन भए । ए ! दुइतिहाइको सरकार खै जनताहरूको मुख्य एजेण्डा ? जनता तिम्रो रखैल हो ? कि तिम्रो श्रीमतीले लगाएको पेटिकोट हो ? तिमीले अझै कति दिन भ्रम फिजाउँछौ ?

अब त यस्तो लाग्छ कि ! समाजको हेपाहा प्रवृत्ति देखेर केही गरुँ जस्तोे । तर सपोर्ट गर्नेे कोही पाइएन । म यौटा यस्तो समुदायको मान्छे हुँ जहाँ दलितबाटै छुवाछुत हुन्छ । तपाईंहरू भन्नू हुन्छ कि कामीले– दमाइले छोएको खाँदैन दमाइले वादीले छोएको नखाने । सार्कीले कामीले छोएको नखाने । खाँदैनन् पनि  तर यौटा प्रश्न फेरि पनि कि ! तपाईं भन्नुस् मान्छेको जात हुन्छ । जातमा पनि सानो ठूलो हुन्छ । सानोले छोएको ठूलाले खानु हुन्न भनेर सिकाउने को हो ? तपाईं (व्राह्मणवादी) कि दलितहरूले सिकाएका हुन् ? यो जात निर्माण गर्ने तपाईं कि म ? यसरी किन जातको निर्माण गरियो ? आजसम्म चित्तबुझ्दो जवाफ संविधानले पनि दिन सकेन । कहिलेकाँही लाग्छ म कस्तो मान्छे भएर जन्म लिएछु । जन्म दिने बाआमालाई पनि के दोष दिनु । मान्छे जन्मने मर्ने त यौटा साश्वत् प्रक्रिया हो । समाजमा यस्ता धेरै किंवदन्तीहरू छन् जसले मान्छेहरूमाथि दमन गरिरहेको छ ।

हामीलाई बिहानै देख्नासाथ साइत पर्याे भन्छन् । ठूला जात भन्नेहरू । बिबाह, ब्रतबन्धलगायत अन्य काममा दमाईलाई अघि लगाइन्छ । हामी मख्ख परिदिन्छौँ । मख्ख पर्नु नबुझेर हो । बुझ्नेहरू दुःखी हुन्छन् । यसो गर्नुमा पनि विभेद छ । कुनैपनि मान्छे अघि पछि लाग्नु साइत पर्नु हुँदै होइन । यो त यौटा भ्रम हो । भ्रम कोही नपरे हुन्छ ।

दमाई, कामी, सार्की जो–कोहीलाई पनि पढ्न पाउने अधिकार दिइएको थिएन । सफा भएर बस्न कस्लाई मन हुँदैन ? तर मन हुँदाहुँदै पनि व्राह्मण समयुदायले वन्चित गराइदिएका थिए कुनै दिन । उनीहरू दमाई, कामी लगायतलाई त्यो समयमा पढेको देख्नै चाहँदैन थिएँ । सफा र चिटिक्क परेर हिँडेको देख्नै चाहँदैन थिएँ । मन हुँदाहुँदै पनि स्वतन्त्रबाट वञ्चित थियो मेरो समुदाय । पञ्चायत ढल्यो, बहुदल आयो त्यसपछि मात्रै अलअलि खुलेर विद्रोह गर्न खोजे दलितहरूले । पढ्न थाले साना बालकहरूले । बुझ्न थाले इतिहासमा लेखिएका अक्षरहरू र त ०५२ सालदेखि विद्रोह सुरु भयो ।

त्यो विद्रोहले सरकार ढल्यो तर अझैँ पनि हामीमाथिको विभेद निर्मूल हुन सकेन । यो दुःखद कुरा हो । राज्य सत्ता त ढलायौँ । श्री ५ राख्नुहुन्न भनेर हटाइदियौँ तर के गर्नु संविधानमा श्री ६ नलेखिए पनि श्री ६ सरकार निर्माण गर्यौं त्यो हामी सबैको दुर्भाग्य हो । केही समय सरकारमा माओवादीलाई राख्यौैँ । सत्तामा माथिल्लो तहमा दलितलाई राख्नै चाहेनन् । योग्य नभएका पनि हैनन् । माओवादी झन् तत्कालीन श्री ५ को सरकारको बाजे बराजु बनेर जन्मियो । सत्तामा बाहुन क्षेत्रीकै हाबी भयो । हामी फेरि शोषणकै चपेटामा पर्यौं ।

मेरो विगतलाई अझै यसरी बुझौँ ।

एकदिनको कुरा थियो म विद्यालय जाँदै थिएँ । गेटबाट प्रवेश गरेँ । माओवादीको ठूलै प्रभाव थियो मलाई पनि । तर कक्षाकोठामा अर्कै माहोल थियो । संगठन बनाउन आएका माओवादीहरू थिए । राजाको फोटो च्यात्दै आए । मेरो छेउमा आएपछि च्यात्नैै दिइनँ । उनीहरूले भने भाइ दलित र छुवाछूतको उत्पादक यिनै हुन् । मैले प्रश्न गरेँ ! इतिहास के हो ? इतिहास लेखिँदा राम्रो पक्ष मात्रै लेखिन्छ कि नराम्रो पक्ष पनि लेखिन्छ ? इतिहासको परिभाषा बताइदिनुस् । यदि मलाई चित्त बुझाउन सक्नुभयो भने तपाईंले च्यात्नै पर्दैन मै च्यातिदिन्छु ।

उ छक्क पर्याे र मेरो किताबमा भएको राजाको फोटो र जीवनी लेखिएको पाना च्यात्ने आँट गरेन । संगठन विस्तार भयो । म पनि संगठनमा बस्न चाहेँ । साविक नामभन्दा फरक नाम लेख्नुपर्ने रहेछ । सबैले फरक फरक नाम लेखे मैले पनि फरक तर अलि उट्पट्याङ नाम लेखाएँ (वातावरण) कोठामा गलल हाँसे । माओवादीका प्रतिनिधि पनि हाँसे र भने ‘भाइ नाम भएन’ । मलाई रिस उठ्यो र रिस नसेलाउँदै प्रश्न गरेँ । तपाईंहरूको नाम चाहिँ गुराँस हुने, आगो हुने, हुलास हुने, पहरा हुने मेरो नाम चाहिँ किन नहुने ? यदि “वातावरण“ हुन्न भने “इन्भेष्टमेन्ट“ लेखिदिनु यति भनेको के थिएँ झन् हाँसोले कोठा नै थर्कियो । जति गर्दा पनि मैले मानिनँ लेख्न बाध्य बनाइ छाडेँ । यो मेरो जिद्दीपन थियो ।

अहिले बुझेर या नबुझेर हो दलितको विषयमा धेरै बहस हुने गरेको छ । सबै चर्चामा आउनकै लागि खरो उत्रेका छन् । कुनै समय प्रचण्ड र बाबुराम यानिकी माओवादीले प्रमुख एजेण्डा नै दलितको आवाज थियो । जताततै दलितलाई प्रयोग गर्दै आए । हामी माओवादीको साधन भयौँ । सत्तामा नपुगुञ्जेल हामीलाई प्रयोग गरे । उपभोग गरे तर हामीले हामी प्रयोग भइरहेका छौँ भन्ने बुझेनौँ । जब सत्तामा पुगे तब हामीलाई फाल्तु जनावरस्तै सडकको किनारमा छाडिदिए । अझैँ पनि हामीलाई साधनका रुपमा हेरिरहेका छन् । राजतन्त्र ढलेपछि छुवाछूतको अन्त्य हुन्छ भन्ने पूर्ण विश्वास थियो तर सोचेजस्तो भएन । माओवादी दलितको आवाज लिएर सरकारमा गयो । जब गणतन्त्रको पहिलो सरकार माओवादी भयो । सरकारमा सपथ लिनुअघि दलितको आवाज सडकको कुनै कन्टेनरमा हालिदिएछन् विचरा विश्वास गर्ने दलितलाई के थाहा ? अहिले हाम्रै आवाजलाई कुल्चेर सरकार कारमा हिँड्छ । बाटोमा भेटेपनि फर्केर हेर्दैनन् बरू गाडीले कुल्चे नि बालमतलब छ्र्र्र्रैन । जनयुद्धमा दलितले धेरै ज्यान गुमाए । कति बेपत्ता भए कुनै अत्तोपत्तो छैन । बाँचेकाहरूले पनि न्याय पाएनन् । न्यायका लागि लडेका दलितले के पाए ? ती दिनहरू सम्झिँदा मन भतभति फोल्छ । हामी कपडाका डिजाइनर हौँ त्यो सबैलाई थाहै भएको कुरा हो । द्वन्द्वकालमा माओवादीको कम्ब्याट सिलाउनु पथ्र्यो । खुब सिलाइयो पनि ।

एक दिनको कुरा हो जुनेली रात थियो । आकाशमा पूर्णिमाको जूनले नियाली रहेको थियो दलित बस्तीलाई पनि । त्यही जूनले पूरै गाउँलाई पनि नियालीरहेको थियो । जून त यौटै थियो, आकाश यौटै थियो तर जूनले दलित बस्तीलाई घटी ब्राह्मण बस्तिलाई बढी प्रकाश दिएन सबैलाई समान रुपमा नै प्रकाश दियो ।

बेलुकाको त्यस्तै ८ बजेको हुँदो हो चाडपर्वको दिन थियो । भान्छामा आमा ! भात र मासु पकाउँदै हुनुहुन्थ्यो । एक हुल माओवादी आए । सीमित परिवारलाई मात्रै भनेर पकाएको खाना सबैले बाँडिचुडी खायौँ । खाना खाइसकेपछि टोलका कपडा सिलाउने जति सबैलाई मेसिन बोकाएर जङ्गलतर्फ लगे । बुबा दाइहरू घर नफर्कुञ्जेल पिरैपीरमा बस्नु परेको थियो । आज पनि त्यो दिन सम्झँदा लाग्छ हामीले ब्यर्थै पसिना बगाएछौँ । समय आफ्नै रफ्तारमा छलाङ मारिरहेको छ तर मान्छे जति पढेपनि उही दमनको दायरामा रहेर चलिरहेको छ । सम्झँदा मन साह्रै दुःखित हुन्छ । हामी कराएको कराएकै छौँ न सरकारले सुनेर चित्तबुझ्दो जवाफ दिन्छ न जनताले चित्तबुझ्दो जवाफ दिन चाहन्छन् । सुन्ने कोही छैन । प्रेम गरेकै अभियोगमा जातकै कारणले नवराज विकको ज्यान गयो । तर न्याए खै ? दुःखको कुरा यो न्याय हराएको देशमा जन्म लिएछु ।

सरकार !

तिमीलाई अझै केही प्रश्नहरू छन् –

१. मान्छे किन विद्रोही हुन्छ ? बिस्तारै बुझ्दैछु ।

२. सरकार मान्छेको प्रमाणपत्र कस्तो रङ्गको हुन्छ ?

३. प्रेम गरेकै अभियोगमा भेरीमा खस्नु पर्छ कि पर्दैन ?

४. पानी छोएकै निहुँमा कुटाइ खानु पर्छ कि पर्दैन ?

५. मेरो लागि मन्दिरको ढोका खुल्ला हुन्छ कि हुँदैन ?

६. र, मैले यस्तो यस्तो विषयमा आवाज ओकल्न नपर्ने दिन कहिले आउँछ सरकार ?

मलाई यो पनि थाहा छ कि ! जबसम्म दलितहरुका बीचमा आपसी छुवाछुत हट्दैन र दलितबीचमा एकता हुँदैन तबसम्म छुवाछूतको अन्त्य हुँदैन । मेरो ब्रम्हले यहि बुझ्यो ।

अब,
ए !
६० लाख दलित साथी हो !
आउनुहोस् – हात मिलाऔँ
अब नसुत यो निदाउने समय हैन
– ब्युँझ निद्राबाट – सुतौँला नयाँ पाएको लिनबाट
र एकतामा बाँधिएर सिंहदरबार घेर्न जा
जसले हामीलाई न्याय दिनै सकेन
अब यो श्री ६ सरकार हामीलाई चाहिँदैन
उठ ! दलित हो उठ !
हातमा गतिलो औंजार लिएर आऊ
– कसैले पिक बोक्नू
– कसले कोदालो बोक्नू
– कसैले साबेल बोक्नू
– कसैले घन बोक्नू
– कसैले खन्ती बोक्नू
अब क्रान्ति हार्नको लागि हैन ।