अन्तर्राष्ट्रिय न्यायालय हातामा बुद्धको प्रतिमा राख्दाको खुशी

अन्तर्राष्ट्रिय न्यायालय हातामा बुद्धको प्रतिमा राख्दाको खुशी
सुन्नुहोस्

सन् २००५ मा अन्तर्राष्ट्रिय अपराधशास्त्रमा एल.एल.एम गर्न ससेक्स युनिभर्सिटी भर्ना भएँ । यस विषयमा अध्ययन गर्ने विधार्थीहरुलाई शुरुमै नेदरल्याण्डको हेगस्थित विशेष न्यायालय ‘इन्टरनेसनल क्रिमिनल ट्रिबुनल फर द फर्मर युगोस्लाभिया’ लैजाने गरिन्छ । अन्तर्राष्ट्रिय न्यायालयलाई ‘पिस प्यालेस’ पनि भनिन्छ । त्यहाँ विश्वमा शान्तिको सन्देश फैलाउने जिसस क्राईष्ट, महात्मा गान्धी र नेल्सन मण्डेलालगायतको प्रतिमा राखिएको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको एउटा तस्बिरसमेत नदेखेपछि मैले हामीलाई घुमाउने परिचालिकालाई ‘खै त बुद्धको मूर्ति रहेनछ ?’ भनेर सोधेँ । 

त्यहाँ विभिन्न राष्ट्रबाट पठाइएका उपहारहरु राख्ने गरिन्छ । परिचालिकाले ‘खै आजसम्म कसैले बुद्धको मूर्ति पठाएको रहेनछ’ भनेर जवाफ दिइन् । त्यसपछि मैले नेपाल सरकारको तर्फबाट पठाउने व्यवस्था मिलाउँछु भने । शैक्षिक भ्रमण २००५ को डिसेम्बर ४ देखि ६ सम्म थियो । फर्केर आएपछि बेलायतबाट प्रकाशित हुने ‘नेपाली सन्देश’ मा डिसेम्बर १३ मा ‘हेगको अन्तर्राष्ट्रिय न्यायालय घुम्दाको अनुभूति’ भनेर लेख लेखेँ । त्यसपछि यो विषयमा खासै ध्यान दिएको थिइन । सन् २०११ को अक्टोबरमा नेपाल सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको खबर पढे । मैले कार्नेगी फाउण्डेशनको संस्कृति विभागका ज्याकोबाईन वीएरिङ्गासँग सम्पर्क गरे । हालसम्म कतैबाट पनि बुद्धको मूर्ति उपहार नदिइएको उनले बताए । 

त्यहिबेला कमरेड प्रचण्ड अमेरिका जाँदै हुनुहुन्थ्यो । यसबारे छलफलसँगै अमेरिका जाने सोच बनाएर कमरेड अग्निप्रसाद सापकोटालाई फोन गरे । उहाँहरु एयरपोर्ट पुगिसक्नुभएको रहेछ ।  मैले उहाँलाई कुरा बुझाउन खोज्दै थिएँ, सिएम मसँगै हुनुहुन्छ कुरा गर्नुस् न भनेर फोन दिनुभयो । प्रचण्डले हामी बेलायत आउँदै छौं, त्यही भेटौंला नि भन्नुभयो । अनि मैले अमेरिका जाने योजना ‘क्यान्सिल’ गरे । सन् २०११ को नोभेम्बरमा प्रचण्डको केही दिनको बेलायत भ्रमणमा मूर्तिबारे सबै जानकारी गराए । उहाँले तत्कालीन स्वकीय सचिव समिर दाहाललाई जिम्मेवारी सुम्पिनुभयो । त्यतिबेला नेपाली दूतावासमा कपिलवस्तु लुम्बिनी अभियानले ब्रिटिस म्युजियममा बुद्ध भारतमा जन्मेका हुन् भनेर लेखेको र त्यसलाई सच्याउन पहल गर्ने नवीन पोखरेललाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरिएको थियो । 

मैले त्यहाँ पनि यी सबै कुरा राखेँ । सोही क्रममा एनआरएनए अध्यक्ष जीवा लामिछानेसँग पनि कुरा भयो । उहाँले एनआरएनएको तर्फबाट गरौं न भन्नुभयो । त्यसपश्चात् एनआरएनए युकेका अध्यक्ष कुल आचार्यले ‘एनसीसी’ मार्फत जाँदा राम्रो हुन्छ भन्नुभएकाले सोको सिफारिसमा ‘आईसीसी’ ले नेपाल सरकारसंग अनुरोध गर्यो । 

यसैबीच लुम्बिनी विकासका प्रमुख प्रचण्डलाई बुझाइएको लिखित सुझावमध्ये यो बुँदा पनि उल्लेख गरेको थाहा भयो । त्यसपछि सरकारसंग सम्पर्क गर्न तत्कालीन सांसद केशव नेपाल र समीर दाहाललाई जिम्मा दिइएको जानकारी पाइयो । एक वर्षसम्म यसबारे खासै प्रगति भएको थिएन । त्यतिबेलासम्म नयाँ राजदूत महामहिम राममणि पोखरेलसँगको एक भेटमा एनआरएनए अध्यक्ष लामिछानेले कामकारबाहीबारे जानकारी लिनु भनेपछि उक्त फाइल खोजेर सम्बन्धित कार्यालयमा सम्पर्क गरियो । सन् २०१३ जुन २४ दिउँसो साढे २ बजे बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने कार्य सम्पन्न भयो । 

अन्तर्राष्ट्रिय न्यायालयमा नवनिर्मित भवनको तेस्रो तल्लामा न्यायाधीशहरुको कक्ष अगाडि गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । शुरुमा त मैले यस न्यायालयलाई शान्ति भवनको नामले चिनिने थाहा पाएँ । सबैतिर घुम्दा पनि बुद्धको फोटो नदेखेपछि प्रतिमा राख्न पाए नेपालको शीर उचो हुन्छ भन्ने सोचेको थिएँ । बुद्धको प्रतिमा नेपालबाट उपहार दिन पाउँदा नेपालीको शान बढ्छ भन्ने लागेको थियो । यो सोचाईपछि त झन् बुद्धको जन्मस्थलको बारे थुप्रै विवादित विषयहरु बाहिर आउन थाल्यो । हामीले लुम्बिनी कपिलवस्तु अभियानको नामबाट बुद्ध नेपालमा जन्मेको हो भनि व्यापक प्रचारप्रसार गर्न थाल्यौं । 

अहिले अन्तर्राष्ट्रिय न्यायालयमा राखिएको बुद्धको प्रतिमामा ‘बुद्ध नेपालको लुम्बिनीमा ६२३ बिसीमा जन्मेका हुन्’ भनेर लेखिएको छ । जसले अभियानमा ठूलो सहयोग पुर्याएको छ । सर्वप्रथम कार्नेगी फाउण्डेसनमा मैले लेखेको इमेललाई सकारात्मक रुपमा जवाफ पठाएर ज्याकोबाईन वीएरिङ्गाले सहयोग गरेका थिए । नेपाल सरकारको निर्देशनपछि बेलायतका लागि नेपाली राजदूत महामहिम राममणि पोखरेल तथा कार्गेनी फाउण्डेसनका रजिष्ट्रार पिलिप दे काउन्रिउबीचको भेटघाटबाट मूर्ति कसरी स्थापना गर्ने भन्ने निधो भयो । सो दिन न्यायालयका कर्मचारी तथा १५ जना न्यायाधीश उपस्थित हुनुले यो कार्यको महत्व बढाएको थियो । 

सरकारको पूर्ण समर्थनमा विदेशमा छरिएर बसेका नेपालीहरुको साझा संस्था एनआरएनएको प्रत्यक्ष सहयोगमा त्यो कार्य सफल भएको थियो । उक्त दिन न्यायालयका कर्मचारीहरु तथा सम्पूर्ण १५ जना न्यायाधीशहरुको उपस्थिति हुनुले यो कार्यको महत्व बढाएको थियो । नेपाल सरकारको पूर्ण समर्थनमा विदेशमा छरिएर बसेका नेपालीहरुको साझा संस्था एनआरएनएको प्रत्यक्ष सहयोगमा त्यो कार्य सफल भएको थियो । 

यो विषयको उठान मैले गरेकाले एनआरएनएको आईसीसीले मलाई नै यसको संयोजन गर्ने भूमिका प्रदान गरेको थियो । औपचारिक रुपमा यस समितिमा अरु साथीहरु नरहेपनि पनि तत्कालीन अध्यक्ष लामिछाने, प्रवक्ता डा.हेमराज शर्मा, निर्देशक राजेश राणा, युके अध्यक्ष कुल आचार्य, हल्याण्ड अध्यक्ष नारायण आचार्य तथा बेल्जियमको नेपाली दूतावासको प्रत्यक्ष संलग्नता थियो । यस कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च हामी एनआरएनएकै साथीहरुले व्यहोरेका हौं । हामीले यसमध्ये पनि बेलायतमा रहेको बीसीसी युकेको सहयोगलाई उच्च मूल्याङ्कन गरेका छौं । अन्तर्राष्ट्रिय न्यायालयमा प्रत्येक वर्ष थुप्रै पर्यटक विधार्थीहरु विशेष भ्रमण गर्दछन् । बुद्धको प्रतिमा आर्कषक ढंगले राम्रो ठाउँमा राखिएको छ । 

त्यहाँ जाने हरेक पर्यटकले बुद्ध नेपालमा जन्मिएको भनेर स्पष्ट थाहा पाउँछन् ।  यसबाट बुद्धको जन्मस्थललाई लिएर उठाइएको विवादहरु निरुपण हुनेछ । अन्तिम निर्णय गर्ने आधिकारिक संस्थाले नै बुद्ध नेपालमा जन्मेको हो भनेर उपहार स्वीकार गरेको हुनाले यसलाई पनि भविष्यमा प्रमाणको रुपमा लिन सकिन्छ । शुरुमा थोरै प्रतिनिधि मात्रै उपस्थित हुन पाउने खबर पाएकोले उपेन्द्र महतो, जीबा लामिछाने, राम थापा, कुमार पन्त, कुल आचार्य, हितमान गुरुङ्ग, कृष्ण भट्टराई, अर्जुन श्रेष्ठलगायत केही अग्रज मात्र जाने कुरा थियो । तर, त्यसदिन बाक्लै उपस्थिति देखियो । म छोरीसँग स्वीट्जरल्याण्डमा भएको क्षेत्रीय भेलामा गएको थिएँ । 

जर्मनीमा रात बिताएर सन्तोष भट्टराईसँग हेग आयौं । मिनु र रेया अघिल्लो दिन हल्याण्ड आएर अमृत दाइसँग बसेका थिए । अमृत दाइहरु त अर्को अदालत पुग्नुभएछ । समयमा हेग पुग्न नसकेको हुँदा मैले अर्को ट्याक्सीमा गएर ल्याएँ । धेरै हुलमुलका कारण सभाहल अव्यवस्थित थियो । अदालतले सबैलाई वेलकम स्याम्पेन र नास्ता गरायो । कार्यक्रम सकिनासाथ बीबीसी नेपाली सेवाबाट भगिरथ योगीले अन्तवार्ता लिने क्रममा अरु कुनै योजना छ ? भनेर प्रश्न गर्नुभयो । मैले हामी जहाँ पुगेका छौं, त्यहाँ सम्भव भएसम्म बुद्धको प्रतिमा स्थापना गर्नुपर्ने जवाफ दिए ।

अन्तर्राष्ट्रिय न्यायालयमा विश्वका अधिकांश मुलुकका नागरिक पुगिसकेका छन् । धेरै नेपालीले न्यायालयको भ्रमण गरिसकेका छन् । सानो प्रयासले यति ठूलो कार्य सम्पन्न भएको हुनाले यसलाई मेरो जीवनकै खुशीको दिनको रुपमा लिने गरेको छु । एनआरएनएको वेभसाइटको मुख्य पेजमा रहेको महत्वपूर्ण कामहरुको सूचीमा यो कार्य पनि समावेश गरिएको हुँदा निकै नै खुशी लाग्छ ।
 

टिप्पणीहरू