कार्यालयमा ताला मारेर हिँडेका अध्यक्षको फोन उठेन, बचतकर्ताको हारगुहार

कार्यालयमा ताला मारेर हिँडेका अध्यक्षको फोन उठेन, बचतकर्ताको हारगुहार
सुन्नुहोस्

देशका प्रमुख शहरमा च्याउसरी खुलेका सहकारीहरु एकपछि अर्को ठगीको सूचीमा परिरहेका छन् । यसैबीच काठमाडौँको बागबजारस्थित नेपाल प्रहरी क्लवको ठ्याक्कै पछाडि अद्धैतमार्गमा कार्यालय रहेको सर्वाेत्तम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले पनि सयौँ सर्वसाधारणको बचत रकम झ्वाम पारेको पाइएको छ ।

आकर्षक ब्याजदरको प्रलोभनमा पारेर सर्वसाधारणबाट मनग्य रकम बचत गराको यो सहकारी अहिले बन्द अवस्थामा छ । कार्यालयमा बाहिरपट्टी टाँगिएको साइनबार्ड पनि झिकिएको छ । ढोकामा ताल्चा झुण्ड्याइएको अवस्था छ ।

यदाकदा अध्यक्ष बिनोद खनालले आफ्ना 'एस म्यान'लाई सहकारीको कार्यालय खोल्न पठाइए पनि त्यहाँ पुगेका बचतकर्ताले बचत फिर्ता पाउँदैनन् । बरु, आफूहरुलाई सहकारीका बारे केही जानकारी नभएको भन्दै आकल्झुक्कल कार्यालय खोल्न पुग्ने कर्मचारी चित्तबुझ्दो जवाफसमेत नदिएरै उम्कन खोज्छन् ।

कतिपय बचतकर्ताको मुद्धती (फिक्स डिपोजिट)मा जम्मा गरेको रकम अवधि पुगिसकेर पनि फिर्ता नपाएका बचतकर्ताहरुले एक्ला चल्तापूर्जा सञ्चालक खनाललाई भेट्न त परेको कुरा, मोवाइलमा सम्पर्क गर्नसमेत पाइरहेका छैनन् । अध्यक्ष फरार भएसँगै सहकारी खुल्न छाडेको हो । 

खनालले ९८०१११८८७१, ९८४१९६०६२६, ९८२२७६८९१८ नम्बरका मोवाइल बोक्छन् । तर, अधिकांश समय ति सबै मोवाइल स्वीच अफ हुने गरेको छ । यदाकदा कतै सम्पर्क गर्नु परेको अवस्थामा मोवाइल खोलीहाले पनि बचतकर्ताको फोन उनी उठाउँदैनन् ।

देखावटी राखिएका अन्य सञ्चालकले समेत यतीबेला सहकारीका नाममा जम्मा गर्न लगाएको रकम अध्यक्षले आफूखुसी प्रयोग गरेर संस्थालाई धराशायी बनाएको आरोप लगाउन थालेका छन् । धादिङ घर भएका खनालले बचत रकम कता प्रयोग भैरहेको छ भन्ने बारेमा उनीहरुलाई जानकारी नदिएको बताइएको छ । 

यता, पीडित बचतकर्ताले एकजुट भएर सञ्चालक खनालविरुद्ध ठगी कसूरमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ ।

टिप्पणीहरू