रविमाथि रोचक प्रश्न– अझै राजीनामा नदिने ?

रविमाथि रोचक प्रश्न– अझै राजीनामा नदिने ?

आमनिर्वाचनमा ११ लाखभन्दा बढी मत पाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, सबैभन्दा बढी मत पाएर जितेका सांसद, पूर्वगृहमन्त्री अनि उदीयमान वैकल्पिक राजनीतिक पार्टीका युवा नेता रवि लामिछानेका विषयमा प्रश्न उठाउनु जोखिमपूर्ण छ । उनीमाथि प्रश्न उठाउनेहरूलाई लामिछाने र उनका समर्थकले गाली बर्साउँछन् । यस्तो गाली खाइरहनुभन्दा उनका कमजोरीप्रति आँखा चिम्लिनु नै उचित हो भनेर अहिलेसम्म धेरै लेखक, बुद्धिजीवी तथा पत्रकार मौन रहँदै आएका छन् । रविले नयाँ पार्टी बनाए । पाँच महिनामै पार्टीले उल्लेख्य प्रगति पनि गर्‍यो । पुराना दलबाट जनता वाक्क भएका बेला भर्खर जन्मेको पार्टीका सभापति रहेका रविलाई धेरै आलोचना नगरौं भन्ने सहानुभूति पनि बौद्धिक समुदायले राख्दै आएका छन् । 

तर, यो सहानुभूति र उदारताको फाइदा उठाउँदै लामिछानेले नेपालको मूलधारको मिडियालाई प्रधान शत्रुको व्यवहार गर्दै आए । ‘१२ भाइको बिल्ला’ त्यसैको दृष्टान्त हो । मिडियालाई गाली गर्दै उनीचाहिँ सहकारीका ठगसँग साझेदारी र सहकार्यमा व्यस्त रहेछन् भन्ने तथ्यको पर्दाफास अहिले भइरहेको छ । समर्थकको सहारा लिँदै मिडियालाई गाली गरेर नेपाली जनतालाई उल्लु बनाउन सकिन्छ भनी कसैले सोच्छ भने त्यो गलत हो । पहिले आफ्नो अनुहारमा लागेको दाग सफा गर्नुपर्छ, ऐनालाई दोष लगाएर हुँदैन ।

उनकै भनाइअनुसार यो गुडविल शेयर जीवी राईले रविलाई सित्तैमा चढाएको नजराना हो कि होइन ? यसरी लिइने गोल्डेन वा गुडविल शेयर घुसको अर्को रूप हो कि होइन ? यसरी गोल्डेन, गुडविल वा स्वेट शेयर लिएर काम गर्नु एउटा पत्रकारका लागि आचारसंहिताले दिन्छ ? 

हो, विगतमा कसैले गल्ती गर्न सक्छ । विगतको गल्तीका आधारमा मात्रै कसैलाई ठुंगिरहनु उचित हुँदैन । रत्नाकर डााकु पनि वाल्मीकि बनेका थिए । त्यसर्थ रविले पनि विगतमा केही व्यक्तिगत गल्ती कमजोरी गरेका भए स्वदेश फर्केर राजनीतिमार्फत देशको सेवा गर्न खोजेका हुन् भनेर विगतलाई बिर्सिदिने प्रयास पनि नेपाली समाजले गरेकै हो । तर, एकपछि अर्को विवादास्पद सम्बन्ध देखिन थाले । भावी प्रधानमन्त्रीका रूपमा आफूलाई दाबी प्रस्तुत गरिरहेको नेतामाथि उठेका प्रश्न र त्यसको खण्डन गर्ने तरिका हेर्दा पूर्वगृहमन्त्री लामिछानेमाथि नागरिक समाजले गहिरो गरी प्रश्न सोध्नुपर्ने बेला आएको छ । 

रविमाथि उठेका यी हुन् केही प्रश्न –

पहिलो प्रश्न : पत्रकारले ‘गुडविल शेयर’ लिन मिल्छ ?

करिब ११ महिनाअघि रवि लामिछानेले सम्पादकहरूलाई १२ भाइ भन्दै गर्दा कान्तिपुरका कैलाश सिरोहियालाई गाली गर्ने सिलसिलामा ‘गोल्डेन शेयर’ को चर्चा गरेका थिए । अजेय सुमार्गीको ‘कोट’ लिँदै रविले ‘गोल्डेन शेयर’ लिने कार्यलाई नजराना (घुस) सँग तुलना गरे । त्यसबेला भनेका थिए, ‘सुमार्गी आफैँले एउटा पत्रकार सम्मेलनमा के भनेका थिए भने नेपालमा अहिले प्रचलित, तर खासै चर्चामा नआएको आर्थिक पदावली, गोल्डेन शेयर छ । यो त्यस्तो सुनौलो शेयर हो, जुन केही प्रतिशत नजरानावापत दिनुपर्ने हुन्छ ।’ 

११ महिनापछि रवि आफैँ ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरेवापत आफूले १५ प्रतिशत ‘गुडविल शेयर’ लिएको बताउने ठाउँमा ओर्लिएका छन् । उनकै भनाइअनुसार यो गुडविल शेयर जीवी राईले रविलाई सित्तैमा चढाएको नजराना हो कि होइन ? यसरी लिइने गोल्डेन वा गुडविल शेयर घुसको अर्को रूप हो कि होइन ? यसरी गोल्डेन, गुडविल वा स्वेट शेयर लिएर काम गर्नु एउटा पत्रकारका लागि आचारसंहिताले दिन्छ ? प्रश्न रवितिरै सोझिएको छ । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा रविले खुलेआम भने, ‘म टेलिभिजनकर्मी । टेलिभिजनकर्मीका रूपमा नयाँ खुलेको ग्यालेक्सी त्यतिखेरको टेलिभिजन, जहाँ मैले काम गरेँ । काम गरिरहँदा आफ्नो गुडविल शेयरको पनि अपेक्षा गर्दै गुडविल शेयरको कुनै प्रावधान नभएको हुनाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको या दिएको छैन ।’ 

एउटा पत्रकार वा सम्पादकले मिडिया सञ्चालकबाट शेयर लिएर काम गर्दा व्यवस्थापन र न्युजरूमबीच ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन्छ कि हुँदैन ? जस्तो– अहिले कान्तिपुरका सम्पादकले कैलाश सिरोहियासँग शेयर लिएर काम गर्न मिल्छ ? पत्रकारले त्यसरी काम गर्नै मिल्दैन । तर, रविले ग्यालेक्सीमा जसरी १५ प्रतिशत शेयर लिएर काम गरे, त्यो सरासर पत्रकार आचारसंहिताविपरीत र अनैतिक कार्य हो । अझ वास्तविक रूपमा पैसा नै नतिरिकन‘प्रक्रिया मिलाएर’ शेयर लिइएको हो भने त त्यो झनै‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ जोडिने कुरो हो । रविले १ करोड ८० लाख रूपैयाँँ बैंकमा जम्मा नै नभएको बताएर पत्रकार सम्मेलनमा अर्को ठगीको स्वीकारोक्ति प्रकट गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा १५ प्रतिशत ‘गुडविल शेयर’ देखाउनका लागि नक्कली भर्पाई खडा गरिएको बैंकको पत्र र रविको भनाइबाटै प्रमाणित हुन्छ । यो ठगीको अर्को धन्दा हो ।

तपाईको घर, गाडी, जग्गाजमिनको आयस्रोत के हो ? देशैभरि सहकारीमा जनताले राखेको पैसा हिनामिना गर्ने तत्वहरूसँगको रविको नातासम्बन्ध कसरी जोडियो ? देशैभरिका ठगसँग गर्ने, अनि कुराचाहिँ फेरि सहकारी पीडितको गर्ने ? 

यो फर्जी कार्यमा रविले आफ्नो संलग्नता खुल्ने गरी सोमबारको पत्रकार सम्मेलनमै प्रष्टसित भने, ‘विभिन्न कार्यालय र निकायमा त्यस्तो गुडविल शेयरलाई कन्भर्ट गर्ने प्रणाली नभएका कारण त्यसका लागि गरिएका बाहेक मैले लिने–दिने चिज गरेको छैन । यो प्रणालीसँग मात्र सम्बन्धित रहेर त्यो १५ प्रतिशत शेयर स्थापित नहुने भएको हुनाले त्यसलाई स्थापित गर्ने प्रयोजनका लागि केही प्रक्रियाका कुरा अवश्यै छन् । मैले स्पष्ट रूपमा निरन्तर भन्दै आएको कुरा त्यही नै हो ।’

दोस्रो प्रश्न : तपाईंको सम्पत्ति कति छ ?

पुराना राजनीतिक दलका नेतासँग जनता वाक्क हुनुको एउटा कारण के हो भने उनीहरू अपारदर्शी भए, भ्रष्टाचार गरे, अकूत सम्पत्ति कमाए । जनतालाई ढाँटे । अब नयाँ आउनेहरूले त्यो गल्ती नगरुन्, पारदर्शी हुन्, सादगी हुन् र आफ्नो सम्पत्ति जनतासमक्ष सार्वजनिक गरुन् । तर, रास्वपा सभापति लामिछानेले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण जनतामा सार्वजनिक गरेका छ्रैनन् । पछि आउने वैकल्पिक सरकारको कुरो नगरौं, कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका पालादेखि मन्त्री, प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन शुरु भएको थियो । मन्त्री बनेपछि खाममा हालेर, गोप्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुन त छँदै छ तर नेताले पारदर्शी हुनका लागि मन्त्री बन्दा र बाहिरिँदा दुबैचोटि आफ्नो जायजेथा, सम्पत्ति सार्वजिनक गर्ने चलन यसअघि नै चलेको हो । 

मन्त्रीहरूले आफूसँग भएको बैंक व्यालेन्स, शेयर, जग्गा जमीन, मोबाइल र औंठीसमेत सार्वजनिक गर्ने चलन थियो । तर, रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका बेला आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् । गृहमन्त्री छाड्दा पनि सम्पत्ति देखाएनन् । चुनाव लड्दा वा गृहमन्त्री बन्दा गोप्य रूपमा बुझाउनुपर्ने सरकारी निकायमा बुझाएकै छु भन्ने हो भने त्यो पुरानै नेताको तर्क हो, नयाँ हुँ भन्नेले त जनतामा पारदर्शी हुनुपर्ने हो । त्यसैले, रविमाथि प्रश्न उठ्छ, गृहमन्त्री हुँदा र बाहिरिँदा आफ्नो सम्पत्ति विवरण किन सार्वजनिक गर्न आवश्यक नठानेको ? तपाईको घर, गाडी, जग्गाजमिनको आयस्रोत के हो ? भावी प्रधानमन्त्री हुँ भन्ने राजनीतिक व्यक्तिमाथि जनताले यो प्रश्न सोध्न पाउने कि नपाउने ? आर्थिक पारदर्शिताको मामिलामा रवि लामिछानेले आफूलाई प्रचण्ड, ओली वा शेरबहादुर देउवाभन्दा फरक देखाउनुपर्छ कि पर्दैन ? राजनीतिमा नआएको भए यो विषयलाई रवि लामिछानेको नितान्त व्यक्तिगत मामिला मान्न सकिन्थ्यो । ०८४ पछि रविको पार्टीले सरकार बनायो भने मन्त्रीको सम्पत्ति विवरण जनतामा सार्वजनिक गर्नुहुन्छ कि अहिलेको प्रचण्ड सरकारले जस्तै गुपचुप राख्नुहुन्छ ?

तेस्रो प्रश्न  : ठग्नेलाई किन छानेको ?

रवि लामिछानेको नारा हो– जान्नेलाई छान्ने । तर, संगठन भने सहकारीका ठगसँगै भएको देखियो । चाहे सहकारी ठगीको आरोप लागेका ढाकाकुमार श्रेष्ठलाई सांसद बनाएको विषय होस् वा युनिटीपछिका ठग जिबी राईसँगको साझेदारी कम्पनी होस् । लामिछानेको संगत सहकारीका ठगहरूसँगै किन भएको होला ? उनीहरूसँग आर्थिक सहकार्य रहेको त कम्पनीको शेयर सदस्य र साझेदार रहेबाटै प्रष्ट भएकै छ । देशैभरि सहकारीमा जनताले राखेको पैसा हिनामिना गर्ने तत्वहरूसँगको रविको नातासम्बन्ध कसरी जोडियो ? के यो सबै नजानेरै मात्र भएको थियो ? के आफूले नचाहिकन ठगहरूसँग यसरी उठबस सम्भव हुन्छ ? त्यसर्थ, रविले दिनुपर्ने जवाफ भनेको सहकारीको सदस्य हुँ कि हैन भन्ने होइन । जनताको रकम दुरूपयोग गर्ने ठगहरूसँग शेयर सदस्य कहिले थिएँ र कहिले छाडेँ भन्ने तिथिमितिको पनि होइन । रविको कोर टिममा ढाकाकुमार, जिबी राई र कुमार रम्तेलहरू कसरी जोडिन आइपुगे ? पीडितले न्याय मागिरहेकै बेला गृहमन्त्रीको किचन क्याबिनेटमा जिबी राईहरू कसरी पुगे ? जवाफ दिनुपर्ने खास प्रश्नचाहिँ यो हो । देशैभरिका ठगसँग गर्ने, अनि कुराचाहिँ फेरि सहकारी पीडितको गर्ने ? यो त डबल स्टाण्डर्ड भएन ? देश हाँक्छु भन्ने नेताले यसरी ठगहरूको मतियार बनेर गल्ती भएकोमा इमान्दारितापूर्वक जनतासँग माफी माग्नुपर्ने होइन र ? एकपछि अर्को कुतर्क गरेर, अर्कालाई दोष देखाएर उम्कन खोज्नु राजनीतिज्ञको लक्षण नभएर ठगकै शैली भएन र ?

चौथो प्रश्न : गृहमन्त्री हुँदा साँठगाँठ किन ?

रवि लामिछाने ०७९ पुस ११ गतेदेखि माघ १३ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । उनैले सामाजिक सञ्जालमा पोष्ट गरेको प्रमाणपत्र हेर्दा जिबी राईको कम्पनीमा ०८० वैशाख ४ गतेअघिसम्म शेयर सदस्य थिए । ०७८ असोज २६ गते गोर्खा मिडिया नेटवर्क प्रालिमा शेयर सदस्यता कायम भएको थियो ।

०७९ असार ७ गते रविको सभापतित्वमा रास्वपा स्थापनाको घोषणा हुँदा उनी जिबी राईका व्यावसायिक पार्टनर यथावतै थिए भन्ने कुरा शेयर दर्ता किताबमा रहेको मितिबाटै स्पष्ट हुँदैन र ? गृहमन्त्रीलाई सहकारीका ठगहरूले दिएको पुष्पगुच्छा र मन्त्री दम्पतीसँग भित्री कोठामा भएका भेटघाटले त्यसलाई थप पुष्टि गर्दैन र ? प्रश्न, जिबी राईसँग रविले गरेको साँठगाँठ र पार्टनरसिपको मात्र होइन, जतिखेर गृहमन्त्री रवि लामिछाने र जिबी राईको उठबस भइरहेको थियो, त्यसबेला पोखराका सहकारी पीडितहरू आन्दोलनमा थिए, उनीहरूले सरकारसँग न्याय मागिरहेका थिए । 

जतिबेला पीडितहरू न्याय मागिरहेका छन्, त्यतिबेला सहकारीका ठगहरूसँगै गृहमन्त्रीको उठबस र शेयर साझेदारी ? के यो नैतिक रूपमा सुहाउने विषय थियो ?

यसरी ठगीको आरोप लागेको व्यक्तिसँग तत्कालीन गृहमन्त्रीले गरेको साँठगाँठ र संरक्षणका विषयमा सहकारी पीडितहरूसँग नैतिकताका आधारमा माफी माग्नुपर्छ कि पर्दैन ? लामिछानेको पार्टनरसिप र साझेदारीबाट सहकारीका ठगले फाइदा उठाएर पीडितहरू थप मर्कामा परेका हुन् कि हैनन् ? यसको नैतिक जिम्मेवारी पनि एउटा जिम्मेवार राजनीतिक दलको सभापतिले लिनुपर्छ कि पर्दैन ? यो राजनीतिक नैतिकतासँग जोडिएको विषय हो कि होइन ? अनि यस्तो विषयमा ‘मलाई हत्कडी लगाऊ’ भन्दै गृहमन्त्रीलाई धम्क्याएर वा मिडियालाई गाली दिएर आफू चोखिन मिल्छ ? कि यसको नैतिक जिम्मेवारी पनि लिनुपर्छ ?

पाँचौं प्रश्न : अब सभापतिबाट राजीनामा दिने कि ?

जतिसुकै विवादमा आउँदा र सार्वजनिक रूपमा आरोप लाग्दा पनि पदमा टाँसिइरहने प्रवृत्ति पुराना राजनीतिक दलका नेतामा छ । नयाँ दलले यसमा नयाँ संस्कार देखाउन सक्नुपर्ने हो । सहकारी ठगीजस्तो वित्तीय अपराधसँग जोडिएको विषयमा स–प्रमाण विषय बाहिर आएपछि रास्वपाका सभापति लामिछानेले पदबाट हटेर अर्को व्यक्तिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदा के होला ?

अहिले रास्वपामा डीपी अर्याल दोस्रो बरियताका उपाध्यक्ष छन्, उनी पनि जिबी राईसँगैको तस्बिरमा देखिएका छन् । यो अवस्थामा रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्न सक्ने अर्का उपसभापति डा. स्वर्णिम वाग्ले छन्, जो यस्ता विवादबाट मुक्त छन् । के रास्वपाले अब रविमाथिको विवादको टुंगो नलागुञ्जेलका लागि डा. वाग्लेलाई कार्यवाहक सभापति बनाएर नयाँ सन्देश दिन सक्छ ? यसमा सभापति लामिछानेले आफैँ सहजीकरण गर्न सक्छन् ? यो प्रश्न निकै पेचिलो छ । 

यो कुरा स्पष्ट छ कि अहिलेको विवाद रवि लामिछाने व्यक्तिसँग जोडिएको हो, यसमा रास्वपा पार्टीलाई मुछ्न मिल्दैन । रास्वपासँग रहेको ११ लाख जनमत भनेको नयाँ विकल्पका लागि खसेको विश्वासको मत हो । रवि भनेका व्यक्ति मात्र हुन् । पार्टी भनेको संस्था हो । व्यक्ति नभए पनि पार्टी चल्छ, चल्नुपर्छ । पार्टीमा व्यक्तिहरू पाखा लाग्न सक्छन् र नयाँ आउन पनि सक्छन् ।

तर, पार्टी सभापति एकपछि अर्को वित्तीय विवादमा फस्दै जाँदा पार्टी मौन छ । सबैलाई चुइँक्क नबोल्न ह्विप लगाइएको छ । व्यक्तिले मात्रै आफैँं एकोहोरो आफ्नो बचाउ गरिरहेको अवस्था छ । के यसबारे रास्वपाले सोच्नुपर्दैन ? अझ रास्वपाका नेता सभापतिको गलत कार्यको बचाउमा उत्रँदै जाने हो भने यसले पार्टीलाई कमजोर बनाउला कि बलियो ? यो अर्को अहं प्रश्न हो । सहकारी ठगीको विषय गम्भीर वित्तीय अपराध हो । यो संगठित फौजदारी अपराध हो । यस्तो अपराधमा नाम मुछिइसकेपछि के रवि लामिछानेले पार्टीलाई स्वच्छ राख्न र ११ लाख मतलाई सम्मान गर्न कसैलाई कार्यवाहक दिने उदारता देखाउलान् ? यो भने हेर्न बाँकी छ ।
 

टिप्पणीहरू