जब राजदूतका लागि हेलिकोप्टर खर्च जुटेन

जब राजदूतका लागि हेलिकोप्टर खर्च जुटेन

महाकाली सीमाक्षेत्रमा भारतीय सहायता बढिरहेको छ । दर्जनौं विद्यालय भवन निर्माणलगायतका कार्य भइरहेका छन् । यही क्रममा दार्चुलामा निर्मित एउटा विद्यालय भवन उद्घाटन र दुइटाको शिलान्यास कार्यक्रम वैशाख ६ र ७ गते सम्पन्न गरिएका छन् । 

ती कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव आउने तयारी थियो । तर हेलिकोप्टरको व्यवस्थापन हुन नसक्दा अन्तिममा द्वितीय सचिव प्रशान्त कुमार सोना दार्चुला पुगेका छन् । राजदूतका लागि स्थानीय तहहरू २८ लाख रूपैयाँँ खर्चन तयार नभएपछि भ्रमणका पात्र फेरिएका हुन् । दुहुँ गाउँपालिकास्थित जनविकास मावि बारबाजमा झण्डै ३ करोड लागतमा नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको उद्घाटनमा समेत राजदूत आउने चर्चा थियो ।

यसैगरी, शैल्यशिखर नगरपालिकाको गलैनाथ मावि झरकडा र व्यास गाउँपालिकाको हिमालय मावि हुतीमा नयाँ विद्यालय भवन निर्माण थालिएको छ । राजदूतको भ्रमणमा लाग्ने खर्च व्यहोर्न शैल्यशिखर नगरपालिका, व्यास गाउँपालिका र दुहुँ गाउँपालिका तयार नभएपछि द्वितीय सचिव प्रशान्तकुमार सोनाले गाडीको यात्रा गरेर उद्घाटन र शिलान्यासका कार्य सकेका छन् । 

नेपाली सेनाको ४ सिटवाला सानो हेलिकोप्टर खर्च प्रतिघण्टा २ लाख २४ हजार र १५ सिटवाला ठूलो हेलिकोप्टरको खर्च प्रतिघण्टा ४ लाख १७ हजार लाग्ने भएपछि स्थानीय तह खर्च व्यहोर्न तयार भएनन् । ‘तीनवटै स्थानीय तहले एक–दुई लाख रूपैयाँँमा भए ठीकै हुन्थ्यो तर प्रतिघण्टा दुई लाख वा चार लाख रूपैयाँँ खर्च लाग्ने भएपछि व्यहोर्न सकिने अवस्था देखिएन,’ एक स्थानीय तहका जनप्रतिनिधिले भन्नुभयो । 

सीमाक्षेत्रमा राजदूत बोलाएर थप सहायताको माग्ने प्रयास हाललाई रोकिएको छ । द्वितीय सचिव प्रशान्तकुमारले काठमाण्डौंदेखि धनगढीसम्म हवाइजहाज र धनगढीदेखि दार्चुलासम्म गाडीमा यात्रा गरेका छन् । 

राजदूतले दार्चुला भ्रमण गर्दा सदरमुकामनजिकै निर्माणाधीन नेपाल र भारत जोड्ने मोटरपुलको पनि अवलोकन भ्रमण गराउने तयारी थियो । तीनवटै विद्यालय भवन रहेका स्थानीय तहमा अहिले नेकपा एमालेका जनप्रतिनिधि छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू