उपमेयरका कारण मेयर बिरामी

उपमेयरका कारण मेयर बिरामी
सुन्नुहोस्

मलिन छ मेयरको अनुहार, निन्याउरो देखिन्छन् । त्यस्तै सानो कुचुक्क परेको कोठामा बसेर कार्यालयको काम गर्दैछन् । विपक्षी जनप्रतिनिधिहरुको झम्टाइले घायलझैँ देखिन्छन् । ठ्याक्कै बाघचालको गोटी जस्तो धेरै बाख्रा मिलेर एउटा बाघलाई घेराबन्दीमा पारिएको छ ।

कार्यपालिकाका अधिकांश सदस्य मिलेर कार्यकक्षमा तीन महिना अगाडिदेखि लगाइदिएको ताल्चा अझै खुलेको छैन । लामो समयदेखि कार्यपालिका बैठक नगरेको र हिउँदे नगरसभासमेत नभएको निहुँमा तालाबन्दी गरिएको हो । सँधैको लडाइँ र खेदाइले दिक्क मेयरसँग बैठक डाक्ने उत्साह र सामथ्र्य बाँकी देखिँदैन ।

२३ सदस्यीय कार्यपालिकामा १६ जना एमाले र उपमेयरसहित ४ जना काँग्रेस अनि मेयरसहित जम्मा तीनजना एकीकृत समाजवादीका छन् । एमाले–काँग्रेस नै मिलेर अँचेटेपछि कतिसम्म चेपिएका होलान् ? व्यथा बोकेर हिँड्नेले मात्रै त्यो पीडा अनुभूत गर्न सक्छ । यस्तो हालत बेहोर्न बाध्य भएका हुन् चितवनको राप्ति नगरपालिकाका मेयर शमशेर लामा ।

गत वर्षको असारमा सम्पन्न नगरसभा किर्ते भएको जनाउँदै विपक्षी सबै मिलेर उनीविरुद्ध अदालतमा मुद्दासमेत हालेका थिए । दोष नदेखिएपछि अदालतबाट सफाइ त पाए तर बैठक र सभाप्रतिको उत्साह अझ हराएको मेयरले बताए । कार्यपालिका बैठक नराखेको आरोपमा  अहिले फेरि उच्च अदालतमा अर्को मुद्दा छ । 

भनिँदैछ, शीर्ष नेतृत्व बलशाली नहुँदा पनि यता मेयर कमजोर साबित हुँदै गएका हुन् । द्वन्द्वकाबीच ज्यानकै खतरा देखिएपछि ६–७ महिनादेखि साथमा पिएसओ बोकेर हिँडिरहेका उनी खल्तीभरि औषधिका गोलीसमेत लिएर हिँड्नुपर्ने स्थितिमा पुगिसके । निरन्तरको तनावले स्वास्थ्य खराब हुँदै गइरहेको छ । युवावयमै दीर्घरोगको दबाइ खानुपर्ने हालतमा पुगेका छन् । ३७ वर्षको मान्छेले अहिले बिरामी वृद्धलेझैँ दिनहुँ एक मुठी औषधि खाँदैछन् । 

राजनीतिक तनावका कारण एन्जाइटीमा युज हुने औषधि मिनिल खाइरहेका उनलाई सुगर, प्रेसर, मुटु, कोलेस्टेरोललगायत अनेक रोगले गाँजेको छ । सुगरको मेटफर जी–१, मिनिल १० मुटुको धड्कन कन्ट्रोल गर्ने, कोलेस्टेरोलको टीजीआर, एटर १० जस्ता औषधि नियमित खाइरहेको बताइन्छ  । 

मेयर हुनुअघि यी कुनै रोग थिएन भन्छन् शमशेर । ‘मेयर भएको ५–६ महिनासम्म राम्रै थियो, त्यसपछि घेराबन्दी हुन थाल्यो, कहिले ताला लाउने, कहिले मुद्दा हाल्ने, कहिले मान्छे सुट गर्न पठाउने, यी विभिन्न तनावले गर्दा अहिले मैले औषधि खानुपर्ने भा’छ’, उनले भने, ‘थुक नै भित्रभित्रै खिचिएको छ, यो पनि एउटा समस्या हो हेर्नु न !’

तैपनि दौडधुप चाहिँ छ । त्यत्रो विशाल भवन बनाइएको नगरपालिका कार्यालयभित्र यो गर्मीमा एउटा भित्ते पंखामात्रै रहेको सानो कुचुक्क कोठामा बसेर भएपनि कामकाज गरिरहेको अवस्थामा भेटिन्छन् । अति भएपछि अहिले उनी गोजीमा उपमेयरले गलत गरेको प्रमाण नै बोकेर हिँडिरहेको पाइन्छ ।

‘नगरपालिकाको लेटरप्याडमा कि मेयर कि हाकिमले भन्दा अरुले सही गर्न पाउँदैन’ शमशेरले नगरपालिकाको लेटरप्याड प्रयोग गरी कृषियोग्य जग्गालाई आवासीय भनी उपमेयरले सिफारिस गरेको पत्र देखाए । ‘कृषिको जमिनलाई आवासीय भनेर सिफारिस गरेको रहेछ । मैले कार्यवाहक दिएपनि गर्न पाउँदैन । स्थानीय भूपरिषद्ले निर्णय गनुपर्छ’, मेयर भन्छन्, ‘जग्गा किनबेच भइसक्या रहेछ । मालपोत र नापीले रोक्नुपथ्र्यो, सेटिङमै भयो सबै ।’

यसैगरी, कार्यपालिकाले निर्णय गर्नुपर्नेमा नगरपालिकाको लेटरप्याड प्रयोग गरी उपमेयर आफैंले विपन्न चेपाङ लाभग्राही छनौट गरेर प्रदेश सहरी विकास कार्यालयमा पठाएको कागजात पनि मेयरसँग छ । न्यायिक समितिको फैसला लेख्ने लेटरप्याडमा उपमेयर देवेन्द्र लामाले माटोको सिफारिस लेखेको प्रतिलिपिसमेत पाइएको छ । यस सम्बन्धमा मेयर भन्छन्, ‘१० हजारको ट्याक्स बुझाउने, १० लाखको माटो लाने ।’ 

यस्तै, खरिद, आर्थिक सहयोग र अनुदान वडाबाट दिन नपाउने भएपनि २, ४ र ५ नं. का वडाअध्यक्षहरुले कानुन मिचेर आसेपासेलाई मोटो रकम बाँड्दै आएको र आफूले रोक्न खोजेपछि उनीहरु सबै मिलेर घेराबन्दीमा पारेको शमशेरको गुनासो छ । वडा नम्बर २ ले वडा कार्यालयको सटर भाडामा लगाएको छ । त्यो भाडाको रकम नगरपालिकामा जम्मा नगरी बहुमतको बलमा एमालेको पार्टी कार्यालयमा ’गोपाल स्मृति’का नाममा खर्च गरिँदै आएको उनले दाबी गरे । 

आफूले चाहेर पनि यो ‘कुकृत्य’ रोक्न नसकेको उनको गुनासो छ । भन्छन्, ‘सिटी हल बनेदेखि एमालेबाहेक अरुको कार्यक्रम भएकै छैन, त्यो पैसा पनि नगरपालिकामा आएको छैन । ८–१० हजार भाडा आउँछ ।’ वडा नम्बर ४ का वडाअध्यक्षले आफैं काजमा नियुक्ति गरेर मान्छे पालेको पनि शमशेरले बताएका छन् । 

‘हिजो चोरेर खानेबानी परेको थियो, त्यो नियन्त्रण गर्न खोज्दा असह्य भएको हो’ मेयरलाई सहयोग गरेको भनी कर्मचारीलाई पनि थर्काउने गरेको भन्दै शमशेरले थपे, ‘उपमेयरले हाकिमलाई चिठी लेखेर मेरो तोक आदेशविना कुनैपनि काम नगर्नु भनेर समेत लेख्या रैछ । मेयर बिदामा भएपनि मेयरले अधिकार नदिई लेख्न पाउँदैन ।’ 

तर, उनी कार्यालयमा हुँदाहुँदै यस्तो लेखेको बताए । ख्यालरहोस्, मेयरले कार्यपालिका बैठक नगरेको भन्दै हालैमात्र बहुमतको बलमा आफैं कार्यपालिका बैठक राखेर हाकिमलाई बर्खास्त गरेको निर्णय लेख्ने व्यक्ति हुन्, उपमेयर देवेन्द्र । जबकी प्रमुख प्रशासकीय अधिकृत फेरबदल गर्ने काम सामान्य प्रशासन मन्त्रालयको हो ।

‘मन्त्रालय–सन्त्रालयको मतलब छैन, मेरो कार्यपालिकाको निर्णय छ, तुरुन्त निक्लिहाल, नभएर लत्याएर निकाल्छु’ को शैलीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलाई केहीअघि फोनमा धम्क्याएको खबर जनआस्थाको गतांकमा छापिइसकेको छ । 

केही महिनाअघि उपमेयर देवेन्द्रको एकजना वडाअध्यक्षसँग हात हालाहालसमेत भएको थियो । उनैले एकजना कर्मचारीलाई पनि घाँटी समातेर अँठ्याउँदै घचेटेर झ्यालमा पुर्याएको विषय त्यहाँका कर्मचारीहरु अहिले पनि सुनाउँछन् । उपमेयरले नगरपालिकामा यस्तो दादागिरी देखाउँदै गर्दा उनले राजनीतिक सल्लाहकार नियुक्त गरेको एकजना व्यक्ति अराजक पृष्ठभूमिकै रहेको पनि बताइएको छ । घर राप्तीमै भएपनि काठमाडौंमा बस्ने ती व्यक्तिलाई मेयरलाई तर्साउन र निगरानीमा राख्नका लागि उपमेयरले सल्लाहकारमा राखेको दाबी गरिएको छ ।

‘राप्तीमा गलत भइरा’छ भने देवेन्द्र लामा टुलुटुलु हेरेर बस्न सक्दैन, नेतृत्व गर्ने अभिभावक मेयर सा’प हो । मेयरले राम्रो तरिकाले चलायो भने कसैले कुनै विरोध गर्नुपर्ने आवश्यकता नै रहन्न’ जनआस्थासँगको संवादमा गत हप्ता उपमेयरको यस्तो भनाइ आएको थियो । त्यसको काउन्टरमा उपमेयर देवेन्द्रका गल्तीका प्रमाण नै बोकेर प्रस्तुत भएका मेयर भन्छन्, ‘यसरी नै यो, यो विषयमा मेयरले गलत गर्यो, मैले टुुलुटुलु हेरेर बस्नुपर्यो भनी उपमेयर वा कोही–कसैले कुनै प्रमाण ल्याउन सक्छ भने म तुरुन्त पदबाटै राजीनामा दिन तयार छु ।’ 

अब उपमेयरले गलत गरेका यी तमाम प्रमाणसहित समाचार छापिएपछि यस सम्बन्धमा आफू अदालत पनि जाने मेयर लामाले बताएका छन् । उनी भन्छन्, ‘यो प्रमाण पनि बाहिरबाट पाएको मैले, मेयरले देख्छ भनेर नगरपालिकामा अफिस कपी (ओसी) राख्न नदिएको रहेछ ।’ 

टिप्पणीहरू