‘लु’ बाट जोगिन के गर्ने के नगर्ने ?

‘लु’ बाट जोगिन के गर्ने के नगर्ने ?

केही दिनयता देशभरको तापक्रम बढ्दो छ । जसका कारण मुलुकका धेरै स्थानमा तातो हावा अर्थात् 'लू'को जोखिम बढेको छ । यसैबीच सरकारले लुबाट जोगिन आम सर्वसाधारणलाई सतर्क गराएको छ । 

पछिल्लो केही समययता मुलुकभर तातो हावाको लहर चलेको जनाउँदै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले त्यसबाट जोगिन सचेत गराएको हो । केन्द्रले सूचना जारी गरेर लुबाट बच्न तातो हावा चलेका बेला घर बाहिर ननिस्कन र प्रसस्त चिसो पानी पिउन अनुरोध गरेको छ । 

घरबाहिर निस्कनै परे छाता ओढ्न, पातलो कपडाले टाउको छोप्न, हल्का कपडा लगाउन, धेरै पानी पिउन र चिसो पानीले नुहाउन केन्द्रको सुझाव छ । कागती-नरिवल पानी तथा फलफूलको रस पिउन, फलफूल काँक्रोलगायत घरमै बनाएको ताजा खानेकुरा खान पनि सुझाइएको छ । 

चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउन, दिउँसो सकभर घर बाहिर ननिस्कन, भान्सामा धेरै समय नबस्न वा बस्न परेमा प्रशस्त पानी पिउन, धुम्रपान तथा मदिरा सेवन नगर्न केन्द्रले सतर्क गराएको छ ।

मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्याधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउनेजस्ता समस्या देखिए तुरुन्त अस्पताल जान पनि भनिएको छ ।

टिप्पणीहरू