-अमर खत्री
दार्चुलाको शैल्यशिखर नगरपालिका ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई मार्ने धम्की दिएका छन् । डाँगाले बिष्टलाई उनको कार्यालयमै गएर फर्जी बिलको भुक्तानी नगरेको भन्दै धम्क्याएको बताइएको छ ।
अध्यक्ष डाँगाले लेखापाल बिष्टलाई फर्जी बिलको भुत्तानी नगरेको निहुँमा ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्डको अडियो सार्वजनिक भएको छ । अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको एक चेक पनि नकाटिस है विजय जी चेक काट्यो भने मारि दिउँला मा कस्सम भन्नलाछु, भोलिदेखि त लेखाको काम नगरिस, लेखामा आएर सल्लाह नगर्ने लेखामा आएर काम नगरि हुने हो र म मारि दिउँला’ जस्ता शब्द प्रयोग गरेका छन् ।
त्यस्तै, लेखापाल बिष्ट भुक्तानीका लागि आएको फायल नियमअनुसार नमिल्ने, फायलमा लिखित रुपमा मैले लेखेको भन्दै हाकिमसँग सल्लाह गर्र्न आग्रह गरेको सुनिन्छ । तर,अध्यक्ष डाँगा भन्छन्, ‘म किन गरुँ हाकिम सरसँग सल्लाह, म कसैलाई पेस गर्दैन, तपाईंको उपचार गर्छु अनी पेस गर्छु, तेरो कार्यालयमा वडा नम्बर ५ को अध्यक्षको ताल्चा लाग्छ । ’
तर, वडाध्यक्ष डाँगाले छोटो प्रतिक्रिया दिँदै अडियोमा त्यस्तो नभएको दाबी गरे । यता, लेखापाल बिष्टसँग फोन सम्पर्क गर्दा उनको मोबाइल अफ छ । अध्यक्ष डाँगा गत स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित हुन् ।