सम्भावित पर्यटकीय गन्तव्य चेर्दुङबाट सगरमाथा पनि छर्लङ्गै (फोटो फिचर)

सम्भावित पर्यटकीय गन्तव्य चेर्दुङबाट सगरमाथा पनि छर्लङ्गै (फोटो फिचर)
सुन्नुहोस्

बागमती प्रदेशको दोलखा जिल्लामा पर्यटनको प्रचुर सम्भावना देखिन्छ । काठमाडौंबाट झण्डै डेढ सय किलोमिटर दूरीमा रहेको दोलखा प्राकृतिक, सांस्कृतिक र धार्मिकस्थलले भरिपूर्ण छ । वसन्त ऋतुको आगमनसँगै नयाँ पालुवाहरु पलाउन थालेका छन् । घुम्न जाने सोच बनाएलाई दोलखा निकै राम्रो गन्तव्य बन्ने सम्भावना उत्तिकै छ । 

यहाँ हेर्न र घुम्नलायक स्थान धेरै छन् । कालिञ्चोक, भीमेश्वर, शैलुङ, गाईखुरा महादेवलगायतका स्थानले धेरैलाई आकर्षित गर्दछ । दोलखामा एउटा यस्तो स्थान छ, जसलाई नेपालको स्वीट्जरल्याण्ड पनि भनिन्छ । जिरीको शीर भएर उभिएको चेर्दुङ अति त्यहाँको अति सुन्दर ठाउँमध्ये एक हो ।  

समुन्द्री सतहबाट करिब ३ हजार ७ सय मीटरको उचाइमा रहेको चेर्दुङ रमणीयका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पनि हो । खुल्ला आकाशमुनि डाँडाको सुन्दर पाखामा महादेवको शीला अवस्थित छ । वरपर भक्तजनले चढाएको त्रिशुल नै त्रिशुल छ । खादाले शीलालाई सिँगारिएको छ । वरिपरि लुङ्दर टाँगिएको छ । 

चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्ने गर्दछ । शीलामा पूजा गर्नाले रोग नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास छ । मौसम सफा भएको बेलामा चेर्दुङ डाँडाबाट सगरमाथाको चुचुरोसमेत देख्न सकिन्छ । 

त्यहाँबाट गौरीशंकर र नुम्बुर हिमाल आँखैअगाडि ठोक्किएको भान हुन्छ । डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोलक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायत क्षेत्रको दृश्य पनि देखिन्छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिने बताइएको छ ।

टिप्पणीहरू