वीरगन्जबाट समातिए बैंकका हाकिम

वीरगन्जबाट समातिए बैंकका हाकिम
सुन्नुहोस्

एक जना नेपालीले विदेशमा दुःख गरेर कमाएको रकम खुसुखुसु झिकेर मासिदिने  राष्ट्रिय वाणिज्य बैंकका एक जना सहायक प्रबन्धक समातिएका छन्।   लामो समयदेखि ती ग्राहकले विदेशमा कमाएको रकम राष्ट्रिय वाणिज्य बैंकको आफ्नो खातामा जम्मा गर्दै आएका थिए । 

तर,यता खाताबाट कसैलाई पनि चेक लेखेर नदिएको,एटिएम पनि नचलाएको अवस्थामा पैसा स्वाट्टै घटेपछि विदेशमा रहेका खातावालाले आफन्तमार्फत् बैंकमा हारगुहार गरे । सरकारी बैंकका अधिकारीहरुले शुरुमा यो कुरा पत्याएनन् । सरकारी बैंक हुनुको विश्वासमा वाणिज्यमा खाता खोलेका बिचरा ती ग्राहक खाताबाट पैसा हराएपछि बिलखबन्दमा पर्नु स्वाभाविकै पनि हो । 

ग्राहकको उजुरीपछि बैंकले बल्ल अनुसन्धान थालेको छ । वीरगञ्जको पोखरियास्थित शाखाबाट ती ग्राहकको खाताको रकम आइपीएस गरेर रकमान्तर गरिएको तथ्य खुलेसङ्गै राष्ट्रिय वाणिज्य बैंकको हेड अफिसबाट एउटा छानबिन टोली त्यहाँ गएको थियो । सहायक प्रबन्धक रोहितकुमार ओझाले उक्त हर्कत गरेको पुष्टि भएलगत्तै बैंकले आवश्यक कानुनी कारबाहीको निम्ति प्रहरीको सिआइबीलाई खबर गरेको बुझिएको छ । 

"ग्राहकको खाताबाट रकम झिकेसँगै साइबर क्राइम पनि जोडिएकाले बैंकले छानबिनका लागि सिआइबीलाई अनुरोध गरेको हो"

यसवारे एकछिनअगाडि सोध्दा बैंकका सिइओ किरणकुमार श्रेष्ठले भने, ‘पोखरिया शाखाबाट खाताको रकम आइपीएसमार्फत रकमान्तर गरेको पाइयो । ती कर्मचारीले स्थानीय पसलबाट सामान किन्ने क्रममा पनि सोही खाताको रकम प्रयोग गरेको देखिन आएको छ । ग्राहकको खाताबाट रकम झिकेसँगै साइबर क्राइम पनि जोडिएकाले बैंकले छानबिनका लागि सिआइबीलाई अनुरोध गरेको हो ।’ 

आफूले बैंकको जिम्मा लिएदेखि नै संस्थाभित्र दण्डहीनतालाई शून्य सहनशीलताको सिद्धान्तमा अघि बढाएको किरणको दाबी छ । त्यसैको परिणाम बैंकभित्र एकाधबाहेक अनुशासनहीन गतिविधिमा कमी आएको उनले बताए ।

वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीन अर्ब ६५ करोड नाफा कमाएको छ । यो हिसाबाले असार मसान्तसम्ममा नाफा ८ अर्ब रुपैयाँ नाघ्ने देखिन्छ । नाफाको हिसाबले वाणिज्य बैंक अन्य बैंकहरुको तुलनामा पुस मसान्तसम्म दोस्रो स्थानमा छ ।

टिप्पणीहरू