माफियाहरूको डरमा गुज्रिरहेको त्यो मुलुक

माफियाहरूको डरमा गुज्रिरहेको त्यो मुलुक

सन् २०११ देखि ३४ वर्षको निम्ति जेलजीवन बिताइरहेका एक कुख्यात माफिया नाइके आडोल्फो मार्सियास उर्फ फितो जनवरी ७  का दिन जेल तोडेर भागेका थिए । उनलाई छिट्टै अर्को थप सुरक्षित कारागारमा सार्ने तयारी थियो । भोलिपल्टै राष्ट्रपति ड्यानियल नोबोआले इक्वेडरमा ६० दिनका लागि आपतकाल घोषणा गरे । यो घोषणा गर्दा लागुऔषध ओसारपसारका दोषी, हत्या र संगठित अपराधीले सरकारलाई के गर्ने भनेर निर्देशन दिने दिन अब सकिएको बताएका थिए । उनले २० वटा लागुपदार्थ तस्करी गिरोहलाई आतंकवादी समूहको रूपमा लिँदै आन्तरिक सशस्त्र द्वन्द्वको भएको घोषणासमेत  गरेका थिए । यस्ता संगठित अपराधीहरूविरुद्ध सैन्य कारबाहीको अधिकारसमेत दिइएपछि देशका विभन्न क्षेत्रमा भिडन्त हुँदा अनेकन प्रहरी तथा सर्वसाधारणको अपहरण तथा हत्या भएका छन् ।

जनवरी ९ का दिन तेह्र बन्दुकधारी इक्वेडरको सबैभन्दा ठूलो शहर, ग्वायाकिलस्थित सार्वजनिक टिभी च्यानल टीसी टेलिभिजनको स्टुडियोमा प्रवेश गरी पत्रकार र अन्य कर्मचारीलाई केही समय बन्धक बनाएका थिए । केही समयभित्रै सेनाले सबै आक्रमणकारीलाई गिरफ्तार गर्न सफल भयो । उनीहरू माथि मुद्दा लगाउने तयारी थियो । तर, यस आक्रमणको अनुसन्धान गरिरहेका एक अभियोजकलाई इक्वेडरको सबैभन्दा खतरनाक शहर ग्वायाकिलमा जनवरी १७ मा गोली हानी हत्या गरियो । ‘संगठित अपराध समूहहरू, अपराधीहरू, आतंकवादीहरूले समाजप्रतिको हाम्रो प्रतिबद्धतालाई रोक्न सक्दैनन्,’ भनेर सामाजिक सञ्जाल एक्समा लेखेको केही दिनपछाडि नै अभियोजक सेजर सुआरेजलाई गाडी चलाइरहेको अवस्थामा बम प्रहार गरी मारिएको थियो । उनले विगतमा अन्य उच्च–प्रोफाइल घटनाको अनुसन्धान गरेका थिए । 

इक्वेडरमा पूर्वराष्ट्रपति गुइलेर्मो लासोले करिब साढे दुई वर्षमै सदन भंग गरेपछि गत अक्टोबरको १५ मा पहिलो चरणको निर्वाचन भयो । त्यसमा क्रान्तिकारी नागरिक अभियानको लुइजा गोञ्जालेजले ३३ प्रतिशत मत ल्याएर प्रथम भइन् तर निर्वाचित भने हुन् सकिनन् तर नोभेम्बरको दोस्रो चरण निर्वाचनमा भने पहिला २२ प्रतिशत मत पाएका ३५ वर्षका युवा ड्यानियल नोवोबाले ५२ प्रतिशत मत ल्याएर विजयी भए । उनी देशको अहिलेसम्मकै कम उमेरका राष्ट्रपति हुन् । निर्वाचन अगाडि अगष्ट ९ मा एक उम्मेदवारको गोली हानी हत्या गरिएको थियो भने ६ जना पहिलो चरणबाट बाहिरिएका थिए । व्यापारिक घरानाका यी युवा दुर्ई वर्षअगाडि मात्र पहिलो पटक सांसद बनेर राजनीतिमा प्रवेश गरेका थिए । उनका व्यापारी पिता भने पाँच पटकसम्म उम्मेदवार बनेर पनि राष्ट्रपति बन्न सकेका थिएनन् । 

मानव अधिकारजस्तै प्रकृति अधिकारलाई संविधानमै व्यवस्था गर्ने पहिलो र एक मात्र देश इक्वेडर हो । सन् २००८ मा बनेको नयाँ संविधानको प्रस्तावनामा नै ‘प्रकृतिको उत्सव मनाउँदै, पाचा मामा (पृथ्वी माता), जसको हामी एक भाग हौं र जुन हाम्रो अस्तित्वको लागि महत्त्वपूर्ण छ’ भनेर उल्लेख गरिएको छ । यो संसार मानिसका लागि मात्र निर्माण भएको हो र जीवित प्राणी मात्र हैन प्रकृतिमा रहेका सम्पूर्ण वस्तुको पनि यो पृथ्वीमा समान हक छ भन्ने मान्यता नै प्रकृति अधिकार हो । प्रकृतिको प्रयोग मात्र हैन यसको संरक्षण र विकास राज्यको कर्तव्य हो भन्ने मान्यतासाथ संविधानको सातौँ परिच्छेदअन्तर्गत ७१ देखि ७४ धारामा प्रकृतिको अधिकारबारे सविस्तार उल्लेख छ । 

इक्वेडर दक्षिण पश्चिमी अमेरिकामा अवस्थित छ । उत्तरमा कोलम्बिया, पूर्व र दक्षिणमा पेरु र पश्चिममा प्रशान्त महासागरसँग जोडिएको छ । ब्राजिलसँग सीमा नछुने दुर्ई दक्षिण अमेरिकी देशमध्ये यो एक हो । करिब एक करोड ७५ लाख जनसंख्या भएको यो देशको क्षेत्रफल लगभग दुर्ई लाख ८४ हजार वर्ग माइल छ । 

यो बहुदलीय प्रणालीसहित एक राष्ट्रपतिय गणतन्त्र हो । राष्ट्रपतिले राज्य र सरकार दुवै प्रमुखको रूपमा काम गर्छन् । राष्ट्रिय सभा एक सदनात्मक व्यवस्थापिका हो । इक्वेडरको राजनीति कति अस्थिर छ भन्ने प्रमाण त्यहाँको सर्व शक्तिमान राष्ट्रपति पदमा हुने फेरबदल हेर्दा नै काफी छ । सन् १८३० देखि अहिलेसम्म चारवर्षे कार्यकालको हिसाबले ४८ जना राष्ट्रपति हुुनुपर्नेमा ९१ पटक नेतृत्व परिवर्तन भयो । ४७ पटक त सय दिनभन्दा कम समयमा सरकार भंग भयो । त्यसमा पनि २, ४, ७, १०, १५, २०, २१, २२, दिनको लागि मात्र पनि सरकार बनेको थियो । यसबीच पाँच पटक कू भएर करिब ११ वर्ष भने सैनिक शासन चल्यो । पूरा कार्यकालचाहिँ सन् १९८४ देखि १९९६ सम्म तीन जना फेरियो ।

त्यस्तै २००७ देखि १७ सम्म एकै जनाले शासन चलाए । अहिलेसम्म सन् १९९७ मा एक मात्र महिला राष्ट्रपति बन्ने अवसर पाएको रोसालिया आर्तेगाले दुई दिनमै पद छाड्नुप¥यो । वंशजको आधारमा निकै कम मात्र नेतृत्वमा आएको देखिन्छ भने अहिलेको राष्ट्रपतिकै पछिल्लो नाम मिल्ने डियगो नोबोआ सन् १८५१ मा पहिला ७९ र लगत्तै १९९ दिनको लागि राष्ट्रपति बनेका थिए । केहीले भने पटक पटक नेतृत्व गर्ने सौभाग्य पनि पाएका छन् । 

राजधानी क्विटोनजिकै विश्वकै मध्यभाग मानिने मिताड डेल मुन्डो स्मारक रहेको छ । सन् १७३६ मा चाल्र्स–मारी डे ला कण्डामाइनले प्रविधिको सहयोगबिना अन्दाज गरेको यो ठाउँ वास्तविक स्थानभन्दा २४० मीटरको दूरीमा पर्छ । अहिले यी दुवै स्थान अति ब्यस्त पर्यटकीय स्थल भएका छन्् । भूमध्य रेखा अर्थात् इक्वेटरलाई स्पेनिस भाषामा इक्वेडर भनिने हुँदा देशको नामकरण नै भौगोलिक विशेषताको आधारमा राखिएको हो । जुन विश्वका अन्य कुनै देशले पनि राखेका छैनन् । संसारको अग्लो हिमाल सगरमाथा भएकाले अन्तरीक्षको सबैभन्दा नजिकको स्थान यही हुनुपर्ने हाम्रो अनुमान भयो भने त्यो गलत सावित हुनेछ । यस देशको सबैभन्दा अग्लो हिमाल माउन्ट चिम्बोराजोबाट अन्तरिक्ष सबभन्दा नजिक पर्ने भएकाले संसारकै अग्लो भूभाग यही हो भनेर मान्नेहरू पनि छन् । अर्थात् यो अन्तरिक्षबाट सबभन्दा नजिकको देश हो । 

जनसंख्या र क्षेत्रफलको हिसाबले संसारका एक सय ९३ मध्ये ७२ औँ र ७३ औँ स्थानमा रहेको यो देशले वार्षिक करिब ६६ लाख मिलियन टन केरा उत्पादन गर्छ । यो भारत, चीन, इण्डोनेशिया र ब्राजिल पछाडि विश्वको पाँचौँ बढी केरा उत्पादन गर्ने देश हो । इक्वेडर विश्वमा उच्च गुणस्तरको चकलेट निर्माण गर्ने कोको उत्पादकको रूपमा पनि चिनिन्छ । यो सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक हो । तर यहाँका मानिसले वार्षिक तीनदेखि आठ सय ग्राम मात्र चकलेट खाने तथ्यांक छ जबकि जर्मनीजस्ता देशले प्रतिव्यक्ति ९ किलो खपत गर्छन् । पनामा टोपीको रूपमा विश्वविख्यात परालको टोपीहरू इक्वेडरमै बुनिन्छ । शुरुमा नहर मजदुरलाई बेच्नका लागि पनामा लगिएको यो टोपी पछि अन्य पश्चिमीहरू बीच पनि प्रख्यात भएको हो । 

यहाँको राष्ट्रिय रूख सिन्कोनाले क्विनाइन उत्पादन गर्छ जुन संसारमा मलेरियाको उपचार गर्न औषधिको रूपमा पहिलो पटक प्रयोग गरिएको थियो । यहाँको युनेस्को–सूचीबद्ध सुमाको बायोस्फियर रिजर्भमा दिनकै लगभग दुर्ई सेन्टिमिटर अर्थात् वर्षको २० मीटरसम्म ‘हिँड्न’ सक्ने पाल्म रूख छन् । यी रूखले नयाँ जरा बनाउँछन् र राम्रो सूर्यको प्रकाश भएतिर सर्दै जान्छन् । यहाँ २५ हजारभन्दा बढी प्रजातिका बोट बिरुवा पाइन्छन् । जसमध्ये चार हजारभन्दा बढी त अर्किड फूल नै छन् । त्यस्तै, सोह्र सयभन्दा बढी प्रजातिका चरा चुरुंगी पाइन्छन् । 

मनमोहक साँस्कृतिक, ऐतिहासिक र वातावरणीय क्षेत्रले भरिपूर्ण यस देशका राजधानी क्विटो शहर, सान्ता आना डे लोस रियोस डे, कुएन्काको ऐतिहासिक केन्द्र, खापाक नन र एण्डियनको बाटो, गालापागोस टापु र सांगे राष्ट्रिय निकुञ्जलाई युनेस्कोद्वारा आधिकारिक रूपमा विशेष स्थान घोषणा गरिएको छ । यसमध्ये संसारकै नम्बर एकमा गालापागोस टापु र दोश्रोमा क्विटो शहर पर्छन् । क्विटो, इक्वेडरको राजधानी शहर, समुद्र सतहबाट २,८५० मीटरमा छ, जुन विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी हो । इक्वेडरको झण्डा पहेँलो, नीलो र रातो रंगका तीनवटा स्ट्रिप मिलेर बनेको छ जसको बीचमा हतियारको कोट छ । पहेंलो रङले घाम, अन्न र खनिज सम्पदालाई प्रतिनिधित्व गर्छ । नीलो आकाश, समुद्र र नदी, अनि रातोले स्वतन्त्रता र न्यायको संघर्षमा बगेको देशभक्तको रगतलाई प्रतिनिधित्व गर्छ । स्पेनिस आधिकारिक भाषा भए पनि कम्तीमा अन्य १४ भाषाले सरकारी मान्यता पाएका छन् भने १३ जनजातिका छुट्टै भाषा छन् । 

इक्वेडरको सुरक्षा कोरोनाभाइरस महामारीपछि झन् बिग्रिएको छ । यसले राष्ट्रको अर्थतन्त्रलाई झन् बिगारेको छ । ११८ वर्षदेखि प्रचलनमा आएको सुकरले चर्को मुद्रास्फीति भोगेपछि देशले सन् २००० मा अमेरिकी डलरलाई नै आधिकारिक मुद्रा घोषणा गरेको थियो । वास्तवमा, इक्वेडर विश्वको १७ मेगाडाइभर्स अर्थात् प्रतिवर्ग किलोमिटरमा सबैभन्दा बढी जैविक विविधता पाइने देशमध्ये एक हो । 

सन् २०२३ मा अघिल्लो वर्षभन्दा लगभग दोब्बर ८००८ व्यक्तिको हत्या भएको थियो । कोकिन तस्करी गिरोहको बढ्दो पहुँचले दक्षिण अमेरिकाको ठूलो भागलाई अस्थिर बनाएको छ । जेलभित्र परेका व्यक्ति आ–आफ्नो गिरोहको शक्ति विस्तार गर्नमा सक्रिय छन् । नियमित रूपमा जेलभित्रै विभिन्न गिरोहबीच भिडन्त हुने गरेका छन् । सन् २०२१ यता मात्र ५०० भन्दा बढी कैदी मारिएका छन् । चोनेरोस आपराधिक गिरोहका नेता अडोल्फो मासियास जेलबाट बेपत्ता भएपछि स्थिति झन् भयानक हुन गएको हो । त्यसपछिका घटनामा धेरैले ज्यान गुमाइसकेका छन् भने दुई हजारभन्दा बढीलाई पक्राउ गरिसकिएको छ । यति हुँदाहँुदै पनि पर्यटकका लागि सन् २०१४÷१५ मा उत्कृष्ट देशको रूपमा मतदान गरिएको थियो । सन् २०१९ मा ८ औं स्थानमा थियो भने अहिले शीर्ष १० देशमा पर्छ । 

केही वर्षअगाडिसम्म कोकिन तस्करीका लागि विश्वप्रसिद्ध दुई देश पेरु र कोलम्बियाभन्दा केही शान्त यस देशलाई अहिले तस्करी, हत्या, हिंसा र विशेषतः राजनीतिक अस्थिरताले गाँजेको छ । विगतमा केही समय यिनै तस्करले राजनीतिक लेपनसहित आफूलाई वामपन्थी विचारधाराको बताए पनि व्यवहारमा त्यस्तो नभएकाले त्यो आन्दोलनलाई भने निस्तेज पार्न सफल भएको थियो । अहिले बढ्दो निराशाबीच परिवर्तनको आशामा अनुभव नभएका एक युवालाई नेतृत्व सुम्पेका छन् । हालसालै रसियालाई छाडेर अमेरिकासँग हतियार खरिद गर्ने निर्णय गरे पछि रसियाले त्यहाँबाट केरा र अन्य फलफूल नकिनेर भारतसँग लिइसकेको छ् । यसबाट ठूलो नोक्सानी हुने भएकाले अमेरिकासँग सम्बन्धविच्छेद गर्नुपर्ने अवस्था आउन सक्छ । यी र यस्ता अन्तर्राष्ट्रिय राजनीतिलाई यस क्षेत्रमा उनले कसरी प्रभावकारी ढंगले प्रयोग गर्ने र आन्तरिक रूपमा सदैव तस्करको दबदबामा डराइरहन बाध्य इक्वेडरका जनतालाई सान्त्वना प्रदान गर्ने हो त्यो हेर्न भने केही समय प्रतीक्षा नै गर्नुपर्ने हुन्छ । 
 

टिप्पणीहरू