बिनोद चौधरीले दयाहाङ्ग राईलाई व्यंग्य हानेपछि ..

बिनोद चौधरीले दयाहाङ्ग राईलाई व्यंग्य हानेपछि ..

विवादास्पद व्यवसायी विनोद चौधरीले आफ्नो एक वर्षको कमाइभन्दा एउटा फिल्मको कमाई बढी हुने भन्दै कलाकार दयाहाङ राईलाई व्यंग्य गरेका छन् । उनले आज फेसबुकमा २८ सेकेण्डको भिडियो शेयर गर्दै युवा पुस्ताका चर्चित कलाकार दयाहाङलाई कटाक्ष गरेका हुन् । 

भिडियोमा कलाकार दयाहाङ र माओत्से गुरुङको संवाद सुन्न सकिन्छ:  

दयाहाङ भन्छन्, 'त्यो सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि ! यसले मलाई मासिक चार लाखको अफर गर्‍या थ्यो ।'

'तैंले किन खाइनस् त ?', माओत्से प्रश्न गर्छन् । 

फेरि दयाहाङ जवाफ दिन्छन्, 'चौधरी आफैं धनी छ,धनीमाथि धनी के बनाऊँ ?'

उक्त भिडियो चौधरीले 'डिग्री माइला' चलचित्रको ट्रेलरबाट काटेर साभार गरेको बताइन्छ । 

यो भिडियो शेयर गर्दै चौधरीले दयाहाङलाई भनेका छन्, 'मैले एक बर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी,हैट।' 

त्यसो त,चौधरी नेपालका कर कम तिर्ने तर धन धेरै भएक पात्र हुन् । उनको सम्पति १.८ बिलियन डलर छ । जुन नेपालीमा सरदर २ खर्ब ४० अर्ब हुन आउँछ । फोर्ब्सको अनुसार हिसाब गर्ने हो भने चौधरीको दैनिक आम्दानी नै सरदर ८ देखि १० करोड देखिन्छ । तर उनै चौधरीले सिजी ग्रुपको प्रचार गर्ने बहानामा कलाकारलाई अपाच्य व्यंग्य गरेको दर्शकहरुको टिप्पणी छ । 

विवेक श्रेष्ठले लेखेका छन्, 'यसरी सटायर हान्नुको सट्टा धन्यवाद दिनुहोस् विनोध चौधरी सर ।' 

केहीले भने व्यवसायी चौधरी सरकारी जग्गा हडपेर धनी भएको जिकिर गरेका छन् । रामकुमार भुजेलले लेखेका छन्, 'चाउचाउले धनी भएको होइन,काङ्ग्रेसको छत्रछायामा सरकारी जग्गा हडपेर धनी भएको हो ।' 

भावना मल्ल बस्नेतले भने सिजी ग्रूपको खाध्य प्रोडक्टले जनतालाई ठग्दै गएको बताएकी छन् । उनी भन्छिन्, 'चाउचाउ अल्लि बढि हाल्नुहोला ।  पहिले दुई जनालाई हुने,अहिले एक जनालाई नि हुन्न ।'

सौरभ अधिकारीले भने आफ्नो व्यवसाय चलाउनको लागि सस्तो स्टन्टबाजी बन्द गर्न सुझाव दिएका छन् । उनी भन्छन्, 'चुप्,बाँसवारी काण्ड ।' 

चित्राङ्ग आलेले चौधरीलाई कर ठगेको उल्लेख गर्दै कलाकार दयाहाङसँग तुलना गर्नै नमिल्ने बताएका छन् । उनी भन्छन्, ‘निर्माता र कलाकारले ट्याक्स तिर्छन् बुढा, तिमी त ट्याक्स ठगेर धनी भयौ ।’ 

अशोक चाम्लिङ राईले पनि कलाकार दयाहाङलाई हिरा र चौधरीलाई धमिराको संज्ञा दिएका छन् । लेखेका छन्, ‘जनतालाई थाहा भइसक्यो तिम्रा नियतिहरु, कसरी देशलाई लुटेर कालोधन थुपारेको छौ भन्ने कुराहरु । दयाहाङ भनेको देशको हिरा हो, तर तिमी देशको धमिरा हौ ।’

स्मरण रहोस्, चौधरी लामो समयदेखि कर छली र सार्वजनिक जग्गा अतिक्रमण लगायतका विषयमा विवादमा पर्दै आएका छन् । गत माघमा पनि उनको चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको पुष्टि भएको थियो । उक्त जग्गा हिनामिना प्रकरणमा विनोद चौधरी मुख्य योजनाकार देखिए पनि माघ १८ गते उनका भाइ अरुण चौधरी मात्र पक्राउ परेका थिए । 

अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा छुट्टै अनुसन्धान गरिरहेको बताइन्छ ।

टिप्पणीहरू