बेलायतमा गज्जबका पात्रको बिजय

बेलायतमा गज्जबका पात्रको बिजय

गत बिहीबार सम्पन्न रोचडेल क्षेत्रको उपनिर्वाचन परिणामले बेलायती राजनीतिमा तहल्का मच्चिएको छ । यसअगाडिका प्रायः सबै उपनिर्वाचनमा जित हात पारेको र अब सरकार बनाउने सपना बोकेको लेबर पार्टीको शर्मनाक हार भएको छ । सन् १९५८ देखि यता सत्तारुढ टोरी पार्टीले एक पटक पनि जित्न सकेको थिएन । सन् २०१७ देखि निरन्तर सांसद रहेका मजदुर नेता टोनी लोयडको जनवरी १७ मा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । चार जना स्वतन्त्रसहित सबै मुख्य पार्टी र एउटा स्थानीय पार्टीसहित ११ जनाको उम्मेदवारी परेको यस निर्वाचनमा सन् २०१९ मा गठित वर्कर्स पार्टी अफ ब्रिटेनका प्रमुख जर्ज ग्यालोवे १२३३५ मत ल्याएर विजयी बने ।

अब वेस्टमिनिष्टरमा उनी एक मात्र वर्कर्स पार्टीका सांसद हुनेछन् । उनलाई पछ्याउने स्वतन्त्र उम्मेदवारले ६ हजार कम मत पाउँदा तेस्रोमा टोरी, चौथोमा लेबर र पाँचाैँमा लिब डेम आए । पार्टी परित्याग गरी रिफर्म तिर लागेका पूर्व लेबर सांसद साइमन डयान्जुक भने छैटौँ भए । बाँकीले दुई सयदेखि पाँच सय मत प्राप्त गरेका छन् । लेबरका उम्मेदवार अजहर अलीको जिउजहरूप्रतिको विवादास्पद वक्तव्यको कारण पार्टीले उनलाई कारबाही गरेको थियो । पार्टीले बदलामा अर्को उम्मेदवार पठाउन सक्ने समय थिएन र उनको पक्षमा मत पनि मागिएन । यो हार पार्टीको भविष्यका लागि महँगो सावित हुनसक्ने सम्भावना छ । 

अनपेक्षित जित हासिल गर्ने सांसद जर्ज ग्यालोवे बेलायती राजनीतिमा अपरिचित व्यक्ति भने हैनन् । उनी सन् २००३ मा लेबर पार्टीबाट निश्कासन भएपछि कहिले स्वतन्त्र त कहिले दलमार्फत पनि पटक–पटक सांसद भइसकेका छन् । अहिले संसदमा उनको पुनरागमनपछि नयाँ ढंगले राजनीतिक आकलन गर्न थालिएको छ । जित घोषणापछि ग्यालोवेले लेबर मुख्य नेताको नाम लिँदै यो जित गाजाको लागि हो भनेको सबैले अर्थपूर्ण ढंगले लिएका छन् । उनले जहिले पनि अमेरिकी नेतृत्वमा हुने लडाइँको विरोध गर्दै आएका छन् । अहिले पनि यदि बाइडेनले साँच्चिकै चाहेको भए इजरायलले हमासको नाममा गाजालाई बर्बाद गर्न सक्ने थिएन भन्ने उनको विश्वास छ । उनले एक्काईसौँ शताब्दीमा पनि मानवजातिले यति ठूलो नरसंहार भोग्नुको दोषी यिनै ठूला साम्राज्यवादी नेता हुन् भन्ने गरेका छन् ।

उनी पार्टीभित्र पनि सदैव विद्राेही रहे । आफ्नै सरकारले अगाडि सारेकाे धेरै प्रस्तावविरूद्ध मतदान गर्ने उनी आफुलाई फरक ढंगले प्रस्तुत गर्ने सधैँभरि कालाे ठूलाे ह्याट लगाउने गर्छन् । बेला बखत चर्चिलले जस्ताे सिगार तानेकाे पनि देखिन्छ ।

सन् २००३ मा टोनी ब्लेयर नेतृत्वको टेबोर सरकार इराक युद्धमा संलग्न भयो । त्यसलाई लिएर ग्यालावेले सरकारले युद्धमा जाने कारण सम्बन्धमा जनतालाई भ्रमित गरेको आरोप लगाउँदै यस नीतिको डटेर विरोध गर्न थाले । यस कारणले गर्दा पार्टीसँग दूरी बढ्दै गयो । अन्ततः त्यही वर्ष उनलाई निश्कासनसमेत गरियो । उनीमाथि सद्दाम हुसेनसँग नजिक रहेको र उनैको स्वार्थअनुसार बेलायती राजनीतिमा भूमिका खेलिरहेको आरोप लागेको थियो । उनले सन् १९९४ मा इराक पुगेर सार्वजनिक रूपमै सद्दामलाई म तिम्रो साहस, तिम्रो शक्ति, तिम्रो अथकताका निम्ति सलाम गर्छु भनेका थिए । त्यही युद्धको बेला डेली टेलिग्राफले बगदादमा फेला परेका कागजातको हवाला दिँदै ग्यालोवेले आफ्नो पुरानो साथी सद्दाम हुसैनबाट वार्षिक तीन लाख पचास हजार पाउण्ड प्राप्त गरेको खबर छाप्यो । यसबाट आफूमाथि मानहानी भएको भन्दै उनी अदालत पुगे । अदालतले पत्रिकालाई एक लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश दियो । 

लेबर पार्टीसँग सम्बन्धविच्छेद भएपछि पनि उनी राजनीतिमा सक्रिय रहिरहे । सन् २००४ मा रेस्पेक्ट पार्टीमा प्रवेश गरे । सन् २०१३ सम्म सोही पार्टीको मुख्य नेतृत्वमा थिए । सन् २००५ को आमनिर्वाचनमा बेथनल ग्रिन र बोकोबाट निर्वाचित भए । तर, सन् २०१० को निर्वाचनमा भने हार खान पर्‍यो । सन् २०१२ मा ब्राडफोर्ड वेस्टमा सम्पन्न उपनिर्वाचनमा जित हासिल गरेर पुनः संसदमा प्रवेश गरे । 

त्यही क्षेत्रबाट तीन वर्षपछि भएको आम निर्वाचनमा भने पराजित भए । त्यसपछि सन् २०१७ र १९ का दुई निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिए तर जितेनन् । सन् २०१९ मा फेरि अर्को पार्टी स्थापना गरेर राजनीतिमै सक्रिय रहे । सन् २०२१ मा ब्याटले र स्पेनमा भएको निर्वाचनमा तेश्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । उनले जितेका प्रायः सबै चुनावमा लेबर पार्टीका उम्मेदवारले दोस्रो स्थान पाएका थिए । ६९ वर्षीय ग्यालोवेले चारमध्ये तीन श्रीमतीका तर्फबाट ६ मध्ये कान्छो छोरा तीन वर्षको मात्र भएको र पाँच जना अझै पनि विद्यालयमै रहेकाले आफूले अन्तिम पटक पूर्ण समयको लागि सांसद बन्ने इच्छा जाहेर गरेका छन् । आफूलाई फुटबल खेलाडी रोनाल्डोसँग तुलना गर्दै रोचडेलका जनतासँग सम्झौता गरी आमनिर्वाचनमा समेत जित हासिल गर्ने बताएका छन् ।

स्कटल्याण्डको एक प्रमुख शहर डण्डीमा सन् १९५४ को अगस्त १६ मा जन्मेका ग्यालोवेले १३ वर्षको उमेरदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् । उनले लेबर पार्टी योङ सोसियलिस्टमा प्रवेश गर्दा उमेर ढाँटेर १५ वर्ष भनेका थिए । केही समयपछि डण्डी लेबर पार्टीको सचिव बने । २७ वर्षको उमेरमा त स्कटिस लेबर पार्टीको अध्यक्ष नै बने । जुन अहिलेसम्मकै कान्छो उमेर हो । उनका बाउ जर्ज ग्यालोवे सिनियर स्कटिस ट्रेड युनियनवादी थिए । आमा शिला ओ’रेली, आइरिस मूलकी हुन् । बाउ–आमा दुवै अति मिहिनेती र राष्ट्रवादी थिए । आमा पहिला सरसफाइ गर्ने क्लिनर र पछि कारखानामा मजदुर रहिन । केही समय उनले शिक्षकको रूपमा पनि काम गरेका थिए । स्वभावतः आमाले आइरिश आन्दोलनलाई समर्थन गर्थिन् । बाबु–आमा दुवै बेलायती साम्राज्यवादी नीतिको सदैव विरोधी रहे । बेलाबखत कुनै विषयमा आमा बुबाको विवाद पर्दा उनी सधैँ आमाको पक्षमा लाग्थे । त्यति बेलाको लेबर पार्टीका प्रायः सदस्यझैँ उनीहरूको परिवार पनि माक्र्सवादी विचारबाट धेरै प्रभावित थियो । 

जर्ज पहिलो पटक सन् १९८७ को आम चुनावमा लेबर पार्टीका लागि ग्लास्गो हिलहेड क्षेत्रबाट सदनमा प्रवेश गरेका हुन् । उनले वरिष्ठ राजनीतिज्ञ सोसल डेमोक्र्याटिक पार्टीका तात्कालीन नेता रोय जेन्किन्सलाई पराजित गरेका थिए । उनी त्यसअघि ह्यारोल्ड विल्सन र जिम कालाघनको नेतृत्वमा लेबर पार्टीका गृहमन्त्रीसमेत थिए । सांसद बन्नुअगाडि नोभेम्बर १९८३ देखि १९८७ सम्म, विश्वव्यापी गरिबीविरुद्ध अभियान चलाउने एक बेलायती परोपकारी संस्था ‘वार अन वान्ट’को महासचिव रहे । निर्वाचित भएको केही समयपछि ग्रिसको माइकोनोसमा सम्पन्न एउटा सम्मेलनबारे सोधिएको प्रश्नमा हो, मैले त्यहाँ थुप्रै मानिस भेटेँ त्यसमध्ये बढी महिला थिए । केहीसँग सहबास पनि गरेँ भनेका थिए । यो जवाफको कारण सन् १९७९ मा विवाह गरेको पहिलो श्रीमती एलेन फिफसँग छुट्टिनु परेको थियो । उनीहरूबीच १९९९ मा मात्र पारपाचुके हुनसक्यो । यो विषयमा पार्टीले आन्तरिक रूपमा कारबाही चलाए पनि स्थानीय पार्टीको बहुमतले उनलाई जोगाएको थियो । सन् १९९२ पनि सोही क्षेत्रबाट जितेका र पछि उक्त क्षेत्र नै खारेजी भएपछि सन् १९९७ र २००१ मा ग्लारगो केल्भिनबाट विजय हासिल गरेका थिए । अहिलेसम्मका १२ निर्वाचनमध्ये सात वटामा विजय प्राप्त गरेका छन् । 

विकीलिक्सका प्रमुख जुलियन आसाञ्जविरुद्ध दुई महिलाले लगाएको यौन दुव्र्यवहारको आरोपबारे जर्जको टिप्पणीले निकै चर्चा पाएको थियो । गुडनाइट विथ जर्ज ग्यालोवे टिभी कार्यक्रममा उनले ती दुबै महिलाको सहमतिमै यौन सम्पर्क भएको बताएका थिए । आफ्नो फल्याट्मा बोलाएर खाना खाने नै सँगै रात कटाउन मञ्जुर हुने र एकभन्दा बढी पटक शारीरिक सम्पर्क गर्नुलाई कसरी बलात्कार भन्न मिल्छ भन्ने उनको तर्क थियो । तर, उनको यो तर्कलाई बलात्कारविरोधी अभियानकर्ताले ब्यापक बिरोध गरे र रेसपेक्ट पार्टी नेताबाट हट्नुपर्ने माग उठाए । 

अमेरिकी सिनेटको प्रतिवेदनमा फ्रान्सेली पूर्वगृहमन्त्री चाल्र्स पास्क्वा र जर्ज ग्यालोवेलाई सद्दाम हुसेनको शासनविरुद्धको प्रतिबन्ध फुकुवा गर्न माग गरेबापत इनामस्वरूप तेल बेचेर आउने नाफाको केही हिस्सा पाउने गरेको उल्लेख थियो । उनीहरूलाई सिनेटले आफ्नो सफाइ पेश गर्न समय दिएकोमा पास्क्वाले उक्त आरोपको खण्डन गरेका थिए । ग्यालोवेले भने आफैँ सिनेटमा उपस्थित भै मलाई प्रश्न सोध्ने तिमीहरूभन्दा बढी म सद्दामको विरोधी थिएँ तर जुन तथ्यको आधारमा इराकमाथि हमला भयो त्यो गलत हो भनेको हुँ । मैले उनको विरोध गर्दा तिमीहरूले उसलाई भित्र–भित्र हतियार बेचिरहेका थियौ भनी कडा प्रतिवाद गरेका थिए ।

ग्यालोबेले सन् १९७० को दशकमा डण्डीलाई वेस्ट बैंकको एक शहर नाब्लुससँग जोड्ने अभियान चलाएपछि लामो समयदेखि मध्यपूर्वका मुद्दाबारे बोल्दै आएका छन् । सन् १९७७ मा लेबनानबाट फर्केपछि उनले ‘प्यालेस्टाइन र अरबका लागि’ आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे । सन् १९८० को दशकमा इराकमा सद्दाम हुसेनको शासनको विरोध गरे पनि पछि अमेरिकीले इराकमा आफ्नो समर्थन फिर्ता लिएपछि उनले बाथिस्ट आन्दोलनलाई समर्थन गरेका थिए । सन् १९९१ मा, पहिलो खाडी युद्धको विरोध गरे । 

सन् २०१२ मा रेस्पेक्ट पार्टीको सांसद भएको बेला जर्जलाई नटिङहिलको सडकमा भर्खर धर्म परिवर्तन गरेर यहुदी बनेका नील मास्टर्सनले सांघातिक हमला गरेका थिए । टाउको र कोखामा ठूलो घाउ भई अस्पताल भर्ना हुनुपरेको थियो । उनी पार्टीभित्र पनि सदैव विद्रोही रहे । आफ्नै सरकारले अगाडि सारेका धेरै प्रस्तावविरुद्ध मतदान गर्ने  उनी आफूलाई फरक ढंगले प्रस्तुत गर्न सधैँभरि कालो ठूलो ह्याट लगाउने गर्छन् । बेला बखत चर्चिलले जस्तो सिगार तानेको पनि देखिन्छ । रसियनदेखि इरानी सरकारको स्वामित्व भएको टिभी कार्यक्रम सञ्चालन गर्ने, पत्रपत्रिकामा नियमित लेख लेख्ने उनको खुबी हो । रेडियोमा पनि विविध विषयमा कार्यक्रम चलाउने गरेकै छन् । 

यस उपनिर्वाचन परिणामपछि प्रधानमन्त्री ऋषि सुनाकले बेलायती राजनीतिमा डरलाग्दो भन्दा पनि बढी चरमपन्थी विचार प्रवाह भइरहेको र रोचडेलको नतिजाले त्यसलाई आधिकारिकता दिएको बताएका छन् । गाजामा केन्द्रित एकल मुद्दा अभियानमार्फत मतदाता, विशेष गरी मुस्लिम समुदायलाई उत्साहित गर्ने उनको क्षमताले भावनाको शक्ति प्रदर्शन गर्‍यो र जित हात पार्‍यो भनेका छन् । यसले आउँदो आम निर्वाचनमा उल्लेख्य प्रभाव नपारे पनि लेबर पार्टीभित्रको आन्तरिक समस्यालाई भने झन् बढी जटिल बनाउने र देशमा थप राजनीतिक ध्रुवीकरण हुन सक्ने देखाएको छ । लेबर पार्टी स्थापनाको मूल्य र मान्यता अब बाँकी नरहेको र कामगरी खाने वर्गको प्रतिनिधित्व गर्न नसक्ने ग्यालोवेको ठम्याइ छ । जेरेमी कोर्बिनसँग नजिकको सम्बन्ध र सहकार्य गर्दै आएका ग्यालोबेले कोर्बिनवादी लेबरलाई पनि एकीकृत गर्न सक्ने सम्भावना बढेको, लेबर पार्टीभित्र गाजाको समस्यालाई हेर्ने दृष्टिले प्रतिदिन विभाजित मनस्थिति बढेको देखिन्छ । त्यसैले जर्ज ग्यालोवे को यो विजयले लेबर पार्टीको भविष्यमा दह्रो प्रश्न चिह्न खडा हुने पक्का छ । 

टिप्पणीहरू