बसले हान्दा ड्युटीका ट्राफिक सइ बितेपछि..

बसले हान्दा ड्युटीका ट्राफिक सइ बितेपछि..

बसको ठक्करबाट गम्भीर घाइते भएका एक जना ट्राफिक प्रहरीको ज्यान गएको छ । काठमाडौंको कोटेश्वर चोकमा जुनेली यातायातको ठक्करबाट गम्भीर घाइते नायव निरीक्षक (सई) टोपबहादुर खत्रीको हिजो उपचारको क्रममा मृत्यु भएको हो । 

गत फागुन २० गते कोटेश्वर चोकमा ड्युटीमा खटिएका उनलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो । 

उनको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । सर्लाही बस्ने खत्रीका परिवारले शव बुझिसकेको छ । उनका अनुसार बस चालक नवराज गिरी प्रहरी वृत्त, नयाँ बानेश्वरको नियन्त्रणमा छन् । 

‘उहाँको हिजो उपचारको क्रममा निधन भएको छ । परिवारले शव बुझिसक्नुभयो । बस चालक बानेश्वर प्रहरी वृत्तको नियन्त्रणमा छन्’, उनले भने ।

टिप्पणीहरू