समाज शिक्षित, प्रवृत्ति विकृत

समाज शिक्षित, प्रवृत्ति विकृत

विवाहमा बेहुली पक्षको तर्फबाट बेहुला वा उसका परिवारलाई दिइने धनसम्पत्ति, नगद अथवा सामानलाई दाइजो भनिन्छ । नेपाली समाजमा पहिलेदेखि नै दाइजोको प्रचलन चल्दै आएको छ । 

दाइजो प्रथा त्यस्तो प्रथा हो, जसले समाजका महिला र उनीहरुको परिवारलाई यातना पूर्ण जीवनयापन गर्न बाध्य बनाइरहेको छ । पहिले भेटीस्वरुप छोरीको विवाहमा अभिभावकले केही उपहार दिन्थे । हिजोआज मुखै खोलेर नगद तथा विभिन्न सामान माग्ने गरेको पाइन्छ । 

गत सोमबार वीरगञ्जमा सुनको सिक्री नदिएको निहुँमा बेहुलाले जन्ती नै फर्काउन खोजेपछि प्रहरीले बेहुलासहितलाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–४, का उमेश साह (बेहुला) सहित पाँच जनाविरुद्ध विवाहसम्बन्धी कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको जनाएको छ । 

उमेश वीरगञ्ज महानगरपालिका कार्यालयमा कम्प्युटर अपरेटर हुन् । सामाजिक परम्पराअनुसार उनको वीरगञ्ज–१४, रानीघाट बस्ने सुखल शाहकी छोरी २४ वर्षीया रमिता कुमारीसँग विवाह तय भएको थियो । 

उनीहरुको सोमबार राति विवाह कार्यक्रम राखियो । विवाह मण्डपमा पुगेका बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह अस्वीकार गरेपश्चात् विवाद चर्कियो । जन्ती फर्काउन खोज्दा प्रहरीले उनीसहित पाँच जनालाई समातेको थियो । यसअघि गत असारमा पनि सो क्षेत्रमा यस्तै घटना भएको बताइन्छ ।

अमेरिकाको ग्रीनकार्ड होल्डर काठमाडौं, ताहाचल बस्ने सुनसरीका अनुराग रौनियारको असार १२ गते नक्सालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह थियो । विवाह हुँदै गर्दा मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै उनले ५० लाख नपाए विवाह रद्ध गर्ने धम्की दिए । त्यसअघि नै केटी पक्षले पटक–पटक गरेर २२ लाखभन्दा बढी रुपैयाँ केटा पक्षलाई दिइसकेको थियो । 

यता, विवाह मण्डपमा विवाद बढ्दै गएपछि र बेहुलीमाथि गाली बेइज्जती तथा हातपात समेत भएपछि उनलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा चलायो । महिलामाथि हुने हिंसामध्ये दाइजो प्रथा पनि एक हो । तर, एक्काइसौं शताब्दीमा आइपुग्दासमेत समाजमा यस्तो घटना देखिनु लाजमर्दो विषय भएको छ ।

यसले समाजबाट दाइजो कुप्रथा हट्न नसकेको स्पष्ट हुन्छ । बिडम्वना, यो रोग झन् बढ्दै गइरहेको छ । दाइजोका कारण महिलाहरु शारीरिक तथा मानसिक हिंसाको शिकार भइरहेका छन् ।

यस्ता गलत परम्परा र विकृतिहरु विशेषगरी तराइका जिल्लामा बढी देखिन्छ । अहिले बेहुलाको शैक्षिक योग्यताको आधारमासमेत दाइजो लिने गरिएको पाइएको छ । अभिभावकहरुले आफ्ना छोराको शैक्षिक योग्यताबमोजिम दाइजो माग गर्ने क्रममा बेहुला डाक्टर भएमा ८० लाखसम्म दाइजो माग्ने गरिएको पाइएको छ ।

दाइजोका कारण महिलाले विभिन्न प्रकारका शोषण, यातना, तनाव सहनु परेको छ । कतिपयले आफ्नो ज्यान समेत गुमाउनुपरेको उदाहरण हाम्रै समाजमा देखिन्छ ।

थप दाइजो नल्याएको भन्दै सुनसरीको इनरुवा नगरपालिका–३, की २३ वर्षीया निकिता चौधरीको गत भदौमा हत्या भयो । मोरङको विराटनगर महानगरपालिका–१७, मटेरुवा माइती भएकी उनको करिब दुई वर्षअघि मात्र इनरुवाका ३२ वर्षे नगेन्द्र भगतसँग विवाह भएको थियो । 

उनले निकितासँग ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजो लिएर बिहे गरेका थिए । तर, थप दाइजो नल्याएको भन्दै धारिलो हतियार प्रहार गरी निकिताको हत्या गरे । नगेन्द्रलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । केही महिनाअघि रौतहटमा पनि दाइजोकै निहुँमा नाबालिकासहित महिलाको हत्या भयो । 

मौलापुर नगरपालिका–४, बौधा पतौराकी २४ वर्षीया कविता साह र उनकी दुई वर्षकी छोरी आरोहीको परिवारकै सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेका हुन् । 

सामाजिक रितिरिवाज अनुसार माधवनारायण नगरपालिका ५, मिठुअवाका विजयशंकर साहले आफ्नी छोरी कविताको विवाह मौलापुर पतौरा गाउँका नागेन्द्र साहका छोरा धिरेन्द्रसँग गराएका थिए ।

तर, विवाहअघि कबोल गरेको दाइजो दिन नसकेका कारण आमाछोरीको हत्या गरिएको हो । मोटरसाइकल, पलङ, भैंसी, सुनको सिक्री माग्दै धिरेन्द्रले कवितामाथि शारीरिक दबाब दिने गरेको बताइएको छ । 

धिरेन्द्रसहित उसका परिवारले असार १५ गते मध्यरातमा निर्ममतापूर्वक कुटेर कवितालाई भर्याङ र नातिनी आरोहीलाई घरको पंखामा झुण्डयाएको माइती पक्षको आरोप छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती साह गत जेठ ७ गते आफ्नै घरमा मृत भेटिइन् । दुई महिनाको गर्भवती आरतीको हत्या दाइजोको निहुँमा गरिएको माइतीपक्षको दाबी रहँदै आएको छ ।  

दाइजो लिनु र दिनु ‘सामाजिक अपराध’ हो । तर, हाम्रो समाजमा अहिले पनि विभिन्न बहानामा दाइजो यो क्रम चलिरहेकै छ । दाइजो प्रथा रोक्न थुप्रै अभियान चलाइएको छ । निकाय खडा गरिएको छ । यद्यपि, यसले खासै प्रभाव पार्न सकेको देखिँदैन ।

अहिले पनि दाइजोकै कारण महिलामाथि विभिन्न प्रकारका हिंसा भइरहेको घटना बाहिरिएका छन् । दाइजोले दिएको यातना सहन नसकेर कतिपय महिलाले आत्महत्याको बाटो समेत रोजेका छन् । 

शिक्षित समाज र परिवारमै दाइजोजस्तो विकृतिले डरलाग्दो रुप लिएको छ भने शिक्षितमा गनिनेहरुले नै यसलाई बढावा दिएका छन् । तर, दाइजोलाई निर्मूल पार्न सरकारी निकायबाट सक्दो प्रयास नभएको जानकारहरु बताउँछन् । 

महिला अधिकारकर्मी जस्मिन ओझा दाइजोजस्तो कुप्रथा हरेक घरमा रहेकी बताउँछिन् । तराइमा खुल्लमखुल्ला र पहाडमा उपहारको बहानामा दाइजो लिने गरिएको उनको भनाई छ । 

समाजमा दाइजो खराब प्रवृत्ति नै बनेको उल्लेख गर्दै उनले महिलाहरु जति नै शिक्षित भएपनि समाजको अगाडि केही नलाग्ने समेत बताइन् । ‘अहिले अधिंकाश शिक्षित भइसकेका छन् । महिलाहरु आफैं उच्च पदमा पनि पुगेका छन् । तर, दाइजोको विरोधमा उनीहरु किन बोल्न सक्दैनन् ?,’ अगाडि भन्छिन्, ‘किनकी समाजको अगाडि उनीहरुको केही लाग्दैन ।’

शिक्षित भएर मात्र दाइजो प्रथा नहट्ने उल्लेख गर्दै थपिन्, ‘हामीले व्यवहारबाटै यस्ता कुप्रथा हटाउन सक्नुपर्छ ।’ यता, राष्ट्रिय महिला आयोगकी सूचना अधिकारी चन्द्रा थापा दाइजो प्रथाको अन्त्यका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताउँछिन् । 

भन्छिन्, ‘दाइजो प्रथाका कारण महिलामाथि हुने हिंसा अशिक्षा, गरिबी, सचेतनाको अभावका कारण मात्र भएको देखिँदैन । किनकी डाक्टर, इन्जिनियरजस्ता शिक्षित वा पढेलेखेकाहरुबाटै यस्तो अपराध भइरहेको छ । त्यसकारण महिला सशक्तीकरण आवश्यक छ । दाइजो प्रथाको अन्त्य गर्न महिला नै आत्मनिर्भर हुनुपर्छ ।’

पित्तृसत्तात्मक सोचका कारण अहिले पनि समाजमा दाइजोजस्ता कुप्रथा रहेको औल्याउँदै उनले भनिन्, ‘महिला आर्थिक रुपमा आत्मनिर्भर भए मात्र दाइजो प्रथाको अन्त्य हुनेछ ।’ 

उनले अभिभावकहरुले पनि छोरीको विवाहभन्दा बढी उसको शिक्षामा जोड दिनुपर्ने बताइन् । छोरीको विवाहका लागि दाइजो जम्मा गर्नुभन्दा उसलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्ने उनको ठम्याई छ ।

टिप्पणीहरू