टायर पञ्चर हुँदा सवारी दुर्घटना, एकको मृत्यु

टायर पञ्चर हुँदा सवारी दुर्घटना, एकको मृत्यु

चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बसले ईच्छाकामना गाउँपालिका ६, जलबिरेस्थित नारायणगढ–मुग्लिङ सडक किनारामा रोकिरहेको ट्रकलाई ठक्कर दिँदा भारतको मोतिहारीका ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । गएराति २ बजेर ४० मीनेटमा ग.१ ख ८५२४ नम्बरको बसको टायर पञ्चर हुँदा अनियन्त्रित भई सडक छेउ रोकिराखेका ना.६ ख ३२८० नम्बरको ट्रकको पछाडि भागमा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

सो क्रममा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक वीरगञ्ज महानगरपालिका २३ का ३३ वर्षीय हाकिम मियाँको खुट्टामा चोट लागेको छ । बसमा सवार सर्लाहीकी २५ वर्षीय पूजा गुप्ताको अनुहार, भारतको सितामढीका ३२ वर्षीय अम्बरनाथ कुमारको टाउको र विहारकी ३९ वर्षीय रिता गुप्तालाई सामान्य चोटपटक लागेको प्रहरीको भनाइ छ । 

उनीहरुको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । बस चालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १४ का ३९ वर्षीय लक्ष्मण गुरुङ्ग प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीका अनुसार हाल एकतर्फी रुपमा सवारी सञ्चालन भइरहेको छ ।

टिप्पणीहरू