जिबीको खोजी किन सेलायो ?

जिबीको खोजी किन सेलायो ?
सुन्नुहोस्

जसरी सुन काण्डमा संलग्न, तर प्रहरीद्वारा जोगाइएका मानिसको पक्राउ र खोजीमा तदारुकता देखाइएको छ, गृहमन्त्री स्वयं मुछिएको सहकारी ठगीबारे भने कुनै चालचुल छैन ।

रवि लामिछानेकै योजनामा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनको निम्ति विभिन्न सहकारीबाट अर्बाैं रकम अपचलन भएबापत केही व्यक्ति कानुनी कारवाहीका निम्ति पक्राउ परेका छन् । ग्यालेक्सी टिभीको सञ्चालक संस्था गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई देशबाहिर फरार छन् । 

यदि जिबी प्रकरणमा रवि निरपेक्ष छन्, आफू पक्राउ परेको अवस्थामा कुनै किसिमको कानुनी, नैतिक र चारित्रिक प्रश्न उठ्दैन भन्नेमा ढुक्क हुन्थे भने उनलाई संसारको जुनसुकै कुनाबाट समातेर ल्याउन कुनै आइतबार कुर्नुपर्ने अवस्था हुँदैन थियो । जिबी मलेसियामा छन् भन्ने सूचनाका आधारमा रवि गृहमन्त्री हुनुअघि नै नेपाल प्रहरीबाट अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलमार्फत पत्राचार भइसकेको छ ।

यो अवस्थामा त्यहाँको प्रहरीले जिबीको राहदानी खोस्न सक्छ र त्यहाँस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्टका आधारमा उनलाई नेपाल पठाउन सक्छ । कोही व्यक्तिको नाममा जारी भएको राहदानी नै रद्ध गर्न त मिल्दैन । तर, सरकारले चाहँदा यति गम्भीर कसुरमा संलग्न व्यक्ति देशमा झिकाउन धेरै जटिल हुँदैन । 

त्यसै पनि नेपालको कूटनीतिक परिचालन निकै दयनीय छ । दूतावास सक्रिय हुने हो भने जिबी समातिन समय लाग्दैन । त्यसो त, कोही व्यक्तिको राहदानी खोस्ने र उक्त विधिबाट सम्बन्धित देशमा फिर्ता गर्ने कुरा मानवअधिकारको दृष्टिबाट ज्यादतीपूर्ण हुन्छ । त्यसैले मलेसिया प्रहरीले हत्तपत्त त्यसो गर्दैन । यदि गरेछ नै भने, पासपोर्ट खोसेपछि त्यहाँस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्टका आधारमा मुद्दा चलेको ठाउँमा पठाउन सक्छ ।

प्रहरीका तर्फबाट यस विषयमा अनुसन्धान गर्नेहरु भन्छन्,  ‘रवि मन्त्री हुनुअघि यसबारे सबै सूचना संकलन गरिसकिएको थियो । मुख्य कसुरदार जिबी भएको कारण उनलाई पक्राउ गर्न मलेसिया प्रहरीमा पत्राचार पनि भइसकेको हो । तर, उनी मन्त्री भएसँगै यो विषयमा चाइँचुइँ छैन ।’ अर्थात्, स्वयं रविमा त्यस्तो तदारुकता छैन । सामान्यतया मलेसिया प्रहरीले कुनै पनि देशले खोजेको व्यक्तिबारे कागजात प्राप्त गरेको १५ दिनभित्र आवश्यक कारवाही गर्छ । दुबईमा भए आफैं मान्छे लिन जानुपर्छ । मलेसियाको हकमा त्यस्तो सुविधा छैन । त्यसैले मन्त्रीकै कारण जिबीलाई जोगाइएको प्रहरीहरु बताउँछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट) 

टिप्पणीहरू