विनोद चौधरीको रिस लगानी सम्मेलनमा पोखिँदै

विनोद चौधरीको रिस लगानी सम्मेलनमा पोखिँदै
सुन्नुहोस्

भारतीय अर्बपति गौतम अडानीको आडमा विनोद चौधरीले मुलुकमा हुन लागेको लगानी सम्मेलनको अप्रत्यक्ष विरोध गरेका छन् । सांसद समेत रहेका चौधरीले अडानीमार्फत् लगानीकर्तामाथि ह्यारेसमेन्ट गरिएको आरोप लगाएका छन् । 

पछिल्लो महिना चौधरीलाई प्रहरीको सिआईबीले माइतीघरस्थित सरकारी वकिलको कार्यालयमा बोलाएर तीन घण्टा बयान लिएको थियो । बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा उनी नेतृत्वको च्याम्पियन फुटवेयर कम्पनीको नाममा गैरकानुनी तवरले नामसारी गरिएको तथ्य बाहिरिएपछि चौधरी अनुसन्धानको घेरमा परेका हुन् । उक्त जग्गामा चौधरी फाउण्डेसनले सञ्चालन गरेको चाँदबाग स्कुल छ । फाउण्डेसनका अध्यक्ष विनोदका जेठा छोरा निर्वाण हुन् । 

अहिले उनै अडानीले नेपालमा लगानी गर्न चाहेको भनिएको अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालन र व्यवस्थापन तथा जलविद्युत परियोजनामा लगानी गर्ने वातावरण सरकारले नबनाएको आरोप चौधरी समूहले लगाएको छ । सिजी ग्रुपले अडानीको आडमा ती क्षेत्रमा लगानी गर्ने योजना बनाएको थियो । योजना तुहिएपछि चौधरीले लगानी सम्मेलनमा गौतम सहभागी नहुने समाचारलाई जोडतोडका साथ प्रचार गरेको पाइएको छ ।

प्रायोजित समाचारमा अडानीले गत साता नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपाली लगानीकर्तालाई सरकारका तर्फबाट ‘ह्यारेसमेन्ट’ गराइएको आरोप लगाएको उल्लेख छ । कतिपय नेपाली मिडियामा प्रेषित समाचारमा भनिएको छ, ‘पछिल्लो समयमा स्वदेशी लगानीकर्तालाई विभिन्न निकायले थुन्ने र बयान गराउनेसम्मका गतिविधिले पनि उनीहरु सशंकित भएका हुन् ।’

यो साताको अन्तमा आयोजना गर्न लागिएको लगानी सम्मेलनमा ५२ वटा मुलुकबाट छ सयभन्दा बढी लगानीकर्ता सहभागी हुँदैछन् । हालसम्म चीनबाट २६५, भारतबाट १४३, अमेरिकाबाट ३३ र जापानबाट २८ जना लगानीकर्ता आउने लगानी बोर्डले जनाएको छ ।

बेलायतबाट १४, बंगलादेश र युएईका १३, जर्मनीका १० र दक्षिण कोरिया, अष्ट्रेलिया र मलेसियाबाट नौ नौ जना आउने निश्चित भएको छ ।

टिप्पणीहरू