परम्परागत चिकित्सा पद्धति - एआईदेखि जीनोमिक्सको प्रयोगसम्म
भारतको राजधानी नयाँ दिल्लीमा परम्परागत चिकित्सासम्बन्धी दोस्रो विश्व शिखर सम्मेलन सुरु भएको छ । पर्सिसम्म हुने सम्मेलनमा एक सयभन्दा बढी देशका सरकारी अधिकारी, वैज्ञानिक, आदिवासी समुदायका नेता तथा परम्परागत चिकित्सा अभ्यासकर्ताहरुको बाक्लो सहभागिता छ ।
सम्मेलनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परम्परागत चिकित्सा रणनीति (२०२५–२०३४) कार्यान्वयनलाई गति दिन नयाँ वैज्ञानिक पहल र अन्तर्राष्ट्रिय प्रतिबद्धता घोषणा गरिँदै छ । रणनीतिमा प्रमाणमा आधारित अभ्यास, नियमन सुदृढीकरण, स्वास्थ्य प्रणालीमा एकीकरण, सहकार्य र समुदाय सहभागितालाई केन्द्रमा राखिएको संगठनले जनाएको छ ।
परम्परागत चिकित्सामा जैविक चिकित्साभन्दा अघिका विकसितसँगै त्यसअघिका दुवै प्रणाली समावेश छन् । ती दुबै प्रणाली आज पनि आधुनिक सन्दर्भमा प्रयोग हुँदै आएका छन्। विश्वका धेरै समुदायमा आज पनि परम्परागत चिकित्सा सुलभ, किफायती र सांस्कृतिक रूपमा अनुकूल स्वास्थ्य सेवाको मुख्य आधार बनेको छ। डब्लुएचओको अनुसन्धानले १९४ सदस्य राष्ट्रमध्ये १७० ले आफ्ना ४० देखि ९० प्रतिशत जनसंख्याले परम्परागत चिकित्सा प्रयोग गर्ने गरेको देखाएको छ ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससले भनेका छन्, ‘हजारौँ वर्षको ज्ञानलाई आधुनिक विज्ञान र प्रविधिसँग जोडेर सबैका लागि स्वास्थ्य सुनिश्चित गर्ने डब्लुएचओको प्रतिबद्धता छ । कृत्रिम बौद्धिकता (एआई) देखि जीनोमिक्ससम्मका नवप्रवर्तन प्रयोग गरी परम्परागत चिकित्सालाई सुरक्षित, प्रभावकारी र दिगो बनाउन सकिन्छ।’
आधुनिकलाई पछाडि पार्दै परम्परागत चिकित्सा, विश्व स्वास्थ्य प्रणालीको पुनर्संरचना अत्यावश्यक
विश्वमा हाल साढे ४ अर्बभन्दा बढी मानिस आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित छन् । २ अर्बभन्दा बढीले स्वास्थ्य सेवाका लागि आर्थिक कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीमा समावेश गर्नु सर्वसुलभ र जनमुखी स्वास्थ्य सेवा विस्तारका लागि महत्वपूर्ण मानिएको छ ।
उदीयमान प्रमाणहरूले परम्परागत चिकित्साको एकीकरणले लागत घटाउने र स्वास्थ्य नतिजा सुधार गर्ने देखाएका छन् । यसले विभिन्न रोग रोकथाम र स्वास्थ्य प्रवद्र्धनमा योगदान पुर्याउँदै एन्टिबायोटिकको उचित प्रयोगमा समेत सहयोग पुर्याउने बताइएको छ।
डब्लुएचओकी प्रमुख वैज्ञानिक डा. सिल्भी ब्रिआन्दले भनिन्, ‘जैविक चिकित्सा र परम्परागत चिकित्साको मूल्याङ्कनमा समान वैज्ञानिक मापदण्ड लागू गर्नुपर्छ । जैविक विविधता, सांस्कृतिक विशिष्टता र नैतिक मूल्यको सम्मान पनि उत्तिकै आवश्यक छ ।’
लगानी, अनुसन्धान र नवप्रवर्तनमा जोड
परम्परागत चिकित्साको प्रचार र प्रयोग जडीबुटी औषधि जस्ता तीव्र गतिमा बढ्दो उद्योगको आधार बनेको छ। आधाभन्दा बढी आधुनिक औषधि र सबै परम्परागत औषधि प्राकृतिक स्रोतबाट नै विकास भएका हुन् । विश्वको जैविक विविधताको करिब ४० प्रतिशत संरक्षण आदिवासी समुदायले गरिरहेका छन् । जबकि उनीहरू विश्व जनसंख्याको मात्र ६ प्रतिशत हाराहारीमा छन् ।
डब्लुएचओका अनुसार परम्परागत चिकित्साको व्यापक प्रयोग हुँदाहुँदै पनि वैश्विक स्वास्थ्य अनुसन्धान बजेटको १ प्रतिशतभन्दा कम मात्र यस क्षेत्रमा लगानी भइरहेको पाइएको छ । उक्त अन्तरलाई कम गर्न संगठनले ‘परम्परागत चिकित्सा विश्व पुस्तकालय’ अभियन थालेको छ। यो विश्वकै पहिलो डिजिटल पुस्तकालय हो, जसमा १६ लाखभन्दा बढी वैज्ञानिक अभिलेख, नीति, नियमन र अनुसन्धान सामग्री समावेश छन्।
सन् २०२३ मा भएका जी–२० र ब्रिक्स सम्मेलनमा सहभागी राष्ट्र प्रमुखहरूको आग्रहपछि विकसित उक्त पुस्तकालयले न्यून आय भएका मुुलुकका संस्थालाई निःशुल्क पहुँच प्रदान गर्नेछ। साथै, बौद्धिक सम्पत्ति संरक्षणसहित परम्परागत चिकित्साको अभिलेखीकरण र वैज्ञानिक क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
डब्लुएचओको ग्लोबल परम्परागत चिकित्सा केन्द्रकी कार्यवाहक निर्देशक डा. श्यामा कुरुविल्लाले भनिन्, ‘परम्परागत चिकित्साको प्रवद्र्धन प्रमाणमा आधारित, नैतिक र वातावरणीय दायित्व हो। यो सम्मेलनले मानिस र पृथ्वी दुवैको हितका लागि आवश्यक सहकार्यको आधार तयार गर्छ।’
यो सम्मेलनमा विभिन्न मुलुकका सरकार र सरोकारवाला निकायबाट नयाँ प्रतिबद्धता सार्वजनिक हुने अपेक्षा गरिएको छ । परम्परागत चिकित्सा रणनीतिलाई विश्वव्यापी रूपमा कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय कन्सोर्टियम गठनको आह्वान गरिने सम्भावना छ ।
आज दिउँसोको उद्घाटन समारोहपछि साँझ ७ बजेदेखि करिब एक घण्टा परम्परागत चिकित्साका विभिन्न विधामा प्राप्त नयाँ उपलब्धीबारे विज्ञहरुले आफ्ना प्रस्तुती प्रस्तुत गर्दैछन् । त्यसमा उनीहरुले कुन समस्याको समाधान खोजिएको हो ? उक्त समस्याको समाधान के कति कारणले महत्वपूर्ण छ ? र समाधान के हो ?भन्नेबारे बढीमा १० मीनेटको तथ्यसहित प्रवचन दिनेछन् ।
यसको उद्देश्य परम्परागत चिकित्सामा नवप्रवर्तनलाई व्यापकरुपमा स्पष्ट पार्दै छलफल तथा चासो उत्पन्न गराउनु रहेको बुझिएको छ । सोही क्रममा हिमालय क्षेत्रको परम्परागत चिकित्सा टोली पनि सम्मेलनमा सहभागी भएको छ ।
हिमालय रिङ पब्लिक वेलफेयर कोलाब्रेसन मेकानिज्मको एउटा समूह विभिन्न २ हजार जनाबीच प्रतिस्पर्धामा छनौट भएर नयाँ दिल्ली सम्मेलनमा पुगेको हो । विश्वका विभिन्न मुलुक र क्षेत्रका एक हजार १७५ आवेदनमध्येबाट विश्व स्वास्थ्य संगठनले छानेका २१ जनामध्ये बेलायतको राजधानी लण्डनमा ‘आधुनिक जिब्रो उपचार पद्धती’बाट प्रख्यात चिनियाँ मूलका डा.होङ चुआन यीनले आज आफ्नो प्रस्तुती दिँदैछन् ।
एच २१ भनिएका उनीहरुको उपलब्धीलाई ‘हेल्थ एण्ड हेरिटेज इनोभेसन’ अर्थात् ‘स्वास्थ्य र सम्पदा अन्वेषण’को उपमा दिइएको छ ।
टिप्पणीहरू