सबै श्रेणीहरू

रेशम नभएको मौका छोपेर रञ्जिताको बोल्ड निर्णय

रेशम नभएको मौका छोपेर रञ्जिताको बोल्ड निर्णय

पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर आन्तरिक किचलोमा फसेको नागरिक उन्मुक्ति पार्टी एमाले–माओवादी गठबन्धनमा सामेल हुने भएको छ । सो पार्टीको आज बसेको एउटा खेमाको बैठकले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनमा बस्ने निर्णय गरेको छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । 

नाउपामा एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्नेमा रञ्जिता र उनका श्रीमान् तथा संस्थापक नेता रेशम चौधरीबीच तीव्र मतभेद छ । निर्वाचन आयोगको निर्णयले अध्यक्षमा पुनर्स्थापित भएकी रञ्जिता प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर गठबन्धनमा सामेल हुनुपर्ने पक्षमा छिन् । रेशम भने नेपाली काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहनुपर्ने अडानमा छन् । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विवादमा रञ्जिताको मत हावी भएको थियो । उता सुदूरपश्चिम प्रदेशमा भने रेशमको निर्णयअनुसार सो पार्टीका पाँच जना मन्त्री छन् । रञ्जिताको विरोधका बाबजुद् नाउपा सुदूरपश्चिम सरकारमा गएको हो ।  

यता, जापान भ्रमणमा रहेका रेशमले अस्ति उतैबाट अध्यक्ष रञ्जिताप्रति गुनासो पोखेका थिए । ११ महिनासम्म मन्त्री हुँदा रञ्जिताले केही काम गर्न नसकेको भन्दै उनले ठूला दलले आफ्नो पार्टी फुटाउन खोजेको आरोपसमेत लगाएका छन् ।