कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै

कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै
सुन्नुहोस्

गायक शुशान्त केसीलाई धेरैले चिन्छन् । अहिले उनको ‘पर्ख न’ बोलको गीत सामाजिक सञ्जालको ट्रेण्डिङमा छ । यो समाचार तयार पर्दासम्म गीतलाई यूटुबमा एक करोड १९ लाख पटक हेरिसकिएको छ । 

फेसबुक र इन्स्टाका लाखौँ प्रयोगकर्ताले यही गीतमा नाचेर रिल भिडियो बनाएको देखिन्छ । यसअघि पनि उनका दर्जनौँ गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । 

अहिले उनै गायक सुशान्त प्रेमिका आना शर्मासँग लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ । आना पेशाले अभिनेत्री हुन् । उनले ‘जेरी’ र ‘ग्याङस्टार ब्लूज’मा काम गरेकी छन् । 

यी दुईले दुई वर्षअघि प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । तर, लिभिङ टुगेदरमा बसेको भने खुलाएका थिएनन् । हालै ‘वल्र्ड अफ वुमन’ म्याग्याजिनलाई दिएको अन्तर्वार्तामा जोडीले आफूहरु लिभिङ टुगेदरमा बस्दै आएको अप्रत्यक्ष स्वीकार गरेका हुन् । 

त्यसो त, पछिल्लो समय लिभिङ टुगेदर एक संस्कारका रुपमा विकास हुँदै गएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ पनि बिहे नगरी लामो समय सँगै बसेका थिए । तर, गत वर्ष उनीहरुको ‘ब्रेकअप’ भयो । 

सौगातले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी लामो समय सँगै बस्यौँ । तर बस्दै जाँदा कतिपय विचारहरु नमिल्दो रहेछ । हामी समझदारीमै छुट्टिएका हौँ ।’ 

गायक सुशान्त र अभिनेत्री आनाले पनि अहिलेको सम्बन्धलाई विवाहमा परिणत गर्लान् वा सौगात–सृष्टि जस्तै समझदारीमै छुट्टिएलान्, उनका समर्थकमाझ चर्चा चल्न थालेको छ ।

टिप्पणीहरू