पढाइ ३ कक्षा,बिदेशमा अबैध कारोवार करोडौंको

पढाइ ३ कक्षा,बिदेशमा अबैध कारोवार करोडौंको

४० दिनदेखि अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको थुनामा रहेका अमरुद्दिन नामक अभियुक्तको मुद्दा उनले प्रयोग गर्ने डिभाइसहरुको अनुसन्धानपछि पेचिलो बन्दै गएको छ । राजस्व प्रहरीले छापा मार्दा उनीसहित केही नेपाली र भारतीय गरी नौ जना काठमाडौंको डल्लुबाट पक्राउ परेका थिए । 

सो बेला उनको कार्य थलोमा फेला परेका इलेक्ट्रोनिक डिभाइसहरु, उनले प्रयोग गर्ने मोबाइल,ल्यापटप, क्यामेरालगायत कम्प्युटरका सामग्रीहरु अनुसन्धानका लागि नेपाल प्रहरीको ल्याबमा पठाइएको छ । अहिले सो ल्याबबाट अनुसन्धानपश्चात् राजस्व अनुसन्धान विभागलाई प्राप्त नतिजाले अनुसन्धानकर्तालाई फेरि एक पटक झस्क्याइदिएको छ । 

उनले प्रयोग गर्ने मोबाइलको ह्वाट्स एप च्याटमा ६० लाख युरोको कारोबार जर्मनीमा भएको प्रसङ्ग कुनै खास कम्पनीसँग जोडिएको देखिन्छ । जसले गर्दा उनले आफ्नो पैसाहरु विदेशमा पनि थुपारेका त छैनन् ? भन्ने आशंका उत्पन्न भएको छ । 

विगतमा रक्त चन्दनदेखि भन्सारबाट मालसामान ढुवानी गर्ने तथा क्याटरिङ्गमा उनले आफ्ना ट्रकहरु समेत प्रयोग गरेको थियाे । त्यतिबेला राजस्व अनुसन्धान विभागले नै उनीविरुद्ध मुद्दा चलाएको थियो । अवैध हुण्डी काराेवारमा पनि उनकाे संलग्नता रहदै आएकाे बुझिन्छ ।

"उनले प्रयोग गर्ने मोबाइलको ह्वाट्स एप च्याटमा ६० लाख युरोको कारोबार जर्मनीमा भएको प्रसङ्ग कुनै खास कम्पनीसँग जोडिएको देखिन्छ । जसले गर्दा उनले आफ्नो पैसाहरु विदेशमा पनि थुपारेका त छैनन् ? भन्ने आशंका उत्पन्न भएको छ । " 

अहिले पनि सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसरी मोबाइलमा भएको कुराकानी ह्वाट्सएपमा कसरी जर्मनी कम्पनीसँग जोडियो ? त्यसको छानबिन गर्न सो विभाग अर्को चरणमा प्रवेश गर्न लागेको छ । अनुसन्धानकर्ताहरुका अनुसार उनी सामान्य मान्छेभन्दा पनि यस्ता कारोबारका  प्राेफेश्नल  नै हुन । 

कक्षा ३ सम्म मात्र पढलेखेको बताउने तर काठमाडौंका बासिन्दा यिनीसँग अनुसन्धानको क्रममा सोधपुछ हुँदा ‘थाहा छैन’, ‘हो र ?’ भन्नेसम्म उचारण गरेर मौन बस्ने गरेका छन् । तर बिभागले नयाँ तथ्य फेला पारेसङ्गै सोको विस्तृत अनुसन्धानका लागि जर्मन सरकारसँग थप बुझ्न चाहेको छ । सोको लागि विभागले कानून मन्त्रालयलाई लेखी पठाएको छ । अब कानूनले परराष्ट्र मन्त्रालयको सहयोगमा नेपाली दूतावासमार्फत जर्मन सरकारसँग बुझ्ने र थप कदम चाल्ने अवस्था छ । 

यसअघि ६० किलो सुन प्रकरणमा अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानलाई पछि पूर्व न्यायाधीशको नेतृत्वमा थप छानबिनका लागि गठित आयोगले राम्रै मूल्यांकन गरेको पाइन्छ । विभागका उपसचिव सन्तोष पौडेल र राजस्व सशस्त्र प्रहरी प्रदीप राईले उक्त अनुसन्धानको लिड गरेका थिए ।
 

टिप्पणीहरू