डोल्पाको सदरमुकाममा आगलागी,चार सैनिक घाइते

डोल्पाको सदरमुकाममा आगलागी,चार सैनिक घाइते
सुन्नुहोस्

डोल्पाको ठूलीभेरी नगरपालिका ४ मस्तभवानी सामुदायिक वनमा आज पनि आगलागी भएको छ । हिजो बल्लतल्ल नियन्त्रणमा लिइएको आगो पुनः सल्किदाँ चार जना सैनिक घाइते भएका छन् । घाइते हुनेमा सिपाही आसिफ बुढा, हेमन्त रावत, जमल्दार केशव जर्गामगर र प्युठ विजय कोइराला रहेका छन् । आगो निभाउन पुगेका सैनिकहरु गम्भीर घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । 

उनका अनुसार एक जनाको डोल्पा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा उपचार सम्भव नभएपछि अन्य तीन जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि अन्यत्र लैजान थालिएको छ । हाल सेनासँगै नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, नेपालको टोली आगलागी नियन्त्रणका लागि खटिएको उनले जानकारी दिए । 

वडा नम्बर ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारीले आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको बताए । आगोले जङ्गल पूरै ध्वस्त भइसकेको उनको भनाइ छ ।
 

‘हिजो फोहोर जलाउने क्रममा आगलागी भएको भन्ने छ । यो विषयमा अनुसन्धान भइरहेको छ । सेनाले हिजो आगो नियन्त्रणमा लिइसकेको थियो । आज बिहानैदेखि हेर्न खटिएको पनि थियो । अघि दिउँसोदेखि हावा चल्न थाल्यो । मुढाहरु निभिसकेको नहुनाले फेरि आगो सल्कियो । तीन जना गम्भीर घाइते हुनुभएको छ,एक जना सामान्य हुनुहुन्छ । गम्भीर घाइतेको उपचार जिल्लामा सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाएका छौं’, उनले भने । 

सो जङ्गलनजिकै देवीदत्त गुल्म रहेको छ । सोही गुल्मले फोहोर जलाउने क्रममा आगलागी भएको स्थानीयको भनाइ छ । वडा नम्बर ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारीले आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको बताए । आगोले जङ्गल पूरै ध्वस्त भइसकेको उनको भनाइ छ । 

उनले भने,‘हिजो जङ्गलको माथिल्लो भागमा आगो लागेको थियो । सेनाले बल्लतल्ल नियन्त्रणमा लियो । बिहानसम्म अवस्था सामान्य नै थियो,  एकछिन अघिदेखि हावा चल्दा आगो ह्वारह्वारती बल्न थाल्यो । अहिले तल्लो भाग पनि सखाप भइसकेको छ । सैनिक पनि घाइते हुनुभएको छ । आगो नियन्त्रणमा लिन गाह्रै पर्छजस्तो देखिएको छ । भर्खर हेलिकप्टर आइपुगेको छ ।’ 

यता, गाउँपालिकाका अध्यक्ष श्रवणकुमार बुढाले खडेरी लागेकाले जिल्लामा आगलागीको घटना ह्वात्तै बढेको बताए ।

टिप्पणीहरू