डोल्पाको आगो निभाउन खोज्दा घाइते दुई सैनिकको निधन

डोल्पाको आगो निभाउन खोज्दा घाइते दुई सैनिकको निधन

डोल्पाको ठूलोभेरी नगरपालिका–४, मस्तभवानी सामुदायिक वनमा हिजो लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई सैनिकको निधन भएको छ । 

डढेलो निभाउने क्रममा गम्भीर घाइते जंगलनजिकै देवीदत्त गुल्ममा कार्यरत सिपाही २८ वर्षीय हेमन्त रावत र २३ वर्षीय आसिफ बुढाको उपचारको क्रममा हिजो राति निधन भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार रावतको डोल्पा अस्पताल र आसिफको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रावतको शवलाई प्रहरीको रोहबरमा आजै सैनिक हेलिकप्टरमार्फत डोल्पाबाट गृहजिल्ला जुम्ला लाने तयारी गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । 

उनका अनुसार घाइते अन्य दुई सैनिकको पनि अवस्था नाजुक छ । डोल्पाको सामुदायिक वनमा केही दिनयता खडेरी लागिरहेको थियो । 

खडेरीका कारण अस्ति पनि आगो लागेको थियो । बल्लतल्ल नियन्त्रणमा लिइएको आगो हिजो पुनः सल्किँदा निभाउन पुगेका चार जना सैनिक घाइते भएका थिए । 

तीमध्ये हेमन्त र आसिफको उपचारको क्रममा निधन भएको हो ।

टिप्पणीहरू