सहकारी भवन निर्माणमा लाखौं भ्रष्टाचार

सहकारी भवन निर्माणमा लाखौं भ्रष्टाचार

कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सहकारी भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको बताइएको छ ।

अख्तियारले पोखरेलसहित कृषि इन्जिनियर विश्वनाथ पौडेल, अर्थविज्ञ भानुभक्त भट्टराई, स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको छ । 

आयोगका अनुसार पकवादी सहकारीले भवन निर्माणका लागि प्रदेश सरकारबाट २८ लाख ३७ हजार २१७ रुपैयाँ अनुदान रकम प्राप्त गरेको थियो । तर, उनीहरुको मिलेमतोमा विनियोजित बजेट हिनामिना भएको, एउटा जग्गाधनी प्रमाणपूर्जा देखाएर अर्को ठाउँमा भवन बनाइएको र मापदण्डसमेत मिचेको पाइएको छ । 

‘सडक विभागको अधिकार क्षेत्रभित्रको जग्गालाई आफ्नो भनी कानूनविपरीत सहकारी संस्थालाई हक भोग गर्न दिएको र अनुदान रकम निकासा गर्ने कृषि विकास निर्देशनालयले पनि सम्झौताको शर्तमा कृषि बजार निर्माणसम्बन्धी कार्य गर्दा प्रस्ताव पेश गर्दाका बखत पेश गरेको जग्गाबाहेक अन्य स्थानमा निर्माण कार्य गरेको खण्डमा रकम भुक्तानी हुने छैन भन्ने व्यवस्थाको विपरीत संरचना निर्माण भएको सम्बन्धमा जग्गा एकीन नै नगरी नक्सा पास बिना विभागको अधिकार क्षेत्रभित्रको जग्गामा बनेको संरचनाको कार्य सम्पन्न प्रतिवेदन पेश गरी अनुदानको रकम दिई÷लिई सम्झौताविपरीतका कार्यहरु भए गरेको,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

टिप्पणीहरू