हेम्जा बस दुर्घटनाका घाइतेको उपचार जारी

हेम्जा बस दुर्घटनाका घाइतेको उपचार जारी

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । चालकले नियन्त्रण गुमाउँदा बस पल्टिएको बताइएको छ । कास्कीको पोखरा महानगरपालिका २५, हेम्जा सुइखेतमा भएको दुर्घटनामा एक बालकसहित आधा दर्जन बढी घाइते भएका छन् । 

ग.२ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । घाइतेहरुमा बागलुङको तमानखोला गाउँपालिका ३, तमानकी २५ वर्षीया रिता घर्ती, म्याग्दीको मालिका गाउँपालिका ५, देवीस्थानका ३० वर्षीय भीमकुमार बुढा, सोही स्थानकी २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमिका फगामी, ६ वर्षीय निश्चल फगामी, ७२ वर्षीय नरबहादुर पुन र ६५ वर्षीया कृष्णकुमारी पुन छन् । 

उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, बस चालक बेनी नगरपालिका ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू