औषधीको बोरा छोडेर नाकामा भागाभाग, लाखौंको चिनी पुलिसको कब्जामा

औषधीको बोरा छोडेर नाकामा भागाभाग, लाखौंको चिनी पुलिसको कब्जामा

बारा प्रहरीले झन्डै डेढ लाख मूल्य बराबरको चिनी बरामद गरेको छ । भन्सार छलेर नेपाल भित्र्याएको अवैध चिनी प्रहरीले विशेष टोली परिचालन गरि सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।  

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७, बकुलिया चोकबाट ३२ हजार मूल्य बराबरको चार सय केजी चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । जितपुरबाट बकुलियातर्फ आउँदै गरेको दुई वटा मोटरसाइकलका चालक प्रहरीलाई देख्नासाथ चिनी फ्याँकेर भागेको जनाइएको छ । 

त्यस्तै, प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले विश्रामपुर गाउँपालिका–३, बड्कीमुसहर्वास्थित स्थानीय ३० वर्षका उज्वलप्रसाद यादवको घरबाट एक लाख रुपैयाँ बराबरको एक हजार केजी चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घर छापा मार्दा बिल बिजकभन्दा बढी चिनीको फेला परेको जनाइएको छ । 

भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ५५ हजार रुपैयाँ बराबरको अवैध भारतीय औषधी पनि बारा प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको टोलीले सुवर्ण गाउँपालिका–३, दशगजाबाट उक्त औषधी बरामद गरेको हो । 

टाउकोमा बोकेर ल्याउँदै गरेको औषधीको बोरा प्रहरीलाई देख्नासाथ फ्याँकेर उनीहरु भागेका थिए । यस सम्बन्धमा थप अनुसन्धान तथा फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू