हेम्जा दुर्घटना : सहचालकले हाँकेका थिए बस

हेम्जा दुर्घटना : सहचालकले हाँकेका थिए बस

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग.२ ख १६३० नम्बरको बस गएराति कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित सुइखेतमा दुर्घटनामा पर्यो । दुर्घटनामा एक बालकसहित आठ जना घाइते भए । 

घाइते सबैको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । कास्की प्रहरीका बागलुङको तमानखोला गाउँपालिका-३ तमानकी २५ वर्षीया रिता घर्ती, म्याग्दीको मालिका गाउँपालिका-५ देवीस्थानका ३० वर्षीय भीमकुमार बुढा, सोही स्थानकी २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमिका फगामी, ६ वर्षीय निश्चल फगामी, ७२ वर्षीय नरबहादुर पुन र ६५ वर्षीया कृष्णकुमारी घाइते भएका हुन् । 

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको बिहानै प्रहरीले जानकारी गराएको थियो । तर, बस सहचालकले हाँकेको खुलेको छ । प्रहरीका अनुसार थप अनुसन्धान गर्दा सहचालक म्याग्दीको बेनी नगरपालिका-४ तातोपानीका २५ वर्षीय विनोद दर्जीले बस चलाएको पाइएको हो । 

दुर्घटनामा सामान्य घाइते भएका उनलाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । चालक बेनी नगरपालिका-६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो ।

टिप्पणीहरू