जनताले चुनेपछि जे गर्न पनि छुट ?

जनताले चुनेपछि जे गर्न पनि छुट ?
सुन्नुहोस्

अदालतको आदेश उद्धृत गर्दै त्यस घटनासँग असम्बन्धित विभिन्न व्यक्तिलाई झापा जिल्लास्थित बुद्धशान्ति गाउँपालिकाले पत्र काटेको छ । बुद्धशान्ति–२ का उद्धवप्रसाद शिवाकोटीले रुख बिरुवा कटान रोकेर जग्गा यकिन गराइ पाऊँ भनी २०८० चैत ७ गते दिएको निवेदनमा अदालतको आदेशबारे कुनै पनि कुरा उल्लेख छैन तर पालिकाले काटेको पत्रमा अदालतको आदेश भनिएको छ । 

निवेदकले अर्कै व्यक्तिमाथि दायर गरेको सोही प्रकृतिको अर्को मुद्धामा झापा जिल्ला अदालतबाट २०८० चैत २ गते भएको आदेशको प्रति घुसाएर असम्बन्धित विभिन्न व्यक्तिहरूलाई पालिकाले पेल्न थालेको गुनासो छ । 

निवेदक शिवाकोटीले आफ्नो निवेदनमा अदालतको आदेशबारे कुनै जिकिर गरेका छैनन् । तर सोही निवेदन कार्यान्वयनका नाममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको हस्ताक्षरमा २०८० चैत ७ गते प. सं. ०८०÷८१ च. नं. १९३० बाट अर्जुनधारा ८ का रेनुका कोइराला र नारदमुनी कोइराला तथा सूर्यविनायक ४ भक्तपुरका पृति ढकाल शिवाकोटी र प्रान्जल शिवाकोटीका नाममा पत्र काटिएको हो ।

निवेदक शिवाकोटीले अदालतको आदेशपछि पूर्वपत्नी प्रीति ढकाल र छोरीलाई अंश दिएको जग्गा उनीहरूले थापा थरका एकजना व्यक्तिलाई बिक्री गरेका थिए । सो जमिन दोस्रो पटक किनबेच भई अर्जुनधारा–८ की रेनुका कोइरालाको नाममा राजीनामा पास भइसकेको छ । ‘तर उक्त जमिनमा लगाइएको बोटविरुवाहरू अदालतबाट नाप नक्सा नभएसम्मको लागि नकाट्नु भन्ने गाउँपालिकाको पत्रले संविधानप्रदत्त सम्पत्तिको हक माथि नै धावा बोलेको प्रतित हुन्छ’ जग्गा धनी रेनुकाका छोरा राजेश कोइराला बताउँछन् ।

गाउँपालिकाले हुलाकमार्फत कोइराला परिवारलाई पठाएको पत्रमा उल्लेखित जमिनको दुईवटै कित्ता उद्धव शिवाकोटीले मेरो भनी दाबी गर्नु र धनीपुर्जाको प्रतिलिपि पनि नराखी दिएको निवेदनकै आधारमा पालिका अध्यक्षले पत्र काट्नुले व्यक्तिको निजी सम्पत्तिमाथि पालिका अध्यक्षले समेत धावा बोलिरहेको राजेशको जिकिर छ । ‘अध्यक्ष प्रसाईंको हस्ताक्षरबाट प्राप्त पत्रमा उल्लिखित जग्गा कित्ता नम्बर ४९४३ र ४९४५ मेरी आमाको नाममा २०७९ असार ३१ गते राजीनामा पास भई एकलौटी हकभोगको जग्गा हो’ राजेश कोइराला भन्छन्, ‘निवेदकले पेश गरेको कागजात पूरै नपढी अदालती आदेशको हवाला दिएर हामी असम्बन्धित मानिसलाई गाउँपालिकाले किन थर्काएको हो, बुझ्न सकिएको छैन ।’

गाउँपालिकामा पेश गरिएको निवेदनसँगै उद्धवप्रसाद शिवाकोटीले भूमिप्रसाद लामिछानेलाई विपक्षी बनाएर दायर गरेको मुद्धामा झापा जिल्ला अदालतबाट मुद्धा नं. ०७९–सीपी–०४१४ मिति २०८० चैत २ गते भएको आदेशको प्रति राखेको पाइएको छ । तर गाउँपालिकालाई शिवाकोटीले दिएको निवेदनमा अदालतको विषय उठान नै नगरी पूर्वपत्नी र छोरीलाई अंश दिएको विवादित जमिन भनी जिकिर गरेका छन् ।

गाउँपालिकाले वडा नं. २ लाई आवश्यक सहजीकरण गरिदिनु हुन भनी बोधार्थ दिएकोले वडाध्यक्ष डिल्ली ओलीलाई वास्तविकता के हो भनी जिज्ञासा राख्दा उनले ‘जाली किर्ते कागज राखेर दिएको निवेदन नपढी पालिका अध्यक्षले रातो मसीले हस्ताक्षर गर्नु सरासर अख्तियारको दुरूपयोग भएको’ बताए ।

हस्ताक्षर गर्नुअघि पालिका अध्यक्षले निवेदनलाई पुष्टि गर्ने ‘सपोर्टेड डकुमेन्ट्स’ अध्ययन गर्नुपर्ने थियो तर शिवाकोटी परिवारको प्रभावमा परेर उनले जग्गाधनीलाई आफ्नो सम्पत्तिको हकभोग गर्न नदिने प्रपञ्च गरेको आरोप छ । 

‘वडाध्यक्षको नाताले रुख विरुवा कटानका लागि मैले जग्गाधनीको कागजात राखेर नियमानुसार वन कार्यालयमा सिफारिस गरिदिएको हो, तबमात्र कोइराला परिवारले निजी वनको रुख कटानी गरेका हुन्’ वडाध्यक्ष ओलीले भने यही घटनालाई लिएर निवेदकका भाइ प्रकाशले आफ्नो छोरोलाई बोलाएर ‘तिम्रो बावुको हातखुट्टा भाँचिदिन्छु र बिएण्डसी अस्पतालमा राखेर उपचार गर्छु भनी धाकधम्कीसमेत दिएको घटना स्मरण गरे भन्दै थिए, पालिका अध्यक्षसमेत दबाव वा प्रभावमा परेका हुन सक्छन् । जुन जमिनमा लगाइएको रुख विरुवा नकाट्न अदालतको आदेश छ । सो भन्दा १ किलोमिटर टाढा रहेको असम्बन्धित मानिसलाई गाउँपालिकाले पत्र काटेर दुःख दिनु पालिका अध्यक्षले अख्तियारको दुरूपयोग गरेको ठहर्छ ।’

अझ पालिकाभित्रै यस्तो विषयमा छानविन गर्ने, मिलाउने अधिकार न्यायिक समितिमा रहेको हुन्छ । तर अध्यक्षले उक्त समितिलाई समेतलाई थाहा नदिई पत्र काट्नु सरासर गलत हो । पश्चिम तर्फका १२ जना र पूर्वतर्फका ६ जना संधियारलाई मुद्धा हालेर अदालतबाट आएको आदेशको प्रति राखी असम्बन्धित व्यक्तिलाई ‘टर्चर’ दिइएको बताइन्छ । बुवा, आमाको नाममा गाउँपालिकाबाट अलग अलग दुईवटा पत्र हुलाकमार्फत घरमा आएपछि पालिका उपाध्यक्ष भवानी खतिवडाले आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताए । 

आफूहरूले भोगचलन गरेको जमिनमा कुनै संधियारको हकभोगको जमिन परेको नहोस् भन्नका लागि कोइराला परिवारले नापी कार्यालय भद्रपुरबाट अमिन झिकाएर गत २०८० माघ २३ गते संधियार राखेर प्रमाणित पनि गरिसकेको अवस्था छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू