उताको चुनावमा पूर्व शाही नातेदारहरुको दबदबा

उताको चुनावमा पूर्व शाही नातेदारहरुको दबदबा
सुन्नुहोस्

चुनावी मैदानमा शाही परिवारको बर्चस्वले भारतीय राज्य ओडिसाको चुनावी माहोल रोचक बन्दैछ । लोकसभा र विधानसभा निर्वाचन ‘पूर्वसामन्ती शासक र राजा–रजौटा’ हरूका लागि स्वर्गझैँ भइरहेको बताइन्छ । 

अध्ययनपछि अमेरिकाबाट फर्किएका नवीन पटनायकले केन्द्रीय राजनीतिमा शासन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) लाई खुलेर समर्थन गरिरहेका छन् । यसपटक राजपरिवारका दर्जनौं उम्मेदवार चुनावी मैदानमा छन् । यी अनुहारहरू हेर्दा भारतमा शासन गर्ने १४औँ वा १५औँ शताब्दीका शासकका सन्तानहरूले ‘भारतीय लोकतन्त्र’को नेतृत्व सम्हालिरहेको अनुभव गरेका छन् ।

मिडियाहरुका अनुसार ओडीसमा मात्रै यसपटक शाही परिवारका करिब १२ जना शक्तिशाली उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरूका लागि निर्वाचनमा भाग लिनु मात्रै पनि आफ्नो विरासतलाई निरन्तरता दिनुको अर्थ लागेको छ । पतनगढको राजपरिवारका सदस्य केभी सिंह देव स्थानीय विधानसभा निर्वाचनमा बालांगीर जिल्लाबाट उम्मेदवार छन् ।

‘जनताको सेवा गर्दा मलाई कसैले पनि राजपरिवारको सदस्य भनेन,’ उनी भन्छन्, ‘यो मेरो लागि सम्मानको कुरा हो ।’ त्यसो त उनकी श्रीमती संगीता कुमारी सिंह देव अहिले बालानगीरकी सांसद छन् । उनी यसपटक पनि भाजपाबाट लोकसभा उम्मेदवार हुन् ।
संगीताले भनिन्, ‘जनताले मप्रति माया र विश्वास देखाएका छन् ।’ बालांगीर राजपरिवारका अर्का सदस्य कालिकेश नारायण सिंह देव बीजू जनता दल (बीजेडी) बाट बलांगीर सदर विधानसभा क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । 

मुलुककै गरिब र पिछडिएको क्षेत्रको रुपमा चिनिएको कालाहाडीबाट भाजपाले राजपरिवारकै सदस्यलाई नै टिकट दिएको छ । भाजपाले पूर्वसांसद अर्क केशरीकी पत्नी मालविका देवीलाई उम्मेदवार बनाएको छ । यसअघि अर्क केशरी बीजेडीमा थिए । तर सन् २०२३ मा बीजेडी त्याग्दै उनी भाजपामा सामेल भएका हुन् । 

भारतीय जनता पार्टीले संबलपुरबाट निर्वाचित सांसद नितिश गंगा देवकी पत्नी अरुन्धती देवीलाई देवगढ विधानसभाबाट उम्मेदवार बनाएको छ । उनलाई वामन्दाकी रानीसमेत भनिन्छ । 

‘शाही परिवारकी छोरी–बुहारी भएपनि म सँधै यहाँका मानिससँग जोडिएकी छु,’ रानीले भनिन् । अर्की शाही नातेदार प्रत्युषा राजेश्वरी सिंहलाई भाजपाले यस पटक नयाँगढबाट विधानसभाको टिकट दिएको छ । उनी यसअघि बीजेडी थिइन् । र, सांसद पनि भइन् । 

त्यसैगरी धरकोट राजपरिवारकी सुलाख्याना गीताञ्जली देवी बीजेडीको टिकटमा सनाखेमुण्डीबाट चुनाव लड्दै छन् । उनले भनिन्, ‘हामी पनि अरुजस्तै सामान्य हौं ।’ 

गञ्जम जिल्लाको टिकिटी भेगकी सदस्य तथा मन्त्री उषा देवीले चुनाव लड्न अस्वीकार गरेपछि छोरा चिन्मयानन्द श्रीरुप देव बीजेडीले चुनावी मैदानमा उतारेको छ । बीजेडीबाट चुनाव लड्ने अन्य शाही परिवारका सदस्यहरूमा कालाहाडीको धरमगढ सिटबाट पूर्वमन्त्री पुष्पेन्द्र सिंह देव उम्मेदवार छन् । 

औल शाही परिवारका सदस्य तथा मन्त्री प्रताप देव केन्द्रपाराबाट चुनावमा भाग लिँदै छन् । अंगुल शाही परिवारसँग जोडिएका राजा निकान्त सिंहकी पत्नी संजुक्ता सिंह अंगुल क्षेत्रबाट चुनाव लड्दैछिन् । 

जबकि धेनकलान राजपरिवारकी सदस्य सुस्मिता सिंह देवलाई स्थानीय विधानसभा उम्मेदवार बनाइएको छ । सुस्मिता पूर्वकेन्द्रीय मन्त्री केपी सिंह देवकी आफन्त हुन् ।

टिप्पणीहरू