एमालेमाथि वैद्यको कटाक्ष :हिरक जयन्तीको नाममा गतिलो भाइ काँग्रेस बन्दै

सुन्नुहोस्

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले नेकपा एमालेलाई 'भाइ कांग्रेस' बन्ने दौडमा रहेको पार्टी भन्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन् । एमालेले आफूलाई भाइ काँग्रेस बनाउनका लागि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा हिरक जयन्ती मनाएको वैद्यले बताए । 

आज १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै बैद्यले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको दाबी गरे । उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिष्ट पार्टी नभएको पनि जिकिर गरे । 

कम्युनिष्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै वैद्यले सत्तामा भएकाहरु दक्षिणपन्थी अवसरवादी धारका रुपमा अघि बढेको बताए । एमाले, माओवादी, एकीकृत समाजवादी र काँग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नरहेको धारणा राखेका उनले सत्ताधारी कम्युनिस्टहरुले वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि नाममात्रै कम्युनिष्ट राखेको आरोप लगाए । 

आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध बनाएर क्रान्ति गर्ने बताए ।

यस्तो छ वैद्यको भनाई :

कम्युनिष्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो । उनीहरुले आफूलाई कम्युनिष्टको नाम राखेर, कम्युनिष्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन् । आज सत्तामा कम्युनिष्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिष्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिष्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो । 

नेपाली काँग्रेस र सत्ताधारी कम्युनिष्टका बिच कुनै तात्विक र मौलिक अन्तर छैन । उनीहरुले माक्र्सवाद, लेनिनवाद, कम्युनिस्टको नाम किन जप्छन् भने नेपालमा कम्युनिष्टहरुको समर्थन गर्ने जनता ठूलो छ । वामपन्थी जनमत ठूलो छ । त्यो जनमतलाई भ्रमित तुल्याउनका लागि उनीहरु लागेका छन् । सच्चा कम्युनिष्टहरुको धार कमजोर छ । क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर यो एकीकृत हुँदै जान्छ । 

त्यो जयन्तीको  उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने । दाई कांग्रेस त छदैछ, गतिलो भाई कांग्रेस बन्ने । यो उद्देश्यमा आधारित छ । अब हाम्रो काम के हो भने यो दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै, यो प्रतिक्रियावादको, दलाल नोकरशाही पुँजिवादी राज्यसत्ताको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी, कम्युनिष्टहरुलाई एकतावद्ध तुल्याउँदै क्रान्ति फेरी गर्न सकिन्छ । हामी फेरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडी बढ्न जरुरी छ ।

टिप्पणीहरू