रासस र कतार न्युज एजेन्सीबीच समाचार आदानप्रदानको तयारी

रासस र कतार न्युज एजेन्सीबीच समाचार आदानप्रदानको तयारी

नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ (क्युएनए) बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्न लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको बताइएकोछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार समझदारीपछि दुवै संस्थाबीच निःशुल्क समाचार आदानप्रदान हुनेछ । रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो भने क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको कतारी सरकारी समाचार एजेन्सी हो । 

नेपाली प्रमण्डलले कतारी प्रतिनिधिमण्डलसँग भोलि द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गर्नुहुने छ । नेपाल र कतारबीच युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुँदै छ ।

टिप्पणीहरू