सुरुङ र सोफा

सुरुङ र सोफा
सुन्नुहोस्

नागढुंगाको सुरुङ ब्रेकथ्रु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको जनयुद्धकालीन एउटा सपना पूरा भएको छ । जनयुद्धमा रहँदा उहाँको सपना थियो– भारतसँग सुरुङ युद्ध गर्ने । सुरुङ युद्धको लागि ठाउँ ठाउँमा सुरुङ खन्ने काम पनि थालिइसकेको थियो । तर दुर्भाग्य नै भन्नुपर्ला, त्यो युद्ध हुन पाएन । अर्थात् सुरुङ युद्ध हुनुअघि नै देशमा शान्ति बहाली भयो । माओवादी सुरुङ छोडेर मूलधारको राजमार्गमा आइपुग्यो । 

त्यतिबेला बीचैमा सुरुङ छोडिएको भए पनि अहिले अर्को सुरुङमा उहाँ प्रवेश गर्नुभएको छ । ब्रेकथ्रु भएको सुरुङमा प्रवेश गर्दा उहाँको अनुहार एकदमै चहकिलो देखिन्थ्यो । उहाँको सुरुङ–प्रेम यसबाट पनि प्रकट हुन्छ । त्यसो त नागढुंगाको यो सुरुङ पूर्वप्रधानमन्त्री केपी ओलीले शुरु गर्नुभएको थियो । तर यो सुरुङको शुरुवात ओलीले गरेको भए पनि यसको सपना भने प्रचण्डले नै देख्नु भएको हो । ओली भन्ने गर्नुहुन्थ्यो– सपना देख्नुपनि ठूलो काम हो । 

त्यति पहिले देखेको सपना अहिले बल्ल पूरा भएको छ । तर यतिबेला बजारमा भने सुरुङको होइन, सुरुङभित्र हालिएको सोफाको चर्चा व्यापक छ । मान्छेहरू सोधिरहेका छन््– अरे ! सुरुङमा सोफा ? किन ? कसरी ? के यो सुरुङ एउटा सोफा राख्नकै लागि मात्र बनाइएको थियो ?

टिप्पणीहरू