लयमा फर्किँदै पर्यटन, बढ्दै पर्यटकको आगमन

लयमा फर्किँदै पर्यटन, बढ्दै पर्यटकको आगमन

पर्यटक अर्थात ‘टुरिस्ट’ । जसले एक स्थानबाट अर्को स्थान वा एक मुलुकबाट अर्को मुलुक भ्रमण गर्छ । केही नयाँ कुरा जान्न र मनोरञ्जन गर्न पर्यटकहरु एक मुलुकबाट अर्को मुलुक भ्रमणमा जाने गर्दछन् । विश्वका अधिकांश मुलुकले पर्यटनलाई आर्थिक उन्नतिको महत्वपूर्ण स्रोत बनाएका छन् । कैयौं मुलुकले पर्यटन उद्योगको विकासमार्फत् समृद्धि हासिल गरेको पाइन्छ । 

नेपाल पनि पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । विविधतापूर्ण  भएकाले नेपाललाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । हिमालको काखमा रहेको देशमा प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पर्यावरणीयलगायतका विविधता पाइन्छ । विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ र घुम्नलायक धेरै स्थान नेपालमा छन् । 

तर, सरकारी बेवास्ताका कारण मुलुकको पर्यटन क्षेत्र उपेक्षामा परेको बताइन्छ । पर्यटनमैत्री पूर्वाधारको विकासमा सरोकारवाला निकायले ध्यान दिएको पाइँदैन । सरकारले नजरअन्दाज गरिरहेको पर्यटन क्षेत्र मुलुकको समृद्धिको आधार बन्न सक्छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमा पर्यटन क्षेत्रलाई राखिएको छ । नेपालको अर्थतन्त्रमा पर्यटनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पर्यटनलाई आर्थिक मेरुदण्डको रुपमा विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता पनि हो । 

विश्वव्यापी कोरोना महामारी र आर्थिक मन्दीका कारण पर्यटन क्षेत्र नराम्ररी थलो पर्यो । पर्यटकसम्बद्ध व्यापार–व्यवसाय डावाँडोल बन्यो । चौपट भएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको छ । पर्यटक भित्र्याउनका लागि विभिन्न स्थानीय तहले कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । चितवनको भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ अभियान सञ्चालनमा ल्याएको छ । 

महानगरले स्वेदशी तथा विदेशी गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यता, पर्यटकीय ‘हब’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । तर, घोषणा गर्दैमा पर्यटक नभित्रिने पर्यटन व्यवसायीहरु बताउँछन् । सहज आवागमनका लागि सडकलगायतका पूर्वाधार, नयाँ गन्तव्यको खोजी र प्रचारमा सरकारले जोड दिनुपर्ने उनीहरुको भनाइ छ । 

कति भित्रिए पर्यटक ? 

सन् २०२४ को जनवरीमा हवाई उडानमार्फत् ७९ हजार एक सय पर्यटक भित्रिएका छन् । सार्कका पाँच वटा मुलुकबाट ३० हजार ८२० जनाले नेपाल भ्रमण गरेका छन् । सबैभन्दा बढी भारतीय पर्यटक छन् । भारतबाट २४ हजार १३९, बंगलादेशबाट तीन हजार ६२९, भुटानबाट दुई हजार २२९, श्रीलंकाबाट ४९३ र पाकिस्तानबाट ३३० जना आएका छन् । 

त्यस्तै, एसियाली मुलुकबाट नेपाल भ्रमण गर्नेमा चिनियाँ धेरै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । चीनबाट सात हजार २६७, थाइल्याण्डबाट चार हजार ६१९, दक्षिण कोरियाबाट तीन हजार ८१२, जापानबाट एक हजार ५६८, म्यानमारबाट एक हजार २२२, मलेसियाबाट ९३९ र सिंगापुरबाट ४६६ पर्यटक आएको विवरण छ । 

युरोपतर्फ बेलायतबाट आउने पर्यटक धेरै देखिन्छन् । बेलायतबाट तीन हजार २७६, जर्मनीबाट एक हजार २८२, फ्रान्सबाट ९७०, स्पेनबाट ५२१, इटालीबाट ५१७, रुसबाट ५१२, द नेदरल्याण्ड्सबाट ४९२, बेल्जियमबाट ३२४, पोल्याण्डबाट २७९, स्विट्जरल्याण्डबाट २५३, डेनमार्कबाट २२५, नर्वेबाट १५२, अष्ट्रियाबाट १८८, स्विडेनबाट १२८, युक्रेनबाट ९४ र चेक रिपब्लिकबाट ७५ जना आएका छन् । 

अमेरिकाबाट सात हजार ४७,  क्यानडाबाट ९२९,  अष्ट्रेलियाबाट तीन हजार ४२१, न्यूजील्याण्डबाट २३६, इजरायलबाट ९८, टर्कीबाट ३६८ भ्रमणका लागि नेपाल आएको देखिन्छ । त्यसैगरी, फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् । सार्क मुलुकबाट ३५ हजार २०८ ले नेपाल भ्रमण गरेको बोर्डले जानकारी दिएको छ । 

जसमा भारतबाट २५ हजार ५७८, बंगलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६८४, भुटानबाट एक हजार ४५३ र पाकिस्तानबाट ३९४ छन् । एसियाली मुलुकअन्तर्गत चीनबाट नौ हजार १८०, थाइल्याण्डबाट चार हजार ७९९, म्यानमारबाट दुई हजार ९२१, दक्षिण कोरियाबाट दुई हजार ३५१, जापानबाट दुई हजार २७, मलेसियाबाट एक हजार ८१५ र सिंगापुरबाट ५९४ ले नेपाल भ्रमण गरेका छन् । 

बेलायतबाट चार हजार ५७१, जर्मनी दुई हजार ४९४, फ्रान्सबाट एक हजार ६९७, द नेदरल्याण्ड्सबाट एक हजार २६, इटालीबाट ८०५, स्पेनबाट ७८७, रुसबाट ६७८, बेल्जियमबाट ५५८, पोल्याण्डबाट ४९९, स्विट्जरल्याण्डबाट ४४२, डेनमार्कबाट ३४०, अष्ट्रियाबाट ३२७, नर्वेबाट २२६, स्विडेनबाट २०९, चेक रिपब्लिकबाट १३९ र युक्रेनबाट ११५ जना नेपाल आएका छन् । 

अमेरिकाबाट नौ हजार ८९, क्यानडाबाट एक हजार ३५८, अष्ट्रेलियाबाट दुई हजार ९७६ र न्यूजिल्याण्डबाट २५६ जनाले नेपाल भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, टर्कीबाट २९२ र इजरायलबाट १५० पर्यटक भित्रिएका छन् । मार्चमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । जसमा भारतबाट ३० हजार ६९८ पर्यटक छन् । 

श्रीलंकाबाट पाँच हजार ७४१, बंगलादेशबाट दुई हजार ९४६, भुटानबाट ९९७, पाकिस्तानबाट ३४५ पर्यटक आएको देखिन्छ । त्यस्तै, चीनबाट १२ हजार ९३, थाइल्याण्डबाट चार हजार ५६७, म्यानमारबाट तीन हजार १३१, दक्षिण कोरियाबाट दुई हजार ८८९, जापानबाट दुई हजार ६४८, मलेसियाबाट दुई हजार १९८, सिंगापुरबाट एक हजार १२२ जनाले नेपाल घुमघाम गरेका छन् । 

बेलायतबाट सात हजार २४१, जर्मनीबाट पाँच हजार २५५, फ्रान्सबाट तीन हजार २४०, इटालीबाट एक हजार ५८१, द नेदरल्याण्ड्सबाट एक हजार ५६३, रुसबाट एक हजार ५८३, स्पेनबाट एक हजार ५४२, पोल्याण्डबाट ९७७, बेल्जियमबाट ८२७, डेनमार्कबाट ७०१, चेक रिपब्लिकबाट ५६२, स्विट्जरल्याण्डबाट ७३९, अष्ट्रियाबाट ६६२, नर्वेबाट ४९४, स्विडेनबाट ४२६, युक्रेनबाट १८९ पर्यटक आएका छन् । 

त्यस्तै, अष्ट्रेलियाबाट चार हजार ३४५, न्यूजिल्याण्डबाट ४३५ जनाले नेपाल घुमेका छन् । अमेरिकाबाट १० हजार ७६३, क्यानडाबाट एक हजार ८५१, इजरायलबाट ७२६ र टर्कीबाट ६१९ जना आएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटकको संख्या बढ्ने देखिएको बोर्डले जनाएको छ । सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ पर्यटक आएका थिए । 

के भन्छन् पर्यटन व्यवसायी ? 

अल नेपाल एडभेञ्चर टुर्स एण्ड ट्रेक्स प्रालिका प्रबन्धक पिताम्बर गुरुङ्गले पर्यटकको संख्या बढेपनि खर्च गर्ने प्रवृत्तिमा ह्रास आएको बताए । विश्वमै देखिएको आर्थिक संकट र महँगिएको डलरका कारण पर्यटकले कम खर्च गर्ने गरेको उनको बुझाइ छ । 

त्यस्तै, सरकारले पर्यटकीय वातावरण निर्माण गर्नमा चासो नदेखाएको गुनासो गरे । पर्मिटको नाममा सरकारले दुःख दिइरहेको उनको भनाइ छ । सरकारले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग नगरेकाले व्यवसायीले आफ्नै खर्चमा प्रचारप्रसार गरिरहनुपरेको उनको दाबी छ ।

पिताम्बर भन्छन्, ‘पर्यटन व्यवसायीको दुःखैदुःख छ । प्रचारप्रसार पनि आफ्नै खर्चले गर्नुपर्छ । प्रचारप्रसारमा सरकारले कुनै सहयोग गरेको छैन । न पर्यटकलाई सुरक्षित वातावरणको प्रत्याभूति नै दिलाउन सकेको छ । डलरको भाउ बढेपछि पर्यटकहरुलाई समस्या भएको छ । पर्यटकको संख्या बढेपनि खर्च थोरै मात्र गर्छन् ।’

पर्यटकले जंगल सफारी, ट्रेकिङ्ग, राफ्टिङ, बञ्जी जम्पिङ्ग गर्न रुचाउने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा गुरुङ्गको जोड छ । यता, होटल व्यवसायीहरु पर्यटन क्षेत्र विगतकै अवस्थामा फर्किन अझै केही वर्ष लाग्ने बताउँछन् । 

पर्यटन क्षेत्रले विस्तारै लय समातिरहेको उनीहरुको भनाइ छ । घुम्नलाई सहज र विश्वासिलो वातावरण बनाएमा मुलुकमा पर्यटकको आवागमन बढ्ने पर्यटनविद्हरुको भनाइ छ । पर्यटकलाई ठग्ने र दुःख दिने क्रमको अन्त्य गर्नुपर्नेमा उनीहरुको जोड छ ।

टिप्पणीहरू