विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
सुन्नुहोस्

भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट हालै फैसला भएका मुद्दामध्ये एउटामा चित्त बुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो । 

सरकारी रकम हिनामिना गरेको अभियोगमा मुद्धा चलाइएकालाई विशेष अदालतले सफाई दिएपछि सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

भ्रष्टाचार अभियोगमा जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालिन अध्यक्ष एजेट न्यासुरसहित सात जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरुले राजविराज नगरपालिकास्थित राजरंगशाला स्तरोन्नति कार्यका लागि आर्थिक वर्ष २०७३-०७४ मा विनियोजित बजेटमा अनियमितता गरेको अख्तियारको आरोप छ । 

विशेष अदालतको गत साउन ३२ गतेको फैसलाले उक्त मुद्दामा प्रतिवादी समितिका तत्कालिन इन्जिनियर विकास श्रेष्ठ, उदय निर्माण सेवाका सञ्चालम उदय श्रेष्ठ र न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालक भिमराज यादवलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोक्यो । 

तर, न्यासुरसहित जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालिन प्रमुखहरु महेन्द्रप्रसाद यादव र लक्ष्मण मण्डल तथा उपाध्यक्ष घिरेन्द्र बर्मालाई सफाइ दिएको थियो । त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

टिप्पणीहरू