अस्पतालभित्रै ११ वर्षीया छोरी बाबुद्वारा बलात्कृत

अस्पतालभित्रै ११ वर्षीया छोरी बाबुद्वारा बलात्कृत
सुन्नुहोस्

आफ्नै बाबुबाट असुरक्षित छोरी कहाँ जाऊन् ? आमाको पनि ठेगान र भर नभएपछि बालिकालाई माइती नेपालमा पठाइएको छ । चैतको दोस्रो साता रातको समयमा कोठामै सुतेको बेला चितवनको भरतपुर–७ मा ११ वर्षीया बालिका पटकपटक बलात्कृत भएकी हुन्  । क्यान्सर अस्पताल परिसरभित्र छोरीलाई आफ्नै बाबुले जबरजस्ती करणी गरेपछि उनीमाथि कानुनी कारबाही थालिएको छ।
 ।

लमजुङ घर भई भरतपुरमा बसेर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सरसफाइको काम गर्दै आएका काले भनेर चिनिने सन्तबहादुर विकले अस्पतालकै आवासगृहमा छोरीलाई बलात्कार गरेको खुलासा भएको थियो । लगत्तै पक्राउ गरेर जबरजस्ती करणी मुद्दा चलाइएको छ । विक यही वैशाख ६ गते चितवन जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    
घर लमजुङ भएपनि बालिकाका बाबुआमा दुवैजना चितवनमा बसेर काम गर्दै आएका थिए तर सँगै बस्दैनथे। जँड्याहा श्रीमानको यातना तथा शारीरिक–मानसिक हिंसा सहन नसकेर श्रीमती चितवनकै एक विद्यालयमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी पाइएको छ । दुई छोरीहरु बेसीसहरमै हजुरआमासँग बसेर उतै पढ्दै थिए । क्यान्सर अस्पतालको आवास गृहमा एक्लै बसिरहेका अन्दाजी ४० वर्षीय सन्तले यही चैतमा गएर छोरीहरु ल्याए । आफूसँगै राखेर पढाउन भनेर ल्याएकी छोरीलाई रक्सी धोकेर राति यौनशिकार बनाएको बुझिन्छ ।
 
बताइएअनुसार ११ वर्षकी दिदीलाई बाबुले राति सुतेको बेला पशुवत व्यवहार गरेको कान्छी छोरीलेसमेत थाहा पाएकी थिइन् । सन्तले छोरीलाई लगातार तीन दिनसम्म बलात्कार गरेको पाइएको छ । बालिका रुन–कराउन थालेपछि छिमेकीहरुले पनि थाहा पाए । त्यसपछि बालिकाको मामाका छोरालाई खबर गरिएको थियो । मामाको छोराबाट सूचना पाएपछि चैत १२ गते राति प्रहरी र माइती नेपाल चितवनको टोलीले क्यान्सर अस्पतालको कोठाबाटै सन्तलाई पक्राउ गरेर बालिकाहरुको उद्धार गरेको हो ।  

तत्काल आमा नभेटिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयले माइती नेपाल चितवनलाई बालिकाहरुको संरक्षणको जिम्मा लगाएको थियो । दुवै छोरीहरुलाई चितवनकै आवधिक गृहमा राखिएकोमा आज पीडित बालिकालाई माइती नेपालको केन्द्रमा– त्यहीँ बस्ने, खाने पढ्ने व्यवस्था मिलाएर पठाएको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जानकारी दिए ।

घटना भएको झण्डै १० दिनपछि बालिकाका आमा नभेटिएकी होइनन् । आफूसँगै राख्दा हेर्ने मान्छे नहुने र काम गरिखान समस्या पर्ने भन्दै ठूली छोरीलाई माइती नेपालमै राख्न, पढाउन आमा पनि राजी भइन् । यसपछि बालिकालाई आज बिहान माइती नेपालकै महिला कर्मचारीको साथमा काठमाडौं पठाएको चितवनप्रमुख गिरीले बताए ।

चितवनबाट यो आर्थिक वर्षमा हालसम्म हिंसामा परेका र हिंसाको उच्च जोखिममा रहेका चेपाङसहितका ११ जना बालिकाहरुलाई सुरक्षणको निम्ति केन्द्रीय आवासगृहमा पठाइसकिएको छ । काठमाडौंमा माइती नेपालको आफ्नै स्कूल छ टेरेजा एकेडेमी । पढ्नेहरुलाई बाहिर उच्च शिक्षाको लागि समेत माइती नेपालले सघाउँदै आएको छ । माइती नेपालको सहयोगमा एमबीबीएस गर्नेहरु पनि भएको उनी बताउँछन् । आवास, शिक्षा र स्वास्थ्योपचारका साथै संरक्षणमा राखिएका चेलीहरुलाई विभिन्न सीपमूलक तालिम र रोजगारीको  अवसर माइती नेपालले प्रदान गर्दै आएको पनि गिरीले बताए ।

टिप्पणीहरू