देश बचाउन आए राजा

देश बचाउन आए राजा

गणतन्त्रवादीहरूको सरकारले कतारका राजालाई स्वागत गरेको देखेर नेपालका राजावादीहरू नै चित खाएका छन् । शायद मनमनै भन्दा हुन्, यत्तिको सम्मानै गर्ने हो भने आफ्नै देशको राजालाई गर न । किन विदेशको राजालाई गर्ने ? यिनीहरू विदेशबाट सञ्चालित भनेको यसैबाट पुष्टि भइहाल्यो नि ! आफ्नै देशको राजा हुँदाहुँदै विदेशी राजालाई सम्मान गरेपछि विदेशीबाट सञ्चालित भन्ने पुष्टि भएन त ?

तर म भन्छु, अहिले कतारको राजा नेपाल आउनु र नेपालमा उहाँको भव्य स्वागत हुनुबाट नेपालका राजावादीहरू त खुशी नै हुनुपर्छ । यसमा दुःखी हुनुपर्ने कुनै कारण छैन । किनभने हाम्रा राजावादीहरूले दशौैं वर्षदेखि ‘राजा आऊ, देश बचाऊ’ भनेर जुन नारा लगाउँदै आएका थिए नि, त्यो नारा अहिले आएर बल्ल सार्थक हुँदैछ । उनीहरूले ‘राजा आऊ, राजा आऊ’ भनेर नारा लगाएकै कारण आज नेपालमा कतारका राजा आउनुभएको छ ।

आखिर हाम्रा राजावादीहरूले नारा लगाएको त ‘राजा आऊ’ भनेर न हो । कहाँको राजा आऊ त भनेकै छैन । त्यसैले उनीहरूका लागि जहाँको राजा आए पनि हुन्छ । अब कतारको आइदिए त राम्रै भयो । कतारको राजा पनि वास्तवमा देश बचाउनकै लागि आउनुभएको हो । कतारमा बढीभन्दा बढी नेपालीहरूलाई रोजगारी दिएपछि देश त बचिहाल्यो नि ! अहिले मलेशियाले रोजगारी बन्द गरिदिएको छ । अष्ट्रेलिया, क्यानाडाले धमाधम नेपालीहरूलाई फर्काउँदै छ । यस्तोबेला देश बचाउन कतारका राजा आउनुभएको छ । के यो खुशीको कुरा होइन ?

टिप्पणीहरू