हिजो पार्टी विभाजन, आज एकता

हिजो पार्टी विभाजन, आज एकता
सुन्नुहोस्

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा मसालबाट विद्रोह गरेपछि छुट्टै अस्तित्वमा रहेको सन्तबहादुर नेपाली नेतृत्वको समूहबीच पार्टी एकीकरण भएको छ । 

आज पुरानो बानेश्वरस्थित ॐ साई पार्टी प्यालेसमा संयुक्त एकता अधिवेशन गर्दै पार्टी एकीकरणको औपचारिक घोषणा गरिएको हो । अधिवेशनले अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पास गर्नुका साथै पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’ नै राख्ने निर्णय गरेको छ । 

त्यस्तै, संयोजकमा मोहन वैद्यलाई निरन्तरता दिइएको छ भने दुईजना सहसंयोजक तोकिएका छन् । केही समयअघि विप्लव समूहबाट छुट्टिएर आएका धर्मेन्द्र बाँस्तोलालाई निरन्तरता दिँदै सहसंयोजकमा सन्तबहादुर पनि थपिएका हुन् । 

मशालको विद्रोही शक्तिसँग एकता गरेको यो पार्टीबाट हिजो एक समूह अलग्गिएको थियो । पूर्णबहादुर सिंह समरजंगको नेतृत्वमा वैद्यको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका १० जना केन्द्रीय नेताहरूले हिजो पार्टी छाडेको घोषणा गरेका थिए ।

सन्तबहादुर समूहसँगको एकताप्रति असन्तुष्ट रहेको सो समूहले क्रान्तिकारी कम्युनिस्ट पार्टी निरंकुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको आरोपसमेत लगाएका छन् ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउने निर्णयप्रति असन्तुष्ट रहेका वैद्यले २०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर आफ्नै नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए । त्यसयता पटक–पटक विभाजन भएको उक्त पार्टी अहिले अस्तित्व जोगाउनै धौधौको अवस्थामा पुगेको छ ।

टिप्पणीहरू