सधैंको हावाहुरीले सबैतिर बिगार्न सक्दैन

सधैंको हावाहुरीले सबैतिर बिगार्न सक्दैन

इलाम क्षेत्र नम्बर–२ बाट एउटा कलिलो राजनीतिक अनुहार संसदीय राजनीतिमा छिरेको छ । पुराना दल र पुराना ‘नेता’का अनुहार विस्थापित हुने लहर चलिरहेका बेला भएको यो उपनिर्वाचनमार्फत एउटा ‘फ्रेस’ अनुहार राजनीतिमा उदाएको छ ।

आफ्ना बुवा सुवास नेम्वाङको राजनीतिक विरासत लिएर राजनीतिको मैदानमा ‘डेब्यू’ गरेका सुहाङ नेम्वाङ सानदार मतसहित अब संसद छिर्ने भएका छन् । २०७९को मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा आफ्नै बुवाको प्रतिस्पर्धीलाई यसपालि छोरा सुहाङले पनि फराकिलो मतले पराजित गरेका छन् ।

वकालती व्यवसाय सँगसँगै खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन थालेका सुहाङका लागि राजनीति बिल्कुलै नयाँ ‘मैदान’ हो । तथापि जीवनभरि राजनीति गरेका बाबुका हरेक सन्तान अनि परिवारमा राजनीतिक चेत र भावना नहुने भन्ने हुँदैन । सुहाङको त्यो चेत र चेतनाको वास्तविक परीक्षण अब बल्ल शुरु भएको छ । पश्चिम नेपालको झुलाघाटबाट शुरु गरेर नेकपा एमालेले चिवाभञ्ज्याङमा समापन गरेको ‘पहाडी लोकमार्ग यात्रा’ सुहाङको लागि राजनीतिको सुरुवाती यात्रा पनि थियो ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले पछि पारेर नेकपा एमालेका सुहाङ ‘लोकप्रिय’ मतका साथ विजयी भए । उनले २७ हजार ७ सय ७२ मत पाएका छन् । यो भनेको अघिल्लो चुनावमा नेकपा एमालेले पाएको समानुपातिक मतभन्दा पनि बढी हो । सुवास नेम्वाङले कहिल्यै नहारेको क्षेत्र हो इलाम–२ । जहाँबाट नेम्वाङले हरेक चुनाव जिते । पार्टी अनि सत्ताको राजनीतिमा सुवास आफै एउटा सुवासिलो बनिरहे । आफ्नो राजनीतिक जीवनमा कहिल्यै कुनै गम्भीर विवादमा नमुछिएका उनले संविधानसभाको अध्यक्ष भएर एउटा महत्वपूर्ण राजनीतिक जिम्मेवारी पूरा गरे । पार्टी जीवनमा उनको योगदान पार्टीपंक्तिले पक्कै मूल्याङ्कन गरिरहेकै होला तथापि एउटा राजनीतिज्ञका रूपमा आम नागरिकले एउटा जीवन्त पात्र बनाएर उनलाई राजनीतिक आदर्श मानिरहेकै छन् ।

२०७९को आमचुनावमा रचिएको ‘वामपन्थी–डेमोक्र्याटिक’ गठबन्धनका बीचबाट पनि जित निकालेका सुवासको गत वर्षको भदौमा निधन भएको थियो । त्यसपछि उनै स्थानमा नेकपा एमालेले सुहाङलाई अघि सारेको हो । मतको अंकगणित मतदाताको ‘भोट’मात्रै होइन यसको सन्देश ती मतदाताको ‘भावना’ पनि हो । यो मत परिणाम इलामेलीमात्रै होइन देशभरका मतदाताको एउटा यस्तो साझा भावना हो जसले बिल्कुलै नयाँमात्रै होइन भइरहेकाहरूमध्येमै केही विकल्प खोजेको छ । जसले ‘थोत्रा’ राजनीतिक दिमागहरूलाई सच्चिएर अनि माझिएर आउन संकेत पनि गरेको छ ।
एमाले नेता गोकुल बाँस्कोटाले भनेजस्तै यो चुनावले एकैसाथ तीनवटा राजनीतिक प्रवृत्तिलाई सोझो जवाफ दिएको छ ।

पहिलो, जनताको भरोशा स्पष्ट विचार र दर्शनमा आधारित दलप्रति छ, दोस्रो नेपालमा साम्प्रदायिक अतिवादलाई स्थान छैन र तेस्रो पुनरुत्थानवाद स्वैर कल्पना हो । भलै उनले भनेजस्तो ‘इलाम र बझाङको उपचुनावले वर्तमान सत्ता गठबन्धनलाई तात्विक परक पर्ने’ थियो वा थिएन भन्नेचाहिँ राजनीतिको एउटा ‘कोर’ विश्लेषण हुन सक्छ । खासगरी प्रदेशको नामकरणपछि पूर्वी पहाडमा जबर्जस्त उठेको एउटा मुद्दा हो ‘पहिचानवाद’ अर्थात् त्यहाँका आदिवासीको पहिचान । त्यसलाई एउटा राजनीतिक ‘अतिवाद’ मान्ने हो भने पनि यो परिणामले अलिकति भए पनि सन्देश दिएकै छ । माओवादी जनयुद्धसँगै प्रत्युत्पादन भएका कतिपय यस्ता ‘अतिवाद’हरूले अहिले पनि समाज र राजनीतिलाई कता कता बिथोलिरहेको छ ।

पहिचान पक्षधर मानिएका डेकेन्द्रसिं लिम्बुले पाएको ११ हजार ४५७ मत त्यो अतिवादको बाछिटा पनि हो । ‘पहिचानवादी’हरूले साझा उम्मेदवारका रूपमा लिम्बुलाई ‘स्वतन्त्र’ खडा गरेका थिए । यद्यपि ‘मुढा’मा ओइरिएको ११ हजार ४५७ मत कम्ती होइन, गणितका हिसाबले यसको जति मूल्य हो त्यो भन्दा बढी मूल्य ११ हजार ४५७ मत ‘भावना’हरूको बिम्ब पनि हो । जसलाई राजनीतिक दलहरूले सम्बोधन र व्यवस्थापन गर्न उत्तिकै जरुरी छ । सांसद भइसकेपछि अब सुहाङको काँधको धेरथोर जिम्मेवारीको वजन यो मतको पनि हुनेछ ।

इलामको चुनावी गणितलाई मात्रै हेर्ने हो भने यसपालि ‘ठूला’ भनिएका दलहरूको मतप्रतिशत घटेको छ । झण्डै ८ हजार मतको मुनि रहेको नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार जो सुहाङका बुवा अर्थात स्व. सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले मात्रै पराजित भएका थिए । उपचुनाव लड्ने कांग्रेसका उम्मेदवार पनि उही नै हुन् जसले यसपालि कम्तीमा ८ हजार कम मत ल्याए । अघिल्लोको तुलनामा यो धेरै फराकिलो अन्तर हो । यद्यपि, सुहाङले पनि आफ्नो बाबुभन्दा केही कम ल्याएका छन्् । खासमा मत र मतान्तरको यो अंकगणित मतदाताको मनोभावनाको एउटा अन्तर्घुलन पनि हो । जसले अलिकति परिवर्तन खोजेको छ । जसले राजनीतिमा केही संकेत पनि छोडेको छ ।

राजनीतिक हिसाबमा यो उप निर्वाचन नेपाली कांग्रेसको एउटा ठूलो ‘क्षय’ त हुँदै हो त्यसमाथि उसका आगामी राजनीतिक पाइलाहरूका लागि यो एउटा निकै अर्थपूर्ण सन्देश पनि हो । ‘गठबन्धन’ सत्ताअभ्यास गर्दै आएको कांग्रेस अचानक ‘प्रि–इलेक्सन अलाएन्स’ नगर्ने निर्णयमा पुग्छ । अनि त्यसकै परिणाम सत्ता गठबन्धनको नयाँ राजनीतिक समीकरण निर्माण हुन्छ । अबका चुनावी मैदानमा ‘एक्लै’ लड्ने निर्णयमा पुगेको नेपाली कांग्रेसका लागि यो उपचुनाव पहिलो परीक्षा थियो जसमा उसले ठूलै सन्देशात्मक परिणाम पाएको छ ।

२०७९को चुनावबाट निर्णायक मत लिएर संसदीय राजनीतिमा उदाएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को उपस्थितिले पनि केही राजनीतिक सन्देशहरू दिएको छ । यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीको ५०५० मत अघिल्लो चुनावको भन्दा कम्तीमा ४ गुणा बढी हो । तर जमानत नै जफत हुने यो मतले ‘घण्टी’लाई दिएको एउटा स्पष्ट सन्देश के हो भने– कहिलेकाहीँ चलेको बतास यस्तो पनि भइदिन्छ कि त्यसले खासै केही असर गर्दैन । सधैँभरि हावाहुरीले केही ‘बिगार’ नगर्न पनि सक्छ । एकजना व्यक्तिको ‘क्रेज’ले केही सिमित ठाउँमा बटुलेका ‘सहानुभूति’हरू आम मतदाताको भावना नहुन पनि सक्छ ।

बझाङको प्रदेशसभामा पनि त्यस्तै भयो । वर्षौंपछि कांग्रेसको ‘किल्ला’मा नेकपा एमालेको उपस्थिति भएको छ । प्रदेश ‘क’मा भएको उप निर्वाचनमा नेकपा एमालेका दमन भण्डारीले कांग्रेसका अभिषेकप्रताप सिंहलाई पराजित गर्दै पहिलोपटकमै कांग्रेसी किल्ला तोडिदिए । एमालेका भण्डारी ११ हजार ६१३ मत ल्याएर विजयी भए । कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाए । झिनो मतको यो अन्तरमा पनि कहिलेकाहीँ कुनै न कुनै विशाल राजनीतिक सन्देशहरू छिपेका हुन्छन् । संसदीय अंकगणितमा नेकपा एमालेको एक मत बढेको छ । त्यसले प्रदेश सत्ता राजनीतिको हिसाबकिताबमा अलिकति प्रभाव त पार्न सक्छ । तर, त्यसमा अनेकौं राजनीतिक र मतदाताको मनोभावनाहरू पनि गाँसिएका छन् ।

एउटा मतदाताले कुनै उम्मेदवारका नाममा दिने मत मात्रै ‘एक भोट’ होइन । कैयाँै पुस्ताका लागि त्यो एउटा मतदाताकाको भावना हो । उसको चाहना र मनोभावको बिम्ब पनि हो । पूर्वमा एकातिर एमालेले बुवाको राजनीतिक बिरासत जोगाउन सुवास नेम्वाङका छोरा सुहाङलाई अघि सारेको थियो भने पश्चिमको सूदूरपहाड बझाङको प्रदेशसभाका लागि नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहका छोरा अभिषेक प्रतापलाई मैदानमा उतारेको थियो ।

प्रतिनिधिसभाका सुवास नेम्वाङ र प्रदेशसभाका पृथ्वीबहादुर दुबैको मृत्यु भएपछि ती दुई ठाउँमै फरक फरक दलले उनकै सन्तानलाई अघि सारे । राजनीतिक भाषामा यसलाई ‘सहानुभूति’ भन्छन् । अर्थात् केही ‘सहानुभूति’को मतको आश । तर, विरासत जोगाउने नाममा वा ‘सहानुभूति’का लागि मात्रै चुनाव जितिँदैन भन्ने बलियो सन्देश बझाङका मतदाताले दिएका छन्् । बझाङको यो निर्वाचनमा कुनै पनि दलबीच गठबन्धन भएन । बरु यहाँ त अहिलेको सत्ता गठबन्धनमै भएका दल पनि लडे । तर मुख्य प्रतिस्पर्धा दुई दल कांग्रेस र नेकपा एमालेबीचमै भयो ।

समग्रमा यी दुई उपचुनावका परिणामले राजनीतिक दलहरूले फुकाउनै नमानिरहेको ‘गठबन्धन’को गाँठोलाई एउटा झट्का दिएको छ । नयाँ अनि पुराना दललाई उनीहरूकै चरित्रअनुसारको जवाफ दिएको छ । जसले जति मत पाएको छ ती हरेक मतलाई मसिनोगरी आत्मसात र आत्मसमीक्षा गर्ने हो भने यी चुनावी परिणाम हरेक राजनीतिक दल र हरेक ‘स्वतन्त्र’का लागि एउटा कोशेढुङ्गा बन्न सक्छ । मिसन–८४ त छँदै छ !

टिप्पणीहरू