प्रकाश सपुतले चैते दशैँमा 'वसन्त' ल्याउने

प्रकाश सपुतले चैते दशैँमा 'वसन्त' ल्याउने

लोकदोहोरी गायकका रुपमा चर्चा कमाएका प्रकाश सपुतले अब फिल्म बनाउने भएका छन् । उनले आज औपचारिक कार्यक्रम गरेर चलचित्र 'वसन्त'को घोषणा गरेका हुन् । 

एउटा अनाउन्समेन्ट भिडियोसमेत सार्वजनिक गरेका प्रकाशले चलचित्र निर्माणको घोषणासहित कलाकारबारे पनि जानकारी गराएका छन् । चलचित्रको मुख्य भूमिकामा उनीसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय रहने जनाइएको छ । 

चलचित्रको लेखन, निर्देशन, र संगीत पनि प्रकाश आफैँले गर्दैछन् । सहायक निर्देशनमा भने उनका भाई सुनिल विक रहने छन् । आगामी चैते दशैँमा रिलिज गरिने भनिएको यस चलचित्रको कार्यकारी निर्मातामा भने मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । 

चलचित्रमा जात व्यवस्थाले पारेको वर्गीय खाडलको कथावस्तु प्रस्तुत गरिने बताइएको छ । प्रकाशले चलचित्रकै लागि भनेर गलबन्दी प्रोडक्शन नामक कम्पनीसमेत खोलिसकेका छन् । 

प्रकाशका 'गलबन्दी', 'पीर', 'सकम्बरी', 'कुरा बुझ्न पर्च', 'मुटु कटक्कै' लगायतका गीत चर्चित छन् । उनले यसअघि नारायण रायमाझीले निर्माण गरेको चलचित्र 'परदेशी २' मा पनि काम गरेका थिए ।

टिप्पणीहरू