नयाँ प्रेमी र खजुरे ब्रोसँग जोडिएको नितिको भविष्य

नयाँ प्रेमी र खजुरे ब्रोसँग जोडिएको नितिको भविष्य
सुन्नुहोस्

निर्माताहरुले फिल्म बनाउँदा सामान्यतयाः नयाँ अनुहारलाई विश्वास गर्दैनन् । कलाकार आफ्नै सन्तान भए, अर्कै कुरो नत्र निर्माताहरुको रोजाईमा चल्तीकै अनुहार पर्ने गर्छन् ।  

निर्माताले आफ्नो लगानी सुरक्षाका लागि चलचित्रमा चल्तीका कालाकार लिने ‘ट्रेन्ड’ मोडल निति शाहको हकमा भने अपवाद बनेको छ । ‘षडङ्ग’ फेम्ड सुरुज सुनुवारले नितिमाथि आँखा चिम्लिएर लगानी गरेका हुन्, चलचित्र ‘खजुरे ब्रो’मा । 

चलचित्रमा रियर राई, महेश त्रिपाठी, नवीन मानन्धरलगायतको अभिनय छ । तर, प्रचारप्रसारमा भने निर्माणपक्ष नीतिकै भर परेको देखिन्छ । त्यसो त, उनको पनि यो डेब्यु चलचित्र हो । 

सन् २०१७ मा ‘मिस इन्टरनेसनल’को उपाधि जितेसँगै मिडिया अटेन्सन पाएकी हुन उनले । सामाजिक सञ्जालमा सक्रिय उनको राम्रै फ्यान फ्लोइङ छ । त्यसयता विभिन्न म्युजिक भिडियो र कर्पोरेट विज्ञापनहरुमा काम गर्ने मौका पाए पनि नीतिले ठूलो पर्दामा भने अवसर पाएकी थिइनन् । 

हुन त, फेसबुक र इन्स्टाग्रामको फ्यान बेसले फिल्म चल्दैन । त्यहि भएर होला निर्माण पक्षले उनलाई नै केन्द्रमा राखेर प्रचार बढाएको । र, अहिले चलचित्र ‘खजुरे ब्रो’ जत्तिको प्रचार भइरहेको छ, त्योभन्दा नीतिको बढी प्रेमसम्बन्धले चर्चा पाइरहेको छ । 

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग सम्बन्ध बिग्रिएपछि उनलाई ब्रेकअपको प्रश्नले हैरान बनाएको थियो । सिरोहियाले  पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग बिहे गरेपछि उनले यो प्रश्नबाट मुक्त पाइन् । 

अहिले फेरि उनलाई फिल्मभन्दा पनि प्रेम सम्बन्धको प्रश्नले हैरान बनाउन थालेको छ । यद्यपि, नीतिले त्यस्ता प्रश्नलाइ नकार्न भने सकेकी छैनन् । धेरैले उनलाई श्रंखलाकै पूर्वप्रेमी एवम् ब्लगर सिसन बाँनियासँग नाम जोडेर ट्रोल गरिरहेको पाइन्छ । तर, यसमा कुनै सत्यता देखिँदैन । 

वास्तवमा शाहका प्रेमी सिसन नभएर याञ्चित समशेर राणा भएको खुलेको छ । उनीहरु दुई वर्षदेखि प्रेममा रहेको बताइन्छ । राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । उनको ‘एयर डाइनेस्टी’ हेलिकोप्टर सर्भिसेज कम्पनी छ । कम्पनीले हेलिकोप्टर सेवा, उद्धार सेवा, चार्टर उडान, कार्गो, एरियल फिल्मिङ र एभरेष्ट तथा अन्नपूर्ण बेस क्याम्पमा टुर गराउँछ । 

राणाले बेलायतबाट उच्च अध्ययन पूरा गरेका हुन् । उनी मुलुकका धनीमध्येका एक तथा राजनीतिज्ञ पशुपति समसेर राणाका नाती पनि हुन् । 

जे भएपनि उनको पहिलो चलचित्र ‘खजुरे ब्रो’ आगामी शुक्रबार प्रदर्शनमा आउँदैछ । त्यसपछि चलचित्रले नीतिलाई कहाँ पुर्याउँछ त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू