सुनकोशी-मरिन डाइभर्सन आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’, अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

सुनकोशी-मरिन डाइभर्सन आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’, अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
सुन्नुहोस्

राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङको 'ब्रेक थ्रु' गर्नुभएको हो । 
 
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा विश्वस्त रहनुभएका प्रधानमन्त्रीले यसबाट सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने बताउनुभयो । 

'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ', प्रधानमन्त्रीले भन्नुभयो, 'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।'

सुनकोशी-मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै उहाँले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । भन्नुभयो, 'सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।'
 

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउनुभयो । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उहाँले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गर्नुभयो ।

यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताउनुभयो । 

आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल/जलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गर्नुभयो ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।
 

टिप्पणीहरू