कार्यालय प्रमुखले महिनौंसम्म रमाना नलिएपछि कर्मचारीहरु क्रुद्ध, तालुक मन्त्रालय मौन

कार्यालय प्रमुखले महिनौंसम्म रमाना नलिएपछि कर्मचारीहरु क्रुद्ध, तालुक मन्त्रालय मौन
सुन्नुहोस्

सरकारी कार्यालयका प्रमुखले नै माथिल्लो निकायको निर्देशन पालना नगरेपछि कार्यालयको कार्य वातावरण कस्तो होला ? अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा त्यस्तै देखिएको छ । कार्यालय प्रमुखले नै मन्त्रालयबाट प्राप्त सरुवापत्रको धज्जी उडाएपछि कर्मचारीहरुले खासखुस गर्न थालेका हुन् । 

प्रमुख रमेश गौतमले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको आफ्नै सरुवाको निर्णय लत्याएको कर्मचारीहरु बताउँछन् । गौतम गत वर्ष असार ११ गतेको सरुवापछि यातायात व्यवस्था कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए । तर फागुन १९ गते उनको सरुवा उद्योग तथा यातायात व्यवस्था मन्त्रालय देउखुरीमा भयो । मुख्यमन्त्री कार्यालयको सचिवस्तरको बैठकले गरेको उक्त निर्णय भोलिपल्टै चलानी गरिए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

प.स.०८०/८१, च.नं. १५१९ को पत्रानुसार उनलाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयमा खटाइएको छ । तर हालसम्म रमाना नलिएपछि गौतम कार्यालय प्रमुखको जिम्मेवारीमा नै छन् । उनको सरुवापछि मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर त्यहाँ हाजिर भएका आठौं तहका अधिकृत विनोद पौैडैललाई मोटरसाइकल फाँटको जिम्मेवारीमा सीमित गराइएको छ ।

सरुवा हुँदा पनि कुर्सी नछाडेपछि कर्मचारीहरुले नै अनेक प्रचार गर्न थालेका छन् । पछिल्लो समय कार्यालयको अवस्था गञ्जागोल हुँदै गएको उनीहरुको भनाइ छ । कतिपय गाडी पास बेरितमा भएको, सवारी चालक अनुमतिपत्र जारीलगायत कार्यालय खर्चमा मनोमानी गरिएको आरोपसमेत छ । विभिन्न ट्रायल सेन्टरहरुले कुरो नमिलेपछि कार्यालय प्रमुखले दुःख दिएको गुनासो पनि सुन्न थालिएको कर्मचारीहरु बताउँछन् । 

यसअघि मुख्यमन्त्री कार्यालयबाट रुपन्देहीको एक स्थानीय तहमा सरुवा भएका उनलाई पालिकामा हाजिर नगराई फर्काइएको थियो । तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरीको ‘ग्रीन सिग्नल’ पछि उनी त्यताबाट सोझै यातायात कार्यालयमा सरुवा भएका थिए ।

यातायात कार्यालयको घरभाडाको विषय पनि यतिखेर पेचिलो बनेको छ । गत पुस १ गतेदेखि यातायात कार्यालय सरकारी भवनमा सरेको छ तर यसअघि भाडामा बसेको घर  छाडिएको छैन । साबिकको सीप विकास कार्यालयबाटै अहिले यातायात कार्यालयले सेवा दिइरहेको छ । उता घरधनीसँगको मिलोमतोमा मासिक ६० हजार रुपैयाँ भाडा तिरेपछि धेरैवटा शंका गर्ने ठाउँ मिलेको हो । उक्त खर्चले राज्यकोषमा अनावश्यक व्ययभार थपेकोमा कर्मचारीहरुको एउटै स्वर छ ।

सरुवाको विषयमा गौतमले अनौपचारिक रुपमा भदौसम्म आफैं कार्यालय प्रमुख हुने जानकारी दिएपछि कर्मचारीहरुले आश्चर्य जनाएका हुन् । उनको कार्यशैली र रमानाबारे तालुक मन्त्रालयका कर्मचारीहरुसमेत तैं चुप, मैं चुपको अवस्थामा बसेपछि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने उखान देउखुरीमा चरितार्थ भएको हो ।

टिप्पणीहरू