राष्ट्रपतिको सम्बोधनमा बाह्रै महिना, व्यवहारमा अर्कै
यो वर्षको वर्षायाम सुरु हुन मुश्किलले एक महिना बाँकी छ । विगतका वर्षमा झैँ काठमाडौं उपत्यकामा मेलम्चीको पानीको निरन्ताबारे पुनः अन्यौल उत्पन्न भएको छ । काठमाडौंका सर्वसाधारणलाई पुनः मेलम्चीको पानी बन्द हुने चिन्ताले पिरोल्न थालेको छ ।
२०४८ सालको आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने घोषणा गरिदिए । त्यसको चार वर्षपछि २०५२ सालमा मेलम्ची खानेपानी विकास समितिको स्थापना भयो र ०५५ सालबाट आयोजनाको थालनी गरियो ।
२०५८ सालमा एसियाली विकास बैंकबाट १२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौता स्वीकृत भएपछि आयोजनाले भौतिक निर्माणको काम थालेको थियो । परियोजनामा हालसम्म नेपाल सरकार र एसियाली विकास बैंकको अर्बौ रकम खर्चिइएको छ ।
पहिले आयोजनाको सम्पूर्ण कार्य आर्थिक वर्ष २०६४÷०६५ भित्र गरिसक्ने लक्ष्य थियो । यद्यपि, लक्ष्यभन्दा १६ वर्षपछि पनि आयोजनाले पूर्णता पाएको छैन । २२ वर्षपछि ०७७ असार २१ गते तत्कालीन खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी पथान्तरणको शुभारम्भ गरिन् ।
सुरुङको राम्रोसँग परीक्षण नगरी पानी पथान्तरण गर्दा सिन्धुपाल्चोकको अम्बाथानस्थित अडिट टनेल भत्कियो । सो क्रममा दुई जनाको ज्यान गयो । असार २० गते अडिट टनेल भत्किएर इन्जिनियर सतिश गोइत र चालक राधाकृष्ण थापाको निधन भएको थियो । अन्य दुई जना पनि घाइते भए ।
सोही वर्षको फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीको उद्घाटन गर्नुभयो । तर, निर्माण कार्य नसकिँदै हतारोमा गरिएको यो उद्घाटनपछि पनि राजधानीमा पानी आएन । एक महिनापछि चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्ची खानेपानी वितरणको शुभारम्भ गर्नुभयो ।
भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर उहाँले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गर्नुभएको थियो । चैत २५ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भयो ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भनिएपनि सुरुमा साढे आठ करोड लिटर पानी वितरण ल्याइयो । त्यसपछि उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने सर्वसाधारण र सरोकारवालाको अपेक्षा थियो ।
तर, ०७८ असार १ गते मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान नै पुरिएपछि पानी बन्द भयो । त्यसयता, प्रि–मनसुन (वर्षायाम) सक्रिय भएसँगै मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गर्दै आएको छ ।
वर्षेनी बाढीले क्षति पुर्याउने, मर्मत टुक्राएर गरिएकाले मेलम्चीको पानी कहिलेदेखि नियमित हुन्छ ? भन्ने सम्बन्धमा अझै यकिन हुन सकेको छैन ।
यो वर्ष पनि बर्खामा मेलम्चीको पानी नआउने
गत माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानीको उद्घाटन गर्नुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर उहाँले खानेपानीको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटनको पाँच महिनामै अब पानी बन्द गर्न लागिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका संयोजक पदमबहादुर कुँवरका अनुसार यो वर्ष पनि बर्खायाम सुरु हुनासाथ पानी बन्द गरिनेछ । ‘मनसुन सुरु हुनासाथ आयोजनाको सुरुङको ढोका बन्द गरिनेछ,’ उनले भने, ‘त्यसपछि तीन महिना वा मनसुन सकिएपछि मात्र ढोका खोलिन्छ ।’
जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर जुनसुकै बेला पनि सुरुङ बन्द गरिने उनले बताए । ०७८ असार १ र साउन १६ गते भे्रमाथाङबाट आएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्रलगायत संरचना (हेडवक्र्स) तहसनहन बनाइदियो ।
त्यसपछि अस्थायी तवरले पानी पथान्तरण गरिएपनि असार र साउनमा आउने बाढीले अस्थायी संरचनामा पनि क्षति पुर्याउँदै आएको छ । समिति संयोजक कुँवरका अनुसार वर्षामा अस्थायी हेडवक्र्समा पनि क्षति पुग्ने भएकोले वर्षाको जोखिम हुनेबित्तिकै सुरुङ बन्द गर्नुपर्ने हुन्छ ।
सरकार र सम्बन्धित निकाय गैरजिम्मेवार : समिति
मेलम्चीको पानी धारामा केही समय आउने र बन्द हुनेसँगै महँगोमा ट्यांकीको पानी किनेर खानुपर्ने बाध्यता सिर्जना भएपछि सरकारलाई दबाब दिन काठमाडौंबासीले संघर्ष समिति नै गठन गरेका छन् ।
गत मंसिरमा कोटेश्वरका स्थानीयले मेलम्ची खानेपानी संघर्ष समिति गठन गरे । समितिको आन्दोलनपछि माघमा मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । तर, अहिले फेरि उपत्यकाका धारामा पानी नआउने अवस्था बनेको छ ।
समिति संयोजक गोविन्दराज पन्त मेलम्चीको पानी नियमित बनाउन सम्बन्धित निकायको बारम्बार ध्यानाकर्षण गराएपनि कसैले चासो नदेखाएको बताउँछन् । मेलम्चीको पानी रोक्न नदिन समितिले कडा कदम चाल्न लागेको जानकारी दिँदै उनले भने, ‘केही दिनमै हामी सरकारलाई चेतावनी दिन्छौं ।’
पन्तले मेलम्ची खानेपानी विकास समितिले गैरजिम्मेवार र लापरबाही तरिकाले काम गरेको र सरकारले त्यसप्रति ध्यान नदिएको समेत बताए । ‘हामीले पानी ल्याउने मुहानको समेत अवलोकन गरेका हौं । सो क्रममा समितिको काम निकै गैरजिम्मेवारीपूर्ण भेटियो । तर, सम्बन्धित निकायले यसतर्फ अहिलेसम्म ध्यान दिएका छैनन्,’ उनले भने ।
एकै आयोजनाको पटक–पटक उद्घाटन
मेलम्ची खानेपानीको सरकारले नौ पटक उद्घाटन गरिसकेको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीसम्मले आयोजनाको उद्घाटन गरिसकेका छन् । विडम्बना, पटक–पटक एउटै आयोजनाको उद्घाटन गरेर सरकारमा भएकाले उपत्यकाका जनतालाई बाह्रै महिना पानी खुवाउने सपना देखाएपनि पूरा हुन सकेको छैन ।
०७७ असार २१ गते पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङमा पठाइएको थियो । तत्कालीन खानेपानीमन्त्री बिना मगरले त्यसको उद्घाटन गरेकी थिइन् । आठ महिनापछि फागुन १० गते तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मान्धरले मेलम्ची मुहानमै पुगेर दोस्रो पटक पानी पथान्तरण गरे ।
त्यतिबेला पनि काठमाडौंमा पानी पठाउने कार्यक्रमको उद्घाटन भएको थियो । १० दिनपछि पानी काठमाडौं आइपुग्यो । सोही वर्षको फागुन २२ गते सुन्दरीजल आइपुगेको पानी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर बागमती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आएको घोषणा गर्नुभयो ।
एक सातापछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्ची खानेपानीको उद्घाटन गर्नुभयो । तर, सुरुङको मुहान पुरिएपछि उद्घाटनको तीन महिनामै पानी बन्द भयो । अस्थायी बाँध बनाइसकेपछि ०७८ चैत १९ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पानी भर्ने कार्यको पुनः सुरुवात गरे ।
०७९ वैशाख ११ गते बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्यांकीबाट मन्त्री चौधरी आफैंले स्टेरिङ घुमाएर मेलम्ची पानी वितरणको पुनः उद्घाटन गरे । तर, वर्षायामा सुरु भएपछि खोलामा भल बढेसँगै सुरुङको ढोका बन्द गरियो । र, ०७९ मंसिर २३ गते उनै मन्त्री चौधरीले फेरि वितरणको शुभारम्भ गरे । त्यसको छ महिनापछि पुनः ०८० असारमा आयोजनाको सुरुङ बन्द भयो ।
यसपछि गत माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित आफ्नै कार्यालय परिसरको धारा खोलेर मेलम्ची खानेपानीको उद्घाटन गरेका थिए ।
बाह्रैमास खानेपानी आपूर्ति मिलाउने सरकारको घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा बाहैमास खानेपानी आपूर्ति व्यवस्था मिलाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर १३० मा भनिएको छ, ‘मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिनेछ ।’
त्यस्तै, उपत्यकामा खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी निकुञ्जलगायतका जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी संकलन गरी वितरण गर्ने प्रबन्ध मिलाइने पनि सरकारको नीति छ । यद्यपि, सरकारको उक्त नीति कार्यान्वयनमा भरोसा गर्ने गतिलो आधार देखिँदैन ।
टिप्पणीहरू